काठमाडौं। ज्योति विकास बैंकले महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछी बस्तीका अग्निपीडितलाई सहयोग गरेको छ । बैंकले १२० परिवारलाई राहत स्वरूप मटिहानी नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा डसना, ओछ्यान र झुल प्रदान गरेको हो ।
राहत वितरण कार्यक्रममा बैंकका जनकपुर शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका–६ का अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।
बैंकले देशैभरि रहेका मातहतका कार्यालयमार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
बैंकले नागरिकको हित सदा उच्च प्राथमिकतामा राखेको बताएको छ । संस्थागत शुसासनलाई शिरोपर गरी ग्राहक वर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन बैंक प्रतिबद्ध रहेको बताइएको छ ।