काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ९१ जलविद्युत् कम्पनीहरूमध्ये आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट हालसम्ममा १४ कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
१४ कम्पनीमध्ये १० कम्पनीको लाभांश साधारणसभाबाट पारित गरिसकेका छन् । अरुण भ्याली, सगरमाथा जलविद्युत्, सुपर मादी, अपि पावर, मन्दाकिनी हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर, रू रू जलविद्युत् परियोजना, भगवति हाइड्रोपावर, माण्डु हाइड्रोपावर र साहस उर्जाले साधारणसभाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका हुन् ।
युनाइटेड इदी मर्दीले गत आवको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) र कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेका छन् । यी दुई कम्पनीले भने साधारणसभाको मिति तय गरेका छैनन् ।
माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस २८ गते साधारणसभा बोलाएको छ । त्यस्तै, सुपरमाई हाइड्रोपावरले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ५ दशमलव ६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले मङ्सिर २८ गते साधारणसभा बोलाएको छ ।