काठमाडौं । यो साता नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ९६५ दशमलव ९३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन १ हजार ९९८ दशमलव ९६ विन्दुमा बन्द भएको हो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३३ दशमलव शून्य ३ विन्दुले माथि उक्लिएको हो ।
यो साता चार कारोबार दिनमा दुई दिन बजार बढेको छ भने एक दिन स्थिर रहेको छ । साताको अन्तिम कारोबार दिन भने बजार घटेको हो । पहिलो कारोबार दिन १४ दशमलव ३३ अंक बढेको बजार दोस्रो कारोबार दिन शून्य दशमलव शून्य ७ विन्दुले बढेर स्थिर अवस्थामा बन्द भएको थियो । तेस्रो दिन २५ दशमलव ९३ अंक बढेको बजार चौथो अर्थात् अन्तिम कारोबार दिन ७ दशमलव ३१ अंकले घटेर बन्द भएको हो ।
पछिल्लो समय लगानीकर्ताको मनोबल केही उच्च हुनुको पछाडि सरकारले ब्रोकर कमिसन घटाउन दिएको निर्देशनलाई लिइएको छ । कारोबार लागत घट्ने गरी ब्रोकर कमिसन १० प्रतिशत घटाएर लागू हुनेमा लगानीकर्ता विश्वस्त रहेको देखिन्छ । यद्यपि नेपाल धितोपत्र बोर्डले भने यस विषयमा कुनै कामकारबाही अघि बढाएको छैन । सरकारले अघिल्लो साता नै बोर्डलाई ब्रोकर कमिसन घटाउन गरिएको प्रस्ताव कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
यो साता बजार सकारात्मक हुँदा कारोबार रकम र कित्तासमेत बढेको छ । गत साता ९ अर्ब २२ करोड १६ लाख रुपैयाँभन्दा बढीको २ करोड ५६ लाख ४६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ३ करोड ५५ लाख ५५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताको तुलनामा यो सात कारोबार रकम ५ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीले र कारोबार कित्ता ९९ लाख ९ हजारभन्दा बढीले वृद्धि भएको छ । औसतमा यो साता ३ अर्ब ६४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको ८८ लाख ८८ हजार कित्ता धितोपत्र कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
गत साता औसतमा २ अर्ब ३० करोड ५४ लाख रुपैयाँभन्दा बढीको ६४ लाख ११ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । यो साता औसत कारोबार रकम १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता २४ लाख ७७ हजारभन्दा बढी भएको हो ।
लगानीकर्ताको सम्पत्ति मूल्य यो साता ५२ अर्ब ३८ करोड रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब २२ करोड ६२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६९ अर्ब ६० करोड ७१ लाख रुपैयाँ कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
अन्य समूहबाहेक सबै समूहगत परिसूचक बढ्यो, विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाए
यो साताको कारोबारमा अन्य समूहको मात्र परिसूचक घटेको छ । गत साताको तुलनामा यो साता अन्य समूहको परिसूचक शून्य दशमलव ४४ प्रतिशत घटेको हो । यो साता विकास बैंक, वित्त र लघुवित्त समूहको परिसूचकमा उच्च वृद्धि देखिएको छ । विकास बैंकको परिसूचक सर्वाधिक ६ दशमलव ८१ प्रतिशत बढेको छ । परिसूचकमा देखिएको वृद्धिलाई हेर्दा विकास बैंकका लगानीकर्ताले यो साता सर्वाधिक कमाएका छन् ।
त्यस्तै वित्त समूहको ६ दशमलव ५५ प्रतिशत, लघुवित्तको ६ दशमलव ३८ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९४ प्रतिशत, लगानीको १ दशमलव ३७ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य २ प्रतिशत, बैंकिङको शून्य दशमलव ८२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५० प्रतिशत, जलविद्युतको शून्य दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३३ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।