काठमाडौं । चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासमा अधिकांश निर्जीवन बीमा कम्पनीको खुद नाफा घटेको छ ।
कम्पनीहरूले प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा यो आवको सोही अवधिमा १४ कम्पनीमध्ये ९ ओटाको नाफा घटेको हो ।
बाँकी ५ कम्पनीमध्ये ३ कम्पनी नाफामा छन् । सानिमा जिआईसी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्स नाफामा छन् । दुईओटा कम्पनी भने घाटामा छन् । नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स घाटामा रहेका हुन् ।
नेपाल इन्स्योरेन्सको सर्वाधिक घट्यो
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा घट्नेमा नेपाल इन्स्योरेन्स कम्पनी छ । कम्पनीको नाफा ८२ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ४९ करोड ७७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ८ करोड ६० लाख मात्रै नाफा कमाएको छ ।
बाढीपहिरोले नाफा प्रभावित
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले चालू आवमा निर्जीवन बीमा कम्पनीको नाफा प्रभावित भएको छ । सो अवधिमा आएको बाढीपहिरोका कारण कम्पनीले क्षतिपूर्ति बापत बीमा दाबी भुक्तानी गर्नुपरेकाले कम्पनीहरूको नाफा प्रभावित भएको कम्पनीहरूले जनाएका छन् ।
बीमा कम्पनीको नाफा प्रभावित हुनुको अर्काे कारण घट्दो ब्याजदर पनि हो । पछिल्लो डेढ वर्षयता निरन्तर ब्याजदर घटिरहेको छ । बीमा कम्पनीहरूले लगानीको ठूलो हिस्सा मुद्दति निक्षेपमा गर्ने भएकाले ब्याजदर घट्दा कम्पनीको आम्दानी पनि घट्ने गरेको छ, जसका कारण नाफा पनि प्रभावित हुने गरेको छ ।
नेपाल इन्स्योरेन्सको कुल आम्दानी गत आवमा रू. १ अर्ब ८ करोडभन्दा बढी रहेकोमा चालू आवमा रू. ५६ करोड ४५ लाखमा झरेको छ ।
सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी
समीक्षा अवधिमा रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी छ । यस कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ६६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १८ दशलमव ८६ प्रतिशत कम हो । सो अवधिमा कम्पनीले रू. ४२ करोड ७२ लाख नाफा कमाएको थियो ।
रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने कम्पनीको सूचीमा दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी छ । कम्पनीले रू. २५ करोड ७३ लाख नाफा कमाएको छ । सबैभन्दा कम नाफा कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यस कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ५८ लाख नाफा कमाएको छ ।
कम्पनीको नाम | खुद नाफा रू हजारमा | घटबढ प्रतिशत | |
चालू आवको दोस्रो त्रैमास | गत आवको दोस्रो त्रैमास | ||
राष्ट्रिय बीमा कम्पनी | 346,688 | 427,258 | -18.86 |
शिखर इन्स्योरेन्स | 257,352 | 251,112 | 2.48 |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स | 225,000 | 360,976 | -37.67 |
हिमालयन एभरेष्ट इन्स्योरेन्स | 159,874 | 273,581 | -41.56 |
नेको इन्सुरेन्स | 156,030 | 221,267 | -29.48 |
आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स | 143,097 | 183,798 | -22.14 |
सानिमा जिआईसी इन्स्योरेन्स | 121,698 | 105,591 | 15.25 |
प्रभु इन्स्योरेन्स | 120,049 | 108,612 | 10.53 |
नेपाल इन्स्योरेन्स | 86,027 | 497,797 | -82.72 |
एनएलजी इन्स्योरेन्स | 74,503 | 87,544 | -14.9 |
युनाइटेड अजोड इन्स्योरेन्स | 69,683 | 131,887 | -47.16 |
सगरमाथा लुम्बिनी इन्स्योरेन्स | 65,853 | 200,843 | -67.21 |
नेशनल इ्रन्स्योरेन्स | -369,868 | -10,755 | - |
दि ओेरियण्टल इन्स्योरेन्स | -197,541 | 258,317 | - |
स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।