नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम अडिटले सरकारले तोकेको न्यूनतम ज्याला नदिने कम्पनीको संख्या ६ प्रतिशत विन्दुले बढेर २१ दशमलव ७ प्रतिशत पुगेको देखाएको छ । मुलुकको अर्थतन्त्र संकटमा रहेकाले यो संख्या बढेको देखिन्छ । त्यस्तै ७२ दशमलव ६ प्रतिशत श्रमिक आपूर्तिकर्ता कम्पनीले श्रमिकलाई न्यूनतम पारिश्रमिक र अन्य आधारभूत सुविधा नदिएको पाइएको छ । अहिले श्रमिक र उद्यमीबीचको सम्बन्ध सुमधुर रहेको पाइए पनि आधारभूत सुविधाबाट श्रमिक वञ्चित हुनु समस्या हो । यसमा रोजगारदाता कम्पनीको ध्यान जानुपर्छ । साथै अर्थतन्त्रका कारण समस्यामा परेको कम्पनीहरूलाई सरकारले राहत दिएर भए पनि आधारभूत ज्यादा कटौती गर्न नपर्ने अवस्था बनाउनुपर्छ ।
नेपालमा यसै पनि श्रमिकको ज्याला कम छ । श्रमिकको ज्यालासँग उत्पादकत्वको सम्बन्ध जोडिएर आउँछ । उत्पादकत्व कम भएमा लागत बढ्छ र उद्योगको प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ । नेपालका उत्पादनको प्रतिस्पर्धी क्षमता कमजोर हुँदा मुलुकभित्र आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् भने निर्यातको सम्भावना देखिएको छैन । त्यसैले उत्पादकत्व बढाउनु पहिलो काम हो । उत्पादकत्व बढ्नु भनेको उही लागत र समयमा बढी उत्पादन दिन सक्नु हो । यस्तो उत्पादकत्व बढाउन अन्य कुराका अतिरिक्त कामदारलाई तालीम दिएर दक्ष बनाउनुपर्छ । नेपालमा दक्ष कामदारको अभाव छ । कतिपय अवस्थामा अदक्ष कामदारका रूपमा काम थाल्ने र दक्षता प्राप्त गरेपछि विदेश पलायन हुने प्रवृत्ति पनि देखिएको छ ।
त्यसैले कामदारको उत्पादकत्व र ज्यालादरको सम्बन्धलाई स्थापित गर्नु आवश्यक छ । नेपालमा एकातिर कतिपय उद्योगहरूले कामदार नपाएको अवस्था छ भने अर्कातिर बेरोजगारी समस्या छ । यसो हुनुको एउटा प्रमुख कारण शीप नसिकाउने शिक्षा प्रणाली हो । शिक्षाप्रणालीमा परिवर्तन गरी प्राविधिक शिक्षामा जोड दिन बारम्बार कुरा उठे पनि त्यसतर्फ ज्यादै न्यून काम भएको छ । विद्यालय तहको परीक्षा दिएपछि धेरैजसो विद्यार्थी श्रमबजारमा प्रवेश गर्छन् तर उनीहरूले केही पनि काम जानेका हुँदैनन् । त्यसैले यस्तो समूहलाई सरकारले रोजगारीका विभिन्न तालीम दिनुपर्छ । दक्षता प्राप्त गरेपछि विदेशमा गए पनि उनीहरूको आम्दानी बढी हुन्छ, स्वदेशमा पनि रोजगारी पाउन सक्छन् । यस्तो श्रमशक्तिले पाउने ज्याला पनि बढी नै हुन्छ । त्यसैले ज्याला र उत्पादकत्वको सम्बन्धलाई ध्यानमा राखेर दक्ष जनशक्ति बढाउने हो भने न्यूनतम ज्यालाभन्दा बढी ज्याला कमाउन सक्छन् भन्नेमा ध्यान जानु आवश्यक छ ।