सरकारले पाँचओटा विभागमा ‘क्षतिपूर्तिसहितको नागरिक बडापत्र’ जारी गरेको छ । सेवाग्राहीको बढी भीडभाड हुने विभागमा लागू हुने गरी सो बडापत्र जारी गरिएको हो । त्यस्ता विभागको कामकारबाहीलाई छिटो र चुस्तदुरुस्त बनाउन सुशासन ऐनअन्तर्गत रहेर क्षतिपूर्ति बडापत्र जारी गरिएको नागरिक बडापत्र निर्माण समितिका सदस्य तथा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले बताए ।
‘हामीले पाँचओटा विभागका लागि क्षतिपूर्तिसहितको बडापत्र जारी गरेका छौं,’ उनले भने, ‘बडापत्र कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई ठूलो राहत हुनेछ ।’ हाल अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था कार्यालयमा यस्तो व्यवस्था गरिएको छ । केही समयभित्रै सबै विभागमा बडापत्र लागू हुने भट्टराई बताउँछन् ।
बडापत्रअनुसार कुनै पनि कामलाई तोकिएको समयावधिभित्र सम्पन्न गर्न नसकेमा त्यस्ता कर्मचारीले ढिलाइवापतको क्षतिपूर्ति सेवाग्राहीलाई दिनुपर्नेछ । काम ढिला गरिदिँदा मर्कामा परेका सेवाग्राहीलाई रू. २ सय देखि ५ हजारसम्म क्षतिपूर्ति दिनुपर्नेछ । जुन कर्मचारीले सेवाग्राहीको काम गर्न ढिलाइ गर्छ, सोही कर्मचारीको तलब कट्टा गरी क्षतिपूर्ति दिइनेछ । क्षतिपूर्तिसहितको बडापत्रको व्यवस्थाबाट कर्मचारीले सेवाग्राहीलाई दु:ख दिने क्रम घट्ने बडापत्र निर्माण समितिको विश्वास छ ।
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९