गैरआवासीय नेपाली (एनआरएन) संघले ४२ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । हाल सो परियोजनाको लगानी छलफलको अन्तिम चरणमा रहेको र निकट भविष्यमै त्यसको विवरण सार्वजनिक गरिने एनआरएन बेलायतका अध्यक्ष कुल आचार्यले जानकारी दिए । सोमवार राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थसंवादमा बोल्दै आचार्यले सो जानकारी दिएका हुन् ।
मुलुकले चरम लोडशेडिङ भोग्दै आइरहेका बेला जलविद्युत्को विकासमा एनआरएनको पनि उत्तिकै चासो रहेको उनले बताए । परियोजना छनोटका लागि आफूहरूले नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गरिरहेको आचार्यको भनाइ थियो । त्यसैगरी गतवर्ष काठमाडौंमा सम्पन्न एनआरएनहरूको विश्व सम्मेलनले स्थापना गर्ने घोषणा गरेको एनआरएन इन्भेष्टमेण्ट कम्पनीमा हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको उनले जानकारी दिए ।
वर्ष ८, अंक १४६, मङ्गलवार, १ फागुन, २०६९