काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार शुरू भएको हो ।
बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि शुरू हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरू हुने शास्त्रीय नियम रहेको छ ।
“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरू गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिए । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
कात्तिक १५ गते दिउँसो १५:१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गरे । उनका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।
गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि शुरू हुन्छ ।
भाइटीका कात्तिक १८ गते ११:३७ बजे
कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
काठमाडौँ उपत्यका तिहारमा झिलीमिली
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न शुरू भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।
बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बनेको छ । झिलीमिलीमा देउसी, भैलोको रमाइलोसँगै तिहारमा जुवा खेल्नैपर्छ भन्ने मान्यताले पनि कतिपयलाई आकर्षण गर्दछ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । कतिले भने विभिन्न सामाजिक कामको सहयोगका लागि तिहार अर्थात् यमपञ्चक लागेदेखि नै देउसी, भैलो खेल्ने गरेका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिन देखि नै देउसी भैलो खेल्ने परम्परा पनि रही आएको छ ।
कौडा, लङ्गुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । यसबाट कतिले जीतको आनन्दका साथै कतिले हारको नरमाइलो अनुभव पनि सँगाल्ने गर्छन् । धेरै पैसा राखेर जीत, हारका रुपमा जुवा खेल्दा कतिले भने धन सम्पत्ति नै सिध्याउने पनि गर्छन् । संस्कृतिका नाममा यस्ता विकृतिको भने अन्त्य हुनुपर्ने आवाज पनि उठ्ने गरेको छ ।
दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।
दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र
दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो । मिथिलामा आज दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाइँदै छ । धनतेरससँगै यस वर्ष तिहार (दीपावली) आज शुरू हुनेछ ।
दीपावलीका लागि अहिले मिथिला क्षेत्रका सबैजसो घर रङरोगन गरेर चम्काइएका छन् । सबैका घरमा आफ्नो दक्षताअनुसार रमाइलो पर्व दीपावलीको तयारी गरिएको स्थानीय बताउँछन् । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ ।
यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । आजदेखि शुरू भएको यो पर्व आगामी आइतबार भ्रातृद्वितीया अर्थात् मैथिल परम्पराको भैयादूज मनाइएर सम्पन्न गरिनेछ ।
यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कात्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्ठान्न परिकार खाने खुवाइने यो पर्वको चौथो दिन गाईगोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसैदिन गोवद्र्धन पूजा पनि गरिन्छ । यस दिनलाई गोवर्द्धन भन्ने गरिएको छ ।
पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कात्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनी गङ्गा र यमुनाले मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ । पर्वको पहिलो दिन कागतिहार र दोस्रो दिन कुकुर पूजा गरिने परम्परा भने मिथिलामा देखिँदैन ।
मैथिल ‘यमपञ्चक’ पर्व विधिमा पनि कागपूजा र स्वानःपूजा (कुकुरपूजा) को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए । उनका अनुसार यो व्यवहारमा भने देखिँदैन । दीपावली पर्वसँगै अहिले घरको रङरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको व्यापार बढेको स्थानीय व्यापारी बताउँछन् । दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल समुदाय अहिले व्यस्त देखिन्छन् ।
यमपञ्चक सकिनासाथ लगत्तै दुई दिनपछि शुरू हुने छठ र छठसँगै थालिने सामाचकेवा पर्वको रमझम र तयारी पनि मिथिला क्षेत्रमा बढेको झाले बताए । यसले गर्दा जताततै पर्वको रमझमले मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ । रासस