काठमाडौं। स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करीब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् ।
उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने विश्वास बैंकको छ । नेपालस्थित स्वीस दूतावासले यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरेको छ ।