काभ्रेपलाञ्चोक । अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष (आव) २०८०/०८१ को दोश्रो अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका ५ अनुगमन कार्यालय प्रमुख र ६० वटा शाखा प्रमुख सहभागी भएको उक्त गोष्ठी काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न भएको हो ।
लघुवित्त संस्थाका अध्यक्ष बाबुराम थापाले पानसमा दीप प्रज्ज्वलन गरी गोष्ठी उद्घाटन गरेका थिए । गोष्ठीमा अध्यक्ष थापाले बैंकसम्म वित्तीय पहुँच नभएका, दुर्गम क्षेत्रका नागरिकलाई लघुवित्त संस्थाले घरदैलोमा पुगेर वित्तीय सेवा दिइरहेको बताए । कृषि कर्जा, पशुपालन कर्जा, मौसमी कर्जा दिएर आम किसानको हितको लागि लघुवित्त संस्थाले महत्त्वपूर्ण कार्य गरिरहेको अध्यक्ष थापाको भनाइ छ ।
गोष्ठीमा संस्थाका सञ्चालक भोजराज भट्टराईले महिला, किसान र आर्थिक तथा सामाजिक रूपमा पछि परेका वर्गको हितमा काम गर्नुपर्ने र उनीहरूको हित भएमा मात्र संस्थाको हित हुने बताए । संस्थाका सञ्चालक केशव थापाले लघुवित्त कार्यक्रमले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको भन्दै गोष्ठीको सफलताको शुभकामना व्यक्त गरे ।
गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले लघुवित्त कार्यक्रमबाट ऋणीको हितलाई ध्यान दिएर काम गर्नुपर्ने, लघुवित्त संस्थाका शाखा संख्या धेरै भएर पनि पछिल्लो असहज परिस्थिति आएको बताए । वित्तीय साक्षरता सम्बन्धमा ज्ञान, शीप, प्रवृत्ति, व्यवहारमा परिवर्तन, प्रविधि तथा सेवाग्राहीको हकको वारेमा पनि कार्यकारी प्रमुख लम्सालले बताए ।
गोष्ठीमा कर्जा विभाग प्रमुख चन्दन कुमार सरदार, लेखा विभाग प्रमुख टोप बहादुर थापा, आन्तरिक लेखापरीक्षक चोपकान्त चौधरी लगायतले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।