शेयरबजारका केही लगानीकर्ताले लगानी सम्मेलनका बेलामा विरोध प्रदर्शन गरी पूँजी बजारको सुधारका लागि माग राख्ने कार्यक्रम बनाए पनि सरकारको आग्रहमा स्थगित भयो । शेयरबजार निकै तल झर्दा एकातिर लगानीकर्ता आत्तिएका छन् अर्कातिर शेयरबजारमा मूल्य प्रभावित पार्ने गरी चलखेल भइरहेको आशंका भएको छ । यस्तो बेला नियामक निकाय नेपाल धितोपत्र बोर्डको सक्रियता निकै अपेक्षित हुन्छ । उसले शेयरबजारमा हुने गलत क्रियाकलाप रोक्नुपर्छ र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । तर, बोर्डमा प्रमुख नै नियुक्त नहुँदा यसको काम प्रभावित भएको छ ।
अहिले थुप्रै कम्पनीहरू प्राथमिक शेयर निष्कासनका लागि कुरेर बसेका छन् । बोर्डका अध्यक्ष नियुक्त हुन नसक्दा अनुमतिको प्रक्रिया नै अगाडि बढेको छैन । नयाँ शेयरबजारमा थपिँदा त्यसले बजारलाई गति दिन सक्छ । त्यस्तै कमोडिटी एक्सचेन्ज स्थापनाको प्रक्रिया अड्किएर बढेको निकै भइसक्यो । यो नहुँदा लगानीको एउटा ठूलो क्षेत्र गुमिरहेको अवस्था छ । पूँजी बजारको सुधारका लागि लगानीकर्ताले विभिन्न माग राखेका छन् । तिनलाई सम्बोधन गर्न पनि अहिले अध्यक्षको अभावले गर्दा समस्या भएको देखिन्छ ।
पूँजी बजारको सुधारका लागि शेयर विक्रीमा लाग्ने पूँजीगत लाभकर घटाउन लगानीकर्ताले माग गरेको धेरै भइसकेको छ । शेयरबजार निकै तल आउँदा लगानीकर्ताले ठूलो रकम गुमाइसकेका छन् । शेयर विक्री गर्दा नाफा भएमा सरकारले पूँजीगत लाभ कर लिन्छ । तर, अहिले लगानीकर्ताले गुमाएको बेलामा करको दरमा पुनर्विचार गर्न, ब्रोकर कमिशन घटाउन तथा अन्य विभिन्न शुल्क घटाउन माग गरेका छन् । लगानीकर्ताको संख्या निकै बढेको र धेरै काम अनलाइन हुन थालेकाले कमिशन र शुल्क केही कम गर्न सकिन्छ । यसले कारोबारको लागत घटाउँदा बजारलाई चलायमान बनाउनसमेत मद्दत गर्छ ।
पूँजी बजारको सुधारका लागि लगानीका नयाँनयाँ उपकरण ल्याउन आवश्यक छ । इन्ट्रा डे कारोबार, इन्डेक्स ट्रेडिङ, फ्युचर्सलगायत कारोबार शुरू गर्न पनि आवश्यक देखिन्छ । शेयरबजारमा कर्नरिङ भइरहेको आशंका छ । थोरै कित्ता भएका कम्पनीहरूको वित्तीय अवस्था नराम्रो भए पनि मूल्य उचालिएको छ । क्लब हाउस र सामाजिक सञ्जालमा फलानो कम्पनीको मूल्य यति पुग्छ किन भन्दै आग्रह गरेर समेत बजार उचालेको पाइन्छ । यस्तो बेथिति रोक्न आवश्यक छ ।
त्यसो त अर्थमन्त्री वर्षमान पुन स्वयंले पूँजी बजारमा सुधार गर्छु भनेर सार्वजनिक अभिव्यक्ति दिए । मन्त्रीको भनाइ पत्याएर लगानी गर्नेहरू अहिले घाटामा गएका छन् । तर, ब्रोकर कमिशन घटाउने फाइलसमेत अघि बढाएका छैनन् । लगानीकर्ताको मागलाई वास्तासमेत गरेका छैनन् । यो पनि एकप्रकारले शेयरबजारमा भएको चलखेल नै हो । यस्ता गतिविधिमा सुधार नआउने हो भने शेयरबजारमा समस्या बढ्दै जाने देखिन्छ । टाठाबाठाको चलखेलमा परेर साना लगानीकर्ता फस्न सक्छन् ।