काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । नेप्से परिसूचक १ दशमलव ३० प्रतिशत बढेर २ हजार ६ दशमलव २८ विन्दुमा पुगेको हो ।
परिसूचक आठ कारोबार दिनपछि २ हजार विन्दुमाथि पुगेको हो । नेप्से बढ्दा कारोबार रकममा पनि वृद्धि भएको छ । यसबाट बजारमा लगानीकर्ताको सक्रियता बढेको अनुमान गर्न सकिन्छ ।
सरकारले निजी क्षेत्रको मनोबल उकास्न अध्यादेश ल्याएसँगै शेयर बजारमा सुधार देखिएको जानकार बताउँछन् । अर्थमन्त्री वर्षमान पुनले शेयर लगानीकर्ताका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । यसले बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् ।
त्यसो त कम्पनीको शेयर मूल्य सस्तिएकाले पनि लगानीकर्ता आकर्षित भएको र बजार बढेको विज्ञ बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ५८ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव ४९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ ।
मंगलवार ३२० धितोपत्रको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर ७५ हजार २७१ पटकमा रू. ४ अर्ब ८० करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८६ दशमलव २० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा इन्फिनिटी लघुवित्त छ । कम्पनीको शेयर मूल्य ९ दशमलव १७ प्रतिशत बढेर रू. १ हजार ७१ पुगेको छ ।
यस दिन दोस्रो बजारमा सबैभन्दा बढी पोखरा फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ७ दशमलव १८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६७९ कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा गुराँस लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ६० प्रतिशत घटेर रू.१ हजार ९८० मा झरेको छ ।
मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ओगटेको छ । यस कम्पनीको रू.१८ करोड १९ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९७ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीद विक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू.१७ करोड १ लाख बराबरको भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये वित्त समूहको सूचक १ दशमलव १८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । वित्त समूहको सूचक लगातार केही दिनदेखि वृद्धि हुँदै आएको थियो । उक्त समूहबाट प्रोफिट बुक गरेसँगै सूचक घटेको देखियो ।
यस्तै विकास बैंक समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । त्यसपछि निर्जिवन बीमा समूहको सूचक सर्वाधिक बढेको छ । उक्त समूहको सूचक २ दशमलव ३९ प्रतिशत बढेको छ ।