काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ११ कम्पनीले दशैंअघि साधारणसभा आयोजना गर्ने भएका छन् ।
बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, माण्डु हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, नेपाल ल्युब आयल, अप्पर स्याङ्गे, भगवती हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ओरियण्टल होटल्स र एभरेष्ट बैंकले दशैंअघि साधारण सभा आयोजना गर्न लागेका हुन् । यीमध्ये ६ कम्पनीले मात्रै गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेका छन् ।
कुनले कति दिँदैछन् लाभांश ?
माण्डु हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको नयाँ बजारस्थित नेपा ब्याक्वेटमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ ३१ गते बुक क्लोज गरेको छ । यस आधारमा आज (भदौ ३० गते)सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
त्यस्तै नेपाल ल्युब आयल लिमिटेडले असोज १८ गते साधारण सभा बोलाएको छ । कम्पनीले ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजे सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ देखि १८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज २ गतेसम्म कायम शेयरधनीले साधारण सभा सहभागिता जनाउन र लाभांश पाउनयोग्य हुनेछन् ।
त्यसैगरी, भगवती हाइड्रोपावरले असोज १६ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको थापागाउँस्थित अर्पण ब्याक्वेटमा बिहान ११ बजे शुरु गर्ने जानकारी कम्पनीले दिएको छ । सभाले ४ प्रतिशत बोनस शेयर र करसहित १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्दैछ ।
दशैंअघि साधारण सभा गर्ने कम्पनीमध्ये सिईडिबी हाइड्रोपावरले असोज २१ गते सभा बोलाएको छ । सभा काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याक्वेटमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले ११ प्रतिशत बोनस शेयर (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
ओरियण्टल होटल्स र एभरेष्ट बैंकले भने असोज २० मा साधारण सभा बोलाएका छन् । ओरियण्टल होटल्सको साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने भएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । असोज ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
एभरेष्ट बैंकले आम्रपाली ब्याक्वेट, भाटभटेनीमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
यस वर्षको फूलपाती असोज २४ गते परेको छ भने विजयादशमी असोज २६ गते परेको छ ।
कम्पनीहरूको साधारण सभा मिति, प्रस्ताव र बुक क्लोज मिति
कम्पनीको नाम | साधारण सभा मिति | प्रस्ताव | बुक क्लोज मिति |
बरुण हाइड्रोपावर | असोज १३ गते | गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र हकप्रद शेयर निष्कासन गर्ने | असोज २ गते |
ङादी ग्रुप पावर | असोज १३ गते | गत आर्थिक वर्षको वार्षिक प्रतिेवेदन छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र हकप्रद शेयर निष्कासन गर्ने | भदौ ३१ गते |
माण्डु हाइड्रोपावर | असोज १४ गते | १२ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्ने | भदौ ३१ गते |
बाराही हाइड्रोपावर | असोज १८ गते | हकप्रद शेयर जारी गर्ने र गत आवको वार्षिक प्रतिेवदन छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने | असोज १० गते |
मोलुङ्ग हाइड्रोपावर | असोज १८ गते | आव २०७९/८० र २०८०/८१ को वािर्षक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने | असोज २ गते |
नेपाल ल्युब आयल | असोज १८ गते | २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र एफपीओ निष्कासन गर्ने | असोज ४ देखि १८ गतेसम्म |
अप्पर स्याङुगे | असोज १८ गते | गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने | असोज ४ गते |
भगवती हाइड्रोपावर | असोज १६ गते | ४ प्रतिशत बोनस शेयर र १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने | असोज २ गते |
सिईडिबि हाइड्रोपावर | असोज २१ गते | ११ प्रतिशत बोनस शेयर (करबाहेक) र बोनस शेयरपछि कायम पूँजीको ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर जारी गर्ने | असोज ७ गते |
ओरियण्टल होटल्स | असोज २० गते | ५ प्रतिशत बोनस शेयर र शूून्य दशमलव २६३१६ प्रतिश नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने | असोज ६ देखि २० गतेसम्म |
एभरेष्ट बैंक | असोज २० गते | १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने | असोज ८ गते |