काठमाडौं । धितोपत्रको दोस्रो बजारमा ऋणपत्र (डिबेन्चर) को कारोबार चालू आर्थिक वर्ष व्यापक रूपमा बढेको छ । ऋणपत्रको संख्या र कारोबार रकममा व्यापक वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले देखाएको हो ।
नेप्सेका अनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महीना (साउन–मङ्सिर) मा कुल २ लाख ४० हजार कित्ता ऋणपत्र कारोबार भएकोमा चालू आव २०८१/८२ को सोही अवधिमा १३ लाख ३२ हजार कित्ताको कारोबार भएको हो ।
कारोबार रकम पनि गत आवको उक्त अवधिमा २३ करोड ४७ लाख रुपैयाँ रहेकोमा बढेर चालू आवको सोही अवधिमा १ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा माथि पुगेको छ ।
ऋणपत्रको कारोबार कहिलेकाँही मात्र हुने गरेकोमा पछिल्लो समय दैनिक १५ भन्दा बढी कम्पनीको ऋणपत्र कारोबारमा आउने गरेको नेप्सेले बताएको छ ।
धितोपत्रविज्ञ तथा अधिवक्ता ज्योति दाहालका अनुसार मुद्दती निक्षेपमा ब्याजदर निकै घटेको कारण ऋणपत्रमा आकर्षण देखिएको हो ।
‘अहिले मुद्दती निक्षेपको ब्याजदर ५ प्र्रतिशत हाराहारीमा छ जब कि ऋणपत्रको ब्याजदर ८ प्रतिशतभन्दा माथि छ,’ उनले भने, ‘त्यसैले लगानीकर्ताले ऋणपत्रमा लगानी गरिरहेका छन् । सोही कारण ऋणपत्रको कारोबार बढेको हो ।’
धेरैजसो ऋणपत्र खरीद गर्दा अर्धवार्षिक रूपमा ब्याजदर प्राप्त हुने गर्छ । अहिले पुस मसान्त नजिकिँदै छ जुन चालू आवको मध्यमा पर्छ । ‘अहिले ऋणपत्र खरीद गर्ने लगानीकर्ताले छिट्टै ब्याज पाउँने हुँदा पछिल्लो समय ऋणपत्रको कारोबार बढेको हो,’ दाहालले भने ।
स्टक ब्रोकर कम्पनी– नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले ऋणपत्रबाट निश्चित प्रतिफल पक्का हुने भएकाले यसमा आकर्षण बढेको बताए । ‘अहिले धेरै सूचीकृत कम्पनीको वित्तीय अवस्था त्यति राम्रो नभएको कारण निश्चित प्रतिफल सुनिश्चित भएको उपकरण— ऋणपत्रमा लगानी गर्नेहरू बढेका हुन्,’ उनले भने ।
पौड्यालका अनुसार अहिले धेरै बैंकहरूले जारी गरेको ऋणपत्रको कारोबार भएको छ । ‘पुस मसान्तभित्र ऋणपत्र खरीद गर्नेले यो त्रैमासको ब्याज पाउने हुँदा ऋणपत्रको कारोबार बढेको हो,’ पौड्यालले भने । गत साताको अन्तिम कारोबार दिन बिहीवार नेप्सेमा २६ ओटा ऋणपत्रको कारोबार भएको थियो ।
- गतवर्ष पहिलो ५ महीनामा २ लाख ४० हजार कित्ता र यस वर्ष सोही अवधिमा १३ लाख ३२ हजार कित्ता ऋणपत्र कारोबार
- कारोबार रकम गतवर्ष ५ महीनामा २३ करोड ४७ लाख रुपैयाँ र यो वर्ष सोही अवधिमा १ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी
- मुद्दती निक्षेपमा ब्याजदर निकै घटेको कारण तुलनात्मक उच्च ब्याजदर रहेको ऋणपत्रमा आकर्षण देखिएको विज्ञहरूको भनाइ
- पुस मसान्तमा ब्याज प्राप्त हुने भएकाले पनि ऋणपत्रमा आकर्षण
के हो डिबेन्चर ?
निश्चित समय अवधिका लागि निश्चित प्रतिशत प्रतिफल दिन्छु भनेर सरकार वा कम्पनीले जारी गर्ने कर्जा उपकरण ऋणपत्र हो । ऋणपत्र निष्कासन गर्ने कम्पनीहरूले अर्धवार्षिक र वार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गर्छन्, जसले गर्दा डिबेन्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि वार्षिक रूपमा दिने भनिएको ब्याज भने निश्चित हुने गर्छ । ऋणपत्रधनीले कम जोखिममा वार्षिक रूपमा निश्चित प्रतिशत ब्याजदर प्राप्त गर्ने गर्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरूमा भइरहने ब्याजदर परिवर्तनको जोखिम ऋणपत्रका लागानीकर्तालाई हुँदैन । कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरधनीलाई लाभांश वितरण गर्नुअघि ऋणपत्रधनीलाई ब्याज दिनुपर्छ । कम्पनी नोक्सानीमा गए पनि र शेयरधनीलाई लाभांश नबाँडे पनि ऋणपत्रधनीलाई अनिवार्य रूपमा ब्याज भुक्तानी गर्नुपर्छ । तोकिएको समयमा साँवाब्याज भुक्तानी गर्ने शर्तमा निष्कासन गरिएको ऋणपत्रलाई रिडिमेबल डिबेन्चर भनिन्छ । त्यसैगरी कतिपय ऋणपत्र शेयरका रूपमा परिणत हुने खालका हुन्छन् । यस्तो ऋणपत्र नेप्सेमा कारोबारमा आउने गर्छ ।