काठमाडौं । मनाङ मर्स्याङदी जलविद्युत कम्पनी प्रालि (कम्पनी)द्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ ।
आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण कार्य शुरु भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले जनाएको छ ।
उक्त आयोजना निर्माणका लागि गत अक्टोबर २२ मा चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता सम्पन्न भएको बुटवल पावर कम्पनी लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सो कर्जा सम्झौताअनुसार एक्जीम बैंकले १ अर्ब २४ करोड २५ लाख चाइनिज युआन अर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य श्रोतबाट जुटाइएको छ ।
यस आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।
यस कम्पनीमा नेपालको बुटवल पावर कम्पनी लिमिटेडसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेष्टमेन्ट कम्पनी प्रा। लि।को लगानी छ ।
यस आयोजनामा ऋण तथा स्वपूँजी लगानीको अनुपात ८०:२० रहने छ । यस कम्पनीको स्वपूँजीमा २०५ बुटवल पावर कम्पनीको लगानी र ८०५ चिनियाँ लगानीको हिस्सा रहनेछ ।
साथै, यस कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दाहरूलाई प्रचलित कानूनको अधिनमा रही शेयर उपलब्ध गराउने योजनासमेत बनाएको छ ।
हाल आयोजनाको निर्माणकार्य ईपीसी ठेक्काअर्न्तगत चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले गरिरहेको छ । साथै यस आयोजनाको निर्माण सुपरीवेक्षण चीनको नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य निर्धारित कार्ययोजना अनुरूप तोकिएको ४२ महीनाभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढाइएको छ ।
यो आयोजना अर्धजलाशययुक्त आयोजना हो । यसको आयोजना स्थल मनाङ जिल्लाको चामे र नासो गाउँपालिकामा पर्छ । यसको ग्रस हेड ४३० मिटर रहने छ ।
यस आयोजनाको बाँध चामे गाउँपालिका वडा नं. ३ कोतोमा तथा विद्युत गृह नासो गाउँपालिका वडा नं. ९ मा बनाइने छ । यस आयोजनामा ६ किमि लामो हेडरेस सुरूङमार्फत मर्स्याङदी नदीको पानी विद्युत् गृहमा पठाइने छ ।
मनाङ र लमजुङ्ग जिल्लामा अवस्थित अन्य दुई आयोजनाहरूमा १३९.२ मेगावाट क्षमताको लोअर मनाङ मर्स्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाट क्षमताको अप्पर मर्स्याङदी-२ जलविद्युत आयोजना छन् ।
यी तीनओटै आयोजनाहरूको कुल जडित क्षमता ६०१.२ मेगावाट र कुल लागत १ अर्ब २० करोड अमेरिकी डलर रहने छ । प्रत्येक आयोजनाहरू छुट्टाछुट्टै कम्पनीमार्फत निर्माण गरिनेछ ।