काठमाडौं । बिहीवार (आज) ६ कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । युनाइटेड मोदी हाइड्रोपावर, सानिमा जिआईसी इन्स्योरेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तले वार्षिक साधारण सभा आह्वान गरेका हुन् ।
युनाइटेड मोदी हाइड्रोपावरले कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे, सानिमा जिआईसी इन्स्योरेन्सले अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे, समता घरेलु लघुवित्तले नमोबुद्ध ब्याङक्वेट एण्ड इभेन्ट, बनेपामा बिहान ११ः३० बजे, मैलुङ खोला जलविद्युतले लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे, हिमाल दोलखा हाइड्रोले सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे र मनकामना स्मार्ट लघुवित्तले होटल पौवा, सिद्धार्थनगर, रूपन्देहीमा दिउँसो १ बजे सभा बोलाएका हुन् । ६ कम्पनीमध्ये समता घरेलु लघुवित्त र मैलुङ खोला जलविद्युतले मात्र लाभांश प्रस्ताव गरेका छन् ।
समता घरेलु लघुवित्तले ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै मैलुङ खोला जलविद्युतले २ दशमलव २२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समता घरेलु लघुवित्तले लाभांश प्रस्तावसँगै एफपीओ जारी गर्ने, मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
युनाईटेड मोदी हाइड्रोपावरले भने शतप्रतिशत हकप्रद शेयर निष्कासन र सञ्चालक निर्वाचनका लागि सभा आह्वान गरेको हो । त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्सले पनि २५ प्रतिशत हकप्रद शेयर र सञ्चालक निर्वाचनको प्रस्तावसहित साधारण सभा बोलाएको हो । यीबाहेक मनकामना स्मार्ट लघुवित्तले समता घरेलु लघुवित्तले प्राप्ति गर्ने सम्बन्धमा भएको निर्णयलाई अनुमोदन गर्नेछ ।