काठमाडौं । नेपाललाई विभिन्न ७७ वस्तुमा भन्साररहित प्रवेश सुविधा दिने अमेरिकी कानूनको म्याद सन् २०२५ डिसेम्बरमा सकिन लागेको सन्दर्भमा नेपालको निजीक्षेत्रले उक्त कानूनको निरन्तरताको लागि उच्चस्तरीय लबिङ गर्न सरकारसँग आग्रह गरेको छ । निजीक्षेत्रका प्रतिनिधिले उक्त सुविधाबाट विगत ९ वर्षमा खासै फाइदा लिन नसकेको परिप्रेक्ष्यमा थप वस्तुमा भन्साररहित सुविधा उपलब्ध गराउन अमेरिकासमक्ष अनुरोध गर्नुपर्ने बताए ।
२०७२ सालको विनाशकारी भूकम्पलगत्तै संयुक्त राज्य अमेरिकाले नेपालबाट निर्यात हुने विभिन्न ७७ वस्तुमा शून्य भन्सार महशुल लागू गरिदिएको थियो । अमेरिकी संसद्ले कानूनै बनाएर १० वर्षको लागि सो सुविधा उपलब्ध गराएको हो । सन् २०१६ को शुरूबाट लागू भएको उक्त कानूनलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटीपीपी) भनिन्छ । यही भदौ ३१ गते काठमाडौंमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको ७औं बैठक हुन लागेको सन्दर्भमा निजीक्षेत्रले एनटीपीपीको निरन्तरता र नेपालको निर्यात सम्भावना भएका थप वस्तुमा भन्साररहित सुविधाको लागि अमेरिकालाई आग्रह गर्नुपर्ने आवाज उठेको हो । टिफा काउन्सिल दुई सरकारबीचको लगानी तथा व्यापार प्रवर्द्धन गर्ने द्विपक्षीय संयन्त्र हो ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल तयारी पोशाक संघ, निर्यात व्यवसायी महासंघ नेपाल, नेपाल–अमेरिका उद्योग वाणिज्य संघ र अमेरिकी अन्तरराष्ट्रिय सहयोग संस्था युएसएडसँगको सहकार्यमा सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले एनटीपीपीको अवधि सन् २०२५ को डिसेम्बरमा सकिने भएकोले त्यसपछि यो कानूनको भविष्य के हुने भन्ने चिन्ता रहेको बताए । ‘सरकारले यसको निरन्तरताको लागि उच्चस्तीय पहल गर्नुपर्छ,’ ढकालले भने, ‘साथै अमेरिका निर्यातको अत्यधिक सम्भावना भएका वस्तु थप गर्न पनि पहल गर्नुपर्छ ।’
नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले टिफा र एनटीपीपीबीच अनोन्याश्रित सम्बन्ध रहेको भन्दै एनटीपीपी पुन: नवीकरणको पहल गर्न सरकारलाई आग्रह गरे । ‘त्यसमा निर्यात बढ्न सक्ने थप केही वस्तुलाई भन्सार छूट पाउने सूचीमा समावेश गर्न पहल गर्नुपर्छ,’ पाण्डेले भने, ‘एनटीपीपीमा प्राय: जसो ४ देखि ९ प्रतिशतसम्म मात्रै भन्सार दर भएका वस्तु परेका छन् । यसबाट नेपालको तयारी पोशाकमा अमेरिकी व्यवसायी आकर्षित भएको देखिँदैन । त्यसैले फास्ट मुभिङ एन्ड कोर कम्पिटेन्स वर्गमा तयारी पोशाकअन्तर्गत पर्ने १५ वस्तुमा सुविधा दिलाउने पहल गर्न आग्रह गर्छाैं ।’ ती १५ वस्तुमा पुरुष तथा महिलाले लगाउने सुतीको सर्ट, हाफपाइन्ट, पाइन्ट, टिसर्ट र सिन्थेटिकले बनेको हाफपाइन्ट जस्ता वस्तु पर्छन्, जसलाई फास्ट मुभिङ एन्ड कोर कम्पिटेन्स भएको वस्तु भनी तयारी पोशाक संघले परिभाषित गरेको छ ।
हालको ७७ वस्तुमा गलैंचा, पछ्यौरा, गलबन्दी, यात्राका लागि चाहिने झोला र टोपी जस्ता वस्तु छन् । साविकमा १४ देखि ३४ प्रतिशतसम्म भन्सार दर भएका तयारी पोशाकका वस्तु एनटीपीपीमा भन्सार छूट पाउने वर्गमा नपरेको पाण्डेको भनाइ छ । नेपाल भूपरिवेष्ठित राष्ट्र भएको, ठूलो स्केलमा उत्पादन गर्ने क्षमता नभएको र लजिस्टिक गुणस्तरीय नभएकोले यहाँको उत्पादन लागत उच्च हुँदा अमेरिकामा थोरै भन्सार दर भएका वस्तुमा भन्सार छूट पाउँदा नेपालले खासै फाइदा लिन नसकेको निर्यातकर्ताको भनाइ छ ।
- नेपाललाई भन्सार सुविधा दिने अमेरिकी कानूनको अवधि थप्न पहल गर्न निजीक्षेत्रको माग
- शून्य भन्सार सुविधा पाउने सूचीमा १५ वस्तु थप्नुपर्ने तयारी पोशाक संघको सुझाव
पाण्डेका अनुसार अमेरिकामा तयारी पोशाक निर्यात गरेर पहिला नाम कमाएका उद्योगहरू अहिले बन्द छन् । अमेरिकी बजार खुल्ने आशमा रहेका उद्योगलाई पुन: ब्युँताउन सरकारले टिफामा आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)का कार्यकारी निर्देशक पारश खरेलले एनटीपीपीको अवधि लम्ब्याउन र निलम्बनमा रहेको सामान्य ग्राह्यता प्रणाली (जीएसपी) सुविधा ब्युँताउन पहल गर्नुपर्ने बताए ।
उनका अनुसार एनटीपीपी सुविधाअन्तर्गतका वस्तुको निर्यात घट्दो र जीएसपी सुविधा पाएका वस्तुको निर्यात बढ्दो क्रममा रहेको सन्दर्भमा जीएसपी सुविधा ब्युँताउन पहल हुनुपर्छ । हाल अमेरिकामा छुर्पी ठूलो मात्रामा निर्यात भइरहेकोमा त्यसको बजार कायम राख्न र थप यस्तै सम्भावना भएका वस्तु पहिचान गरी निर्यात बढाउन पहल गर्नुपर्ने उनले सुझाए ।
नेपाल–अमेरिका उद्योग वाणिज्य संघका अध्यक्ष किरणप्रकाश साख:ले अमेरिकाका ग्राहकको माग के हो, कस्तो गुणस्तर खोज्छन् भन्ने कुरा नेपाली निर्यातकर्ताले बुझेको र त्यहीअनुसारको गम्भीरताको खाँचो सरकार र निजीक्षेत्रमा हुनुपर्नेमा जोड दिए ।
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकरप्रसाद पाण्डेले भने २०११ मा टिफा सम्झौता हुँदा नेपालको निर्यात घट्न शुुरू भइसकेको धारणा राखे । ‘एनटीटीपीअन्तर्गत ७७ वस्तुका लागि सुविधा पाएका थियौं । नेपालले यसबाट कुनै लाभ लिएन,’ उनले भने, ‘तर, अमेरिकी डलरको भाउ बढ्दा मात्रै निर्यातको रकम बढी देखिएको हो, परिमाण होइन । आउँदो टिफा बैठकमा यो सूचीमा भएका वस्तुको मूल्यांकन, विश्लेषण गरेर हटाउने वा नयाँ वस्तु थप्न सकिने विषय राख्न जरुरी छ ।’