काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १ करोड २ लाखभन्दा बढी कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले साउन २७ देखि भदौ १६ गतेसम्म विक्री खुला गरेको १ करोड २० लाख कित्ता हकप्रद शेयरमध्ये १ करोड २ लाख ४९ हजार ७५२ कित्ता शेयर आइतवार बाँडफाँट गरेको हो ।
हकप्रद खरीदका लागि रितपूर्वक आवेदन दिएका ४१ हजार ३६२ जनालाई उक्त कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । सो अवधिमा १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर भने विक्री हुन सकेन ।
कम्पनीले १५० प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद विक्री खुला गरेको थियो । उक्त हकप्रद असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि विक्री गरिएको थियो ।
बाँडफाँटमा नपरेको हकप्रद शेयर बापत्को रकम असोज ४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।
पहिलो चरणमा विक्री हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।
१५० प्रतिशत हकप्रद शेयरको सम्पूर्ण कित्ता बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।