काठमाडौं । आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् शुक्रवार शुरु भएको छ । न्यू बिजनेश एज प्रालिको आयोजनामा शुरु भएको कार्यक्रमको टाइटल स्पोन्सर एशियन पेन्ट्स् रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, न्यूबिज एज प्रालिका अध्यक्ष मदन लम्साल र एशियन पेन्टस् नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन् गौरीशंकरले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरे ।
त्यसपछि न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले मन्तव्य दिंदै टाइटल स्पोन्सर, स्पोन्सर, सम्मानित हुने, अवार्डस् विजेता तथा कार्यक्रममा उपस्थित अतिथि लगायतलाई धन्यवाद व्यक्त गरे ।
त्यसपछि एशियन पेन्टस् नेपालका कन्ट्री डाइरेक्टर गौरीशंकर मन्तव्य दिनेछन् ।
कार्यक्रमअन्तर्गत प्यानल डिस्कसनका साथै विभिन्न विधामा अवार्डस् वितरण हुनेछ । कार्यक्रममा ‘बिजनेस अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’ विषयमा प्यानल डिस्कसन गरिने छ ।
प्यानल स्पिकरमा युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अम्लान मुखर्जी, निम्बस होल्डिङ प्रालिका म्यानेजिङ डाइरेक्टर आनन्द बगारिया र भायानेट कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक रहनेछन् । प्यानल डिस्कसनको सहजीकरण प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले गर्नेछन् ।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य महासंघ (एफआईसीसीआई)का वरिष्ठ सल्लाहकार मानब मजुमदरले कि–नोट मन्तव्य दिनेछन् ।
कार्यक्रमअन्तर्गत विभिन्न ११ विधामा अवार्ड वितरण हुनेछ, जसमा १० ओटा संस्थागत विधा छन् भने एक लाइफटाइम एचिभमेन्ट अवार्ड छ । व्यावसायिक क्षेत्रमा लामो समय योगदान पुर्याउने व्यक्तिलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड होटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इयर’, ‘बेष्ट डेभलपमेन्ट बैंक अफ दि इयर’, ‘बेष्ट फाइनान्स कम्पनी अफ दि इयर’, ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ र ‘बेष्ट ननलाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ विधामा अवार्ड वितरण गरिनेछ ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको अन्य प्रायोजकमा एनआईसी एसिया बैंक, टीयागो ईभी, नबिल बैंक, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बीमा प्राधिकरण, स्मार्टफोन कम्पनी एमआई, एनएलजी इन्स्योरेन्स, प्रभु बैंक र सोनम गियर छन् । कार्यक्रमको इन्टरनेट पार्टनरमा डिसहोम फाइबर नेट छ ।
कार्यक्रमको आर्थिक अभियान राष्ट्रिय दैनिकको फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण भइरहेको छ।