काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ८८ दशमलव ४२ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा कम्पनीले रू. ५ करोड ८ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ५८ लाख ८४ हजारमा झरेको छ । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. २६ करोड २७ लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. ११ करोड २२ लाखमा झरेको छ ।
चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोड रहेको कम्पनीको अन्य इक्विटीमा रू. १४ करोड ७५ लाख छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १६ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३ रुपैयाँ ४९ पैसा छ ।