कमसल सुनको व्यापार बढ्यो भन्ने कुरा सार्वजनिक भइरहेको विषयमा निश्चय पनि केही सत्यता छ । तर, सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो गरी कमसल सुनको व्यापार बढेको भने होइन । अहिले विवाहको सिजन हो । सिजनका लागि दैनिक ४० केजी सुनको आवश्यकता पर्छ । तर, कमर्शियल बैङ्कबाट दैनिक १५ केजी सुन आयात भइरहेको छ । यसले सुनको मागलाई धान्न सक्दैन । यही कारणले पनि कमसल सुनको व्यवसाय बढेको हुन सक्छ ।
सुनचाँदी व्यवसायीले विसं २०६७ मा जिल्लागत रूपमा गरेको सर्वेक्षणले विवाहको सिजनका लागि दैनिक ४० केजी सुन आवश्यक पर्ने निष्कर्ष निकालेको थियो । यसैलाई आधार मान्ने हो भने पनि अहिले नेपालमा सुनको चरम अभाव छ । यस्तो अवस्थामा सुन व्यवसायीले विभिन्न माध्यमबाट प्राप्त गरेको सुनको भरमा व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था छ । त्यसैले व्यवसायीले केही मात्रामा चाँदी र तामा मिसावट गरी व्यापार गरेका हुन सक्छन् । यसको अर्थ कमसल सुनको व्यापार गर्नु हुन्छ वा पर्छ भन्नेचाहिँ पटक्कै होइन ।
(सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यसँगको कुराकानीबाट)
वर्ष ८, अंक १४१, बिहीवार, २५ माघ, २०६९