काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्ष रोपण गर्ने घोषणा गरेको छ । बैंक पुस १८ गते स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।
बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघसंस्थासँगको सहकार्यमा
१८ हजार वृक्ष रोपण गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको थालनी गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्ष रोप्ने कार्यक्रम चालू आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवा रोपण गरिने जानकारी दिए ।
‘रुखविरुवा प्रकृति संरक्षणको महत्त्वपूर्ण पाटो हो । वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाइराख्न, पहिरो रोक्न, पानीको स्रोत जोगाउन सहयोग पुर्याउँछ,’ उनले भने ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीको उपस्थिति थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ । साथै, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा सम्मानित
भएको छ ।
मुलुकका ७७ ओटै जिल्लामा यस बैंकका शाखा रहेका छन् । बैंकले ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ इकाई, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवाकेन्द्रबाट बैंकिङ सेवासुविधा दिँदै आएको छ । बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशहरूबाट रेमिट्यान्स भित्त्याउने काम गर्दै आएको छ ।