भारतले १९९१ देखि कम्प्युटर इन्जिनीयरिङ, तत्सम्बन्धी पढाइ र सफ्टवेयर एडप्ट गरेको रहेछ र त्यसको काम पनि सन् १९९१ देखि थालिसकेको रहेछ । हाम्रोमा राजनीतिक परिवर्तनपछि काम गर्ने जमाना शुरू भयो भन्ने भन्दा पनि अलिक सत्ताको रापझाप जस्तो कुरा र सत्ता भनेको स्वादको विषय भन्ने खालको परिस्थिति बढी भयो । त्यसले गर्दा हामीले वाञ्छित सफलता प्राप्त गर्न सकेनौं । तैपनि त्यस बेलादेखि यस क्षेत्रमा काम गर्नुपर्छ है भन्ने सोच बनायौं ।
सत्ताका लागि तानातान गर्दागर्दै पनि हामीले डिजिटल नेपालको अवधारणा ल्यायौं । डिजिटल नेपालको कार्यान्वयनका लागि फ्रेमवर्क पनि बनायौं । यी सबै कुराका दुई तीनओटा पाटा थिए । यसका लागि हरेकसँग पुग्ने पहुँच र क्षमता बढाउनुपर्छ । यो व्यवसायका लागि आवश्यक छ । यो विकासका लागि हो । यो सबैका लागि हो । ‘आईटी फर अल, आईटी फर बिजनेश, आईटी फर एजुकेशन, आईटी फर इन्फर्मेशन’ भन्ने कुरा हामीले बुझेका छौं । अर्थात् आईटी सबैका लागि, आईटी व्यवसायका लागि, आईटी शिक्षाका लागि र आईटी सूचनाका लागि हो । अहिलेको एआईको जमानामा एआई अथवा आईटी भनेको सबैथोक हो । यस्तो भइसक्यो । अब आईटीविना त केही पनि हुँदै हुँदैन । कसैले मोबाइल घरमा छोडेर आएको छैन होला, मोबाइल साथमै हुन्छ । यस्तो भइसक्यो अरू चिज छुटेर केही हुँदैन, मोबाइल छुट्नुभएन । मोबाइल छुट्यो भने सूचना र जानकारी छुटिहाल्छ । त्यसकारण यस्तो अद्यावधिक भइरहनुपर्ने अवस्था दुनियाँको बनेको छ कि एकछिन छुट्यो भने केके भइसकेको हुन्छ, थाहा पाइएन, बर्बाद भइसकेको जस्तो हुन्छ, मैले त त्यो थाहा पाइन भनेर । त्यो अरूको मुखबाट ढिला थाहा पाइयो जस्तो हुन्छ । प्रत्यक्षदर्शी कोही हुँदैन, दोस्रो स्रोतबाट नै हो थाहा पाउने ।
मान्छे भोकै छ भने केको आधुनिकीकरण हुन्छ ? अनि छोराछोरी कसरी पढाउँछ ? कसरी निकाल्छ आईटी इन्जिनीयर ? कमसे कम आईटीको प्रयोग गर्न सक्ने त हुनु पर्यो नि ।
यस सन्दर्भमा हामीले नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आईटीको दक्ष र सक्षम जनशक्ति हो । त्यसो भएर हामीले यी कुरालाई एकदम तीव्रताका साथ अगाडि बढाउनु छ । हाम्रा युवालाई दक्ष बनाउनु छ, सक्षम बनाउनु छ । युवाहरूमा रहेको, यहाँ केही गर्न सकिँदैन भन्ने चिन्ता जाहेर गर्नु र त्यसमा अलिकति आशा जागेको कुरा गर्नु ठीक हो । मैले अघिल्लोपटक प्रधानमन्त्री हुँदा पनि मुख्य कुरा आशा जगाउने काम, विकास हुनसक्छ, हाम्रै पालामा विकास हुनसक्छ, हामी गर्न सक्छौं भनेर बताउने गरेको थिएँ ।
मैले हाम्रा पूर्वजका कहानी सुनाउने गरें, हाम्रा पूर्वज यस्ता महान् थिए, यस्ता नवप्रवर्तक थिए, यस्ता अनुसन्धाता थिए भनेर । ज्ञान यहाँ शुरू भयो र विस्तार भयो । गणित यहाँ शुरू भयो र विस्तार भयो । खगोलशास्त्र यहाँ शुरू भयो र विस्तार भयो । ज्ञान भनेकै यहाँ शुरू भयो र विस्तार भयो । दुई चार शताब्दी हामी अलिकति पछाडि पर्यौं । अब समय फेरिएको छ । अब पालो एशियाको हो । अब पालो हाम्रो हो । अब पालो नेपालको हो । नेपालले गर्न नसक्ने भन्ने छैन । त्यसकारण अब नेपालले गर्न सक्छ र उपयुक्त समय आएको छ । यो समयलाई, यो समयले हामीलाई उपलब्ध गराएको अवसरलाई हामीले उपयोग गर्न सक्नुपर्छ, त्यसलाई प्रयोग गर्न सक्नुपर्छ र अगाडि बढ्न सक्नुपर्छ । अब हामीले नेपाललाई दक्षिण एशियाको आईटी हब बनाउन सक्नुपर्छ ।
हाम्रो उत्पादन हामीले बेच्न सक्नुपर्छ । हाम्रो उत्पादन हामीले जनताका घरघरमा पुर्याउन सक्नुपर्छ, उनीहरूको जीवनस्तर बढाउन त्यसलाई प्रयोग गर्नुपर्छ, उनीहरूको आयस्तर बढाउनका प्रयोग गर्नुपर्छ । उनीहरूलाई रोजगारीका अवसर बढाउनुपर्छ । सबै आईटी इन्जिनीयर हुनसक्छन् भन्ने कुरा होइन । यहाँहरूको उत्पादनका लागि सरकार पनि एउटा आफै बजार हो । सरकार आफैले पनि उत्पादन गर्छ । अहिलेसम्मको स्थिति के छ भने, हामीले सफ्टवेयरको युग झन्डैझन्डै गुमायौं नै । भारतले जुन कुराको ठूलो फाइदा लियो, हामी देख्दादेख्दै पछाडि पर्यौं । कृषिमा पनि भारतले सन् १९६५ देखि ६८ मा हरित क्रान्ति भनेर परिवर्र्तन ल्यायो । उसले १९९८ मा ल्याइसकेको चिज हामी अहिले बल्ल २०२५ मा चर्चा गर्दै छौैं अथवा ल्याउँदै छौं । अर्थात् ३० वर्ष हामी यसै पछाडि परेका छौं । यो त ३० भन्दा पनि ६० वर्ष भइसक्यो । हरित क्रान्ति हामीले ६० वर्ष अगाडि गर्नुपर्दथ्यो तर ७० वर्ष अगाडि राणा शासनबाट भर्खर उम्किएका थियौं । पिँजडाबाट बाहिर मात्रै निस्किएका थियौं । अब हामी पिँजडामुक्त छौं वा खुला आकासमा हामी जे पनि गर्न सक्छौं ।
जसले आजको समयलाई बुझ्दैन उसले प्रगति गर्दैन । अहिलेको समय बुझ्नका लागि एआई बुझ्नुपर्छ, आईटी बुझ्नुपर्छ । अबको समय आईटी, विज्ञान तथा प्रविधिले नेतृत्व गर्छ ।
हामीले हाम्रा युवाहरूलाई सक्षम र दक्ष बनाउनुपर्छ । हाम्रा युवाहरू प्रतिभामा कम छैनन् । हाम्रा पुर्खाहरूको जेनेटिक मेमोरी यस्तो छ कि अहिलेभन्दा हजार वर्ष अगाडि भाष्कराचार्यले पृथ्वीको गोलाई नापेका थिए, घरमै बसेर । कसरी नापे होलान् ? तौल नापेका थिए, कस्तो तराजु थियो होला ? गुरुत्वाकर्षणको सिद्धान्त हजार वर्ष अगाडि पत्ता लगाएका थिए । १२१० मा पुस्तक प्रकाशित भएको थियो । त्यो कुरालाई हामीले बाहिर प्रचार गर्न सकेनौं । अहिले हामी पढ्दै छौं, गुरुत्वाकर्षण सिद्धान्तका जनक न्युटन भनेर । संस्कृतमा वेद भनेको विज्ञान हो । हाम्रा पूर्वजहरूले विज्ञान भनेर त्यति बेला आविष्कार गरे, दर्शनका बारेमा लेखे । विज्ञान भनेको प्रविधिले सृजना गर्ने हो । विज्ञान र प्रविधि हाम्रा पुर्खाहरूले उहिले शुरू गरिसकेको चिजमा हामी फेरि फर्किएर पुग्दै छौं । हामी अरूले बनाएको मोबाइल चलाउँछौं, अरूको सफ्टवेयर चलाउँछौं, अरूका एप्स चलाउँछौं । अहिले भर्खर हामीले नागरिक एपजस्ता कुराहरू निकालेर, चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)लगायत चिजहरू त्यसैमा समेटेर लान सकिने गरी हामीले विकास गरेका छौं । अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरू चिजहरू घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दै छौं । म यो गर्न चाहन्छु भनेर काम दर्ता गर्न सक्ने प्रविधिको शुरू गर्दै छौं र त्यो छोटो समयभित्र हामी ल्याउनेछौं ।
जसले आजको समयलाई बुझ्दैन उसले प्रगति गर्दैन । अहिलेको समय बुझ्नका लागि एआइ बुझ्नुपर्छ, आईटी बुझ्नुपर्छ । आईटी बुझिएन भने समय कसरी बुझियो त ? अबको समय आईटी, विज्ञान तथा प्रविधिले नेतृत्व गर्छ । अब हामीले हरेक क्षेत्रमा विज्ञान तथा प्रविधिको प्रयोगद्वारा परिवर्तन गर्नुपर्छ । आधुनिकीकरण गर्नुपर्छ । देशलाई आधुनिकीकरण कसरी गर्ने, गरीब देशलाई सम्पन्न कसरी बनाउने, गरीबी नहटाई कसरी आधुनिकीकरण हुन्छ ? आधुनिकीकरण के हो ? गरीबी त हट्नुपर्यो नि, खान पाएको छैन, के को आधुनिकीकरण ? यदि मान्छे भोकै छ भने केको आधुनिकीकरण हुन्छ ? अनि छोराछोरी कसरी पढाउँछ ? कसरी निकाल्छ आईटी इन्जिनीयर ? कमसेकम आईटीको प्रयोग गर्न सक्ने त हुनु पर्यो नि । त्यसकारण यसका लागि हामी केही गर्ने उद्देश्यका साथ अगाडि बढेका छौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आईटी मिट अप विथ प्राइम मिनिस्टर’ कार्यक्रममा गर्नुभएको सम्बोधनको सम्पादित अंश ।