पछिल्लो समय बढ्दै गएको वायुप्रदूषणले बालबालिका तथा महिलाका स्वास्थ्यसम्बन्धी विभिन्न जोखिम बढाएको सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनले देखाएको छ । अहिले काठमाडौं विश्वकै सर्वाधिक वायुप्रदूषित भएको शहरमा परेको छ । पोखरासमेत वायुप्रदूषणको चपेटामा परेको छ । यसले मानव स्वास्थ्यमा मात्र नभई अन्य असरसमेत पारेको छ । त्यसैले वायुप्रदूषणको स्तर घटाउन विशेष कार्यक्रम आवश्यक देखिएको छ ।
हावामा हानिकारक ग्यास हुनु र धूलाको कण बढी हुनु नै वायुप्रदूषण हो । यसको मुख्य कारण मानिस नै हो । अहिले काठमाडौं, पोखराजस्ता शहरमा प्रदूषण अत्यधिक हुनुको कारण डढेलो हो । जानेर वा नजानेर डढेलो लागेको देखिन्छ । नेपालमा डढेलो लाग्यो भने निभाउन कुनै प्रविधि छैन । यसको अर्थ वनमा डढेलो लाग्नु भनेको समस्या नै होइन भन्ने सरकारी सोच रहेको छ । यदि डढेलोले ठूलो आर्थिक, वातावरणीय र मानवीय क्षति हुन सक्छ भनेर सोचेको भए सरकारले डेढेलो निभाउन जनशक्ति, प्रविधिलगायतको व्यवस्था गथ्र्यो । अर्को, डढेलो लाग्यो भन्ने थाहा पाए पनि सरकारले त्यसलाई नियन्त्रणमा लिन कुनै ठोस निर्णय गरेको देखिँदैन ।
हावामा धूलोको मसिना कण पीएम २ दशमलव ५ भन्दा मसिना भए मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । त्यस्तै वायु गुणस्तर सूचकांक ५० सम्मलाई सामान्य मानिन्छ । त्योभन्दा माथि गए समस्या हुन्छ । १५० भन्दा माथि गए मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ । काठमाडौं र पोखराको वायुको गुणस्तर १५० भन्दा माथि रहेको छ । भारतको दिल्ली र नेपालको काठमाडौं तारन्तर खराबको तहमा सबैभन्दा माथि देखिँदै आएका छन् । विश्वका सर्वाधिक प्रदूषित शहरमा दक्षिणी एसियाली मुलुकका शहरहरू नै परेका छन् जुन चिन्ताको विषय हो । अहिलेको प्रदूषणको मुख्य कारक डढेलोलाई मानिएको छ । अहिले नेपालका धेरै ठाउँमा डढेलो लागिरहेको छ र त्यो आफै निभोस् भनी बेवास्ता गरेको देखिन्छ । नेपालमा मात्र होइन, भारत, पाकिस्तान आदि मकैको डोड, गहुँको छ्वाली आदि डढाउने गरिएको छ । भारत र पाकिस्तानसम्मको प्रदूषित वायु काठमाडौं भित्रिने गरेको छ ।
काठमाडौंको वायुप्रदूषण कम गर्न सरकारले अध्ययन गरी विभिन्न सुझावसमेत दिएको पाइन्छ । तर, ती सुझावको कार्यान्वयन गर्न संघीय र स्थानीय दुवै सरकारले सही ढंगले काम गरेको देखिन्छ । काठमाडौंको बनोट कचौराको आकार भएकाले यहाँको प्रदूषित हावा बाहिर जान निकै गाह्रो हुन्छ । यहाँको प्रदूषण अन्तबाट आएको मात्रै होइन, यहाँको जीवनशैली आदिले पनि बढाएको छ । पहिला चीनको पेचिङ विश्वकै सर्वाधिक प्रदूषित शहरमा पथ्र्यो तर अहिले प्रदूषण स्तरमा सुधार आएको छ । यसले पेचिङमा रहेका उद्योगहरूलाई करीब करीब सबै सारिसकेको छ । त्यही भएर प्रदूषण भए पनि विश्वको पहिलो, दोस्रो आदि स्थानमा आउन सकेको छैन । प्रदूषणले मानव स्वास्थ्यबाहेक जलवायु तथा वायुमण्डलीय प्रक्रिया, कृषिको उत्पादकत्व, नागरिक उड्डयन क्षेत्र आदिमा प्रत्यक्ष प्रभाव पर्छ । यूरोपेली इन्भायरोमेन्ट एजेन्सीका अनुसार वायुप्रदूषणले गर्दा ब्रोन्काइटिस, दम, फोक्सोको क्यान्सर, साइस्टिक फाइब्रोसिस, निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोग हुनुका साथ मुटुको रोग, स्ट्रोक, मस्तिष्कघात, आँखा, नाक, कान, घाँटी र छालाको जलन, हाइपर टेन्सनका बिरामीको संख्या बढ्दै गएको छ । घरभित्र हुने वायुप्रदूषणले खास गरी गर्भवती तथा सुत्केरी महिला, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिका अत्यधिक प्रभावित हुन्छन् ।
वायुमण्डलमा प्रदूषक तत्त्वहरूले सूर्यको प्रकाशलाई छेक्ने र बोटबिरुवा, वनस्पतिका पातमा समेत धूलोको तहले छोपिने हुँदा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुन गई उत्पादकत्वमा कमी आउँछ । उच्च वायुप्रदूषणकै कारण हिउँदयाममा उत्सर्जित बाक्लो खैरो बादल उत्तर भारत र नेपाल भएर बङ्गालको खाडीतर्फ उड्दै जाँदा सूर्यको किरणलाई छेकिदिएर शीतलहर आउने र तराई क्षेत्रको हिउँदे बालीनालीमा ठूलो नोक्सानी हुने गरेको वातावरणविद्को भनाइ छ ।
वायुप्रदूषणको आर्थिक लागत पनि महँगो छ । काठमाडौंमा अहिलेको प्रदूषणले गर्दा आँखा पोल्ने, घाँटी दुख्ने आदि समस्या देखिइरहेको छ । दीर्घकालमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने देखिन्छ । अहिले वायुप्रदूषणकै कारण श्वासप्रश्वासम्बन्धी रोग लगेर वार्षिक काठमाडौंमा ५ हजारभन्दा बढीको ज्यान जाने गरेको वातावरणविद्हरूको भनाइ छ । रोगको निदान र उपचार खर्चमात्रै अर्बौं लाग्ने देखिन्छ ।
काठमाडौं उपत्यकाको वायुप्रदूषण व्यवस्थापनका लागि तयार गरिएको ‘काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ २०७६ सालमा आयो । यो कार्ययोजना वायुप्रदूषण व्यवस्थापनमा केन्द्रित छ । तर, यसको कार्यान्वयन हुन सकेको छैन । वायुप्रदूषण न्यूनीकरणका लागि हरित उत्थानशील विकासको अवधारणा अवलम्बन, वायुप्रदूषणजन्य विपत् जोखिम पूर्वानुमान राष्ट्रिय क्षमता विकास गरी पूर्वसुसूचित गर्ने संयन्त्र विकास गर्नुपर्ने देखिन्छ । त्यसै गरी वन डढेलो व्यवस्थापन रणनीति, २०६७ परिमार्जन गरी वायुप्रदूषणजन्य विपत्लाई त्यसमा समावेश गर्नुपर्ने देखिन्छ । वायुप्रदूषणजन्य विपत् व्यवस्थापनका लागि तीनै तहका सरकारलाई आवश्यक पूर्वतयारीका लागि जिम्मेवार बनाउन आवश्यक छ । विकास र विनाश सँगसँगै हिँड्न सक्ने भएकाले नेपालले आफ्ना विकास र निर्माणका क्रियाकलाप अघि बढाउँदा वातारण प्रदूषण कम हुने पक्षमा पनि ध्यान दिनु आवश्यक छ । त्यस्तै उपत्यकाका नगरपालिकाहरूले हरितीकरणको व्यापक अभियान चलाउन आवश्यक छ । त्यसैगरी धूलो आउने स्रोत पत्ता लगाई त्यसलाई रोक्नुपर्छ ।