काठमाडौं । एकआपसमा गाभिने (मर्जर) र प्राप्ति (एक्वीजिशन) प्रक्रिया पूरा गरी एकीकृत कारोबारपछि बढीमा १५ कार्यदिन मात्र कारोबार रोक्का राख्ने कानूनी व्यवस्था पछिल्लो समय कार्यान्वयन हुन छाडेको छ । मर्जर तथा प्राप्तिमा जाँदा लामो समय शेयर कारोबार रोक्का हुँदा लगानीकर्तालाई मर्का परेको गुनासो धेरै आएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको थियो । उक्त निर्देशिकामा बोर्डले मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू भएकोदेखि बढीमा १५ कारोबार दिनसम्म मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था गरेको थियो । तर अहिले मर्जर प्रयोजनका लागि रोकिएका चार कम्पनीको शेयर कारोबार महीनौं बित्दासमेत खुल्न सकेको छैन । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार मर्जर प्रयोजनका लागि महीनौंदेखि रोकिएको हो ।
बिपिडब्लु र सामुदायिक लघुवित्तले मर्जर प्रक्रिया पूरा गरी गत फागुन २४ गतेदेखि तथा मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेका थिए । एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ दिनका लागि शेयर कारोबार रोक्का गरिदिन यी कम्पनीले नेप्सेमा पत्र पठाएसँगै नेप्सेले कारोबार रोक्का गरेको थियो । तर कारोबार रोक्का भएको लामो समय बित्दा समेत धितोपत्र बोर्डले कारोबार खुला नगरिदिँदा कम्पनीका लगानीकर्ता कारोबार गर्नबाट वञ्चित भएका छन् । नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बोर्डमा दुई महीनादेखि अध्यक्ष पद रिक्त रहँदा मर्जरबाट बनेका दुई कम्पनीको शेयर कारोबार खुला गर्न नसकिएको बताए । ‘अध्यक्षबाहेक अन्यलाई स्वीकृति दिने अधिकार नभएकाले पनि यी कम्पनीको शेयर कारोबार रोकिएको हो,’ श्रेष्ठले भने ।
बोर्ड पुस २० गतेपछि नेतृत्वविहीन भएको थियो । हालै धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएपछि अर्को व्यवस्था नहुञ्जेल अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य वैशाख १ गतेदेखि बोर्डको अध्यक्ष बनेका छन् । अब शेयर कारोबारको बाटो खुल्ने विश्वास यी मर्जरबाट बनेका कम्पनीका शेयरधनीहरूको छ ।
- नेपाल धितोपत्र बोर्ड लामो समय अध्यक्षविहीन हुनुको परिणाम
- आफूसँग भएको शेयर बेच्न नपाउँदा लगानीकर्ता अन्यायमा
- बेलैमा आवेदन दिए पनि स्वीकृतिमा ढिलाइ भएको कम्पनीहरूको गुनासो
बिपिडब्लु र सामुदायिक लघुवित्त एक भई सामुदायिक लघुवित्त तथा मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त एक भई नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार शुरू गरिएको छ । चार कम्पनीको शेयर कारोबार अब दुई कम्पनीको नामबाट मात्र शुरू हुनेछ । मिर्मिरे र नेरुडे लघुवित्त समान हैसियतमा मर्ज भएका हुन् भने सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त १ बराबर शून्य दशमलव ८५३५ को अनुपातमा मर्ज भएका हुन् ।
मर्जरपछि कायम शेयर सूचीकरणका लागि नेपाल धितोपत्र बोर्डमा महीनाअघि नै दर्ता एवम् स्वीकृतिका लागि पेश गरिएको सम्बन्धित कम्पनीहरूले जानकारी दिएका छन् । नेरुडे मिर्मिरे लघुवित्तका कम्पनी सचिव भोजराज बस्यालले एकीकृत कारोबारपछिको केही दिनभित्रै बोर्डमा मर्जरपछि कायम शेयर सूचीकरणका लागि पेश गरेको भए पनि हालसम्म कारोबारको अनुमति प्राप्त नभएको जानकारी दिए । कम्पनीले तोकिएको अवधिभित्र शेयर सूचीकरणका लागि प्रक्रिया पूरा गरको भए पनि नियामक निकायबाट स्वीकृति नभएकाले शेयर कारोबारमा ढिलाइ भएको बस्यालले बताए ।
सामुदायिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेलले पनि नियामक निकायले स्वीकृति नदिएकाले लामो समय शेयर कारोबार रोक्का रहेको बताए । ‘नियामक निकायले नै निर्धारण गरेको अवधिभित्र कम्पनीले शेयर कारोबार खुला गर्न एकीकृत कारोबार गरेको तीन दिनभित्रै बोर्डमा स्वीकृतिका लागि पेश गरेका थियौं,’ पोखरेलले भने, ‘बोर्ड नेतृत्वविहीन भएकाले पनि फाइल स्वीकृत नभएको हुन सक्छ ।’ मर्जरपछिको एकीकृत शेयर कारोबारमा अहिले मात्र होइन, यसअघि पनि धेरै कम्पनीले ढिलो नै प्रक्रिया पूरा गरेका थिए । यसअघि लक्ष्मी सनराइज बैंक, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, आरएमडीसी लघुवित्त, साना किसान लघुवित्त लगायत कम्पनीको एकीकृत कारोबारपछिको शेयर कारोबार हुन १५ दिनभन्दा बढी लागेको थियो ।