विदेशबाट कच्चापदार्थ आयात गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीले अनावश्यक दु:ख दिने गरेको औषधि व्यवसायीले बताएका छन् । आयातित अतिसंवेदनशील कच्चापदार्थको ‘स्याम्पलिङ’ गर्ने भन्दै विमानस्थलका कर्मचारीले व्यवसायीलाई दु:ख दिने गरेको देउराली–जनता फर्मास्युटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्माले अभियानलाई बताए । ‘कतिपय संवेदनशील कच्चापदार्थलाई औषधि उद्योगले भण्डारणको छुट्टै व्यवस्था गरेर राख्ने गरेका छन्,’ उनले भने, ‘तर, विमानस्थलका कर्मचारीले त्यस्ता औषधिको जथाभावी रूपमा ‘स्याम्पलिङ’ गर्नाले व्यवसायीले लाखौं घाटा बेहोर्नुपरेको छ ।’
यस्ता केमिकललाई विमानस्थलका कर्मचारीले जथाभावी खोलिदिँदा बिग्रने गरेको उनीहरूको भनाइ छ । ‘विदेशबाट औषधि आयात गर्दा व्यवसायीले स्याम्पलका लागि सोही केमिकल छुट्टै पनि आयात गर्ने गरेका छन्,’ एक उद्योगीले नाम नबताउने शर्तमा भने, ‘तर, विमानस्थलका कर्मचारीले स्याम्पल भनेर प्याकिङ सामान नै खोल्ने गरेका छन् ।’ प्याकिङ गरेको सामान खोल्दा सबै कच्चापदार्थ खेर जाने उनको भनाइ छ । लोमश फर्मास्युटिकल्स प्रालिका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार विभागले संवेदनशील कच्चापदार्थ भण्डारणका लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने बताए ।
वर्ष ८, अंक १४१, बिहीवार, २५ माघ, २०६९