काठमाडौं । आईसीटी अवार्ड २०२४ को नवौं संस्करण सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा १५ विधामा अवार्ड वितरण गरिएको छ ।
यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौं विश्वविद्यालयका संस्थापक प्रा. डा. सुरेशराज शर्मालाई प्रदान गरिएको छ । एनसेल वुमन आइकन आईसीटी अवार्ड नेपाल बैंककी डिजिटल बैंकिङ तथा कार्ड महाशाखा प्रमुख बन्दना शर्माले पाएकी छन् ।
यसैगरी प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड नामिकाका संस्थापक डा. विषेश खनाललाई प्रदान गरिएको छ भने इन्टरप्रेनर आईसीटी अवार्ड फुडमाण्डुका संस्थापक मनोहर अधिकारीलाई दिइएको छ ।
नेपाली डायस्पोरा आईसीटी अवार्ड न्यूरल कम्पनीका सहसंस्थापक नामी बरालले जितेका छन् । इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिमसन टेकले प्राप्त गरेको छ भने एसिया फाउन्डेसन सोसल इनोभेसन आईसीटी अवार्ड २०२४ जियो कृषिलाई प्रदान गरिएको छ ।
प्रडक्ट आईसीटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले जितेको छ भने राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड स्पीकअप नेपालले जितेको छ ।
यसैगरी, हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड ज्याप सर्भिसेजले जितेको छ । दक्षिण एसियाका स्टार्टअपलाई लक्षित गरी आयोजना गरिएको साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२४ भारतको हाइफेन एससीएसले पाएको छ ।
संस्थागततर्फ डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले जितेको छ भने डिजिटल सर्भिसेस अवार्ड आइएमई पेले जितेको छ ।
डिजिटल एजुकेसन आईसीटी अवार्ड मोरङ (सार्वजनिक क्षेत्र)को सुकुना मावि र निजी क्षेत्रको कलंकीस्थित एलआरआई स्कुललाई प्रदान गरिएको छ । प्रदेश स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।
कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बाग्मती प्रदेशबाट अभियन्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेस अनलाइन सर्भिसेस प्रालि र सुदूरपश्चिम प्रदेशबाट सुदूरपश्चिम इन्फोटेक एण्ड रिसर्च सेन्टरलाई सम्मान गरिएको छ ।
अवार्ड समारोहमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको विकासमा सरकारले कमीकमजोरी गरेको बताए । 'हामी आईटी दशक घोषणा गर्छौं तर यसको कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न असफल हुन्छौं। नेपालमा अझै पनि आइटी पार्कको अभाव छ । निजी क्षेत्रका लागि उपयुक्त वातावरण सिर्जना गर्न राज्यले पूर्वाधार विकास र नीतिगत सुधारमा ध्यान दिनुपर्छ,' उनले भने ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको असन्तोष र निराशाका बीच आईसीटी अवार्डले विकास र प्रगतिमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
कार्यक्रममा आईसीटी अवार्डका अध्यक्ष रजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टमको विकास र प्रवर्द्धनका लागि यो कार्यक्रमले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आएको बताए । उनले सरकारले नीतिगत सुधार गरी थप सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले प्रविधिले विश्वलाई जोडेको भए पनि नेपाल अझै पनि सूचना प्रविधिको विकासमा पछि परेको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले आईसीटी अवार्डले देशभरका प्रतिभाको पहिचान र उजागर गरेकोमा प्रशंसा गर्दै सूचना प्रविधि र स्टार्टअपलाई प्राथमिकता दिन सरकार प्रतिबद्ध रहेको बताए ।
सन् २०१६ देखि हरेक वर्ष आयोजना हुँदै आएको आईसीटी अवार्ड सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको रुपमा लिइन्छ । यो डब्ल्यूएसए अवार्ड्स र अरोरा टेक अवार्ड्स जस्ता अन्तर्राष्ट्रिय पुरस्कारहरूको आधिकारिक साझेदार पनि हो।
यस वर्ष विभिन्न विधाका लागि ८०० भन्दा बढी अनलाइन नोमिनेशन प्राप्त भएका थिए । १४ जना राष्ट्रिय र तीन जना अन्तर्राष्ट्रिय विज्ञको प्यानलले २५ भन्दा बढी बैठक गरेर छनोट प्रक्रिया पूरा गरेको थियो ।