पुर्खाहरूले संघर्ष र मेहनतको बाटो सिकाए । तर अहिले आत्मनिर्भर बन्न कष्ट भोग्नु अनिवार्य छैन भन्ने मान्यता प्रबल छ । अब जो आराम गर्न जान्दछ, ऊ नै सफल हुने युग हो । संसारकै धनाढ्य बिल गेट्सले त सकेसम्म अल्छी मान्छे खोजेर काममा लगाउँछु भनेका छन् । अल्छीले काम गर्ने सजिलो उपाय खोजिहाल्छ रे । ‘अल्छीको बात जैसीले जान्दैन’ भनेर पुर्खाले गफीहरूलाई उडाए । तर अहिले यस्तै गफीले खाने जमाना आयो । सुतेको सिंहको मुखमा मृग आफै पस्ने जमाना पो हो यो त !
उहिले ४७ सालतिर सन्त नेता भट्टराई बाजे आफ्ना भित्रियाहरूलाई भन्थे रे, ‘नेपाल भन्याको सुत्ने र दगुर्नेहरूले एउटै समयमा दौड पूरा गर्ने पुग्ने मुलुक हो ।’ दौडने कुमारलाई सुत्ने गणेशले जितेर गणपति भएको दृष्टान्त त सबैलाई कण्ठस्थै छ ।
त्यसैले सरकारले सकेसम्म आफू पनि काम गर्दैन र जनतालाई पनि काम गर्न दिँदैन । मानिशहरू सरकारले काम गरेन भन्छन् । सिन्को नभाँचे पनि विदेशी मुद्राको ढुकुटी भरिएको भरियै छ । काम गर्ने भनेको त यसरी पो त । त्यस्तो निन्जा ट्रिक लगाउन सक्ने हाम्रो सरकारलाई काम गरेन भन्न मिल्छ ?
सरकारको काम जनतालाई राहत दिनु होइन, आत्मनिर्भर बनाउनु हो । आत्मनिर्भर बनाउने टेक्निक भएपछि कामै गर्नै पर्दैन नि । महँगी, बेरोजगारी, पेट्रोल–डिजेलको मूल्यवृद्धि यी सबैबाट सरकारले जनतालाई आरामसहित जागरणका सन्देश दिएको छ । भोक लागेको बिरालोले आफै मुसा समात्छ, भोकाएको मान्छेले पनि सपना देख्छ । त्यसैले सरकारलाई धन्यवाद दिनुपर्छ, जसले हामीलाई सपना देख्नैका लागि भोकै राखेको छ । सरकारले त महँगी बढाएर हाम्रो स्वास्थ्य र चेतनामा ध्यान दिएको हो नि ।
समस्याहरू समाधान गर्नु भनेको जनताका सम्भावनालाई ठेगान लगाउनुजस्तै हो । वास्तवमा महँगी, बेरोजगारी, अभाव यी त समस्या होइनन्, नयाँ सोचका लागि अवसर पो हुन् त । मूल्यवृद्धि त प्रगतिका खुड्किला पो हो । ऋषिमुनिले ध्यान गर्न भोकै बस्नुपर्छ भनेर सिकाए, हाम्रो सरकारले पनि यही अभ्यास गराउँदै छ । अब त यस्तो दिन टाढा छैन, जब ‘भोक र विकास’लाई राष्ट्रिय योजना घोषित गरिनेछ ।
‘भोकाएको बिरालो बाघ बन्छ’ भनेजस्तै भोकै हुनु आत्मनिर्भर बन्ने दिशामा पहिलो महत्त्वपूर्ण कदम हो । जुन समाजले महँगी, बेरोजगारी र अभावसँग बाँच्छ, त्यो समाज ‘भोक, रोग र शोक’लाई आदर्श मान्दै बाँच्न सिक्छ । समस्या त जीवनको अभिन्न अंग हो । त्यसैले समस्या सृजना गरिरहनु सरकारको ठूलो उपलब्धि हो । यसका लागि पनि सरकारलाई धन्यवाद दिनैपर्छ । बालकृष्ण समको भनाइ सम्झनुस् त, ‘दु:खीको घरमा मात्र भगवान्को वास हुन्छ ।’
कसैले भनेका छन् कि मानिसलाई पानीमा फ्याँकिदिएमा आधा मानिसले पौडिन सिक्न सक्छन् । जो पौडन सक्दैनन् र डुब्छन्, त्यो पनि राम्रै हो । जीवनमा पौडन नसक्नेहरू त डुब्नैपर्छ वा उनीहरूलाई डुब्न दिनैपर्छ । विदेशमा बैंक डुबे डुबोस् भनेर डुब्न दिन्छन् । नेपालमा बैंक नडुब्न नदिने भनेर अर्थतन्त्र नै डुबाउँछन् । त्यसैले डुब्नु दिनु त राम्रो हो नि । बरु डुबेका नागरिकहरूको सम्झनामा पुलको वा पार्कको नाम राख्न सकिन्छ । हामी त्यो समय पर्खिरहेका छौं, जब सरकारले ‘डुब्नेलाई सम्मान’ गर्ने योजना ल्याउनेछ । सोच्नुहोस् त, ‘डुब्नेहरूको स्मृति दिवस’ कति राष्ट्रिय गौरवको विषय होला ।
आत्मनिर्भरता भनेको जिम्मेवारीबाट पन्छिनु हो । सरकारले यो जिम्मेवारी बिर्सेको छैन । ती समाजहरू, जो समस्याहरू सामना गर्छन्, अभावमा बाँच्छन्, आधा पेट खाएर पूर्ण लडाइँ लड्छन्, ती नै अन्तिममा असली विजेता हुन्छन् ।
यसो विचार गर्नुहोस् त, हाम्रा साधु–सन्तहरू झुपडीमा बस्थे, मुठ्ठीभर अन्नले पेट भर्थे, परिधानका नाममा दुईटा लंगौटीले वर्ष दिन काट्थे । तर उनीहरूमा यति शक्ति थियो कि श्राप दिएर हरियो–परियोलाई पनि छिनमै भस्म पार्थे । त्यही शक्तिको अभ्यास गराउँदै पेटभरि नखाऊ भन्नमा सरकार दत्तचित्त छ । यदि सरकारले मानिशहरूलाई बसीबसी यत्तिकै नि:शुल्क खान दिन थाल्यो भने मतदाताहरू त आलुका बोराजस्तै सुतेर बस्छन् । त्यसपछि अरूले पनि तिनलाई किन त्यसै छाड्लान् र ? अरूले तिनलाई आलुचप बनाएर खाइहाल्छन् नि ।
त्यसैले त प्रविधि विकासको चुलीमा पुगेका देशहरूले मेहनतभन्दा आरामलाई प्राथमिकता दिन थालेका छन् । भोलि विकास गरेर आरामै गर्नु छ भने अहिले नै किन आराम नगर्ने ? अब भने देशमा केही होला जस्तो छ । वरपर हेर्नुस्, यत्रो अल्छीहरूको राष्ट्रमा प्रतिस्पर्धा कति चर्को छ । यी अल्छीहरूले ‘सर्वश्रेष्ठ आलस्य पुरस्कार’ जित्नुपर्ने भयो भने, त्यो लिन जान पनि गाह्रो मान्छन् । उनीहरूकोे प्रश्न हुन्छ, ‘पुरस्कार घरमै आउँछ कि लिन जानुपर्छ ?’
अहिले त हाम्रो राष्ट्रको प्रगतिको मूल मन्त्र– ‘जागरणको ज्वाला होइन, आलस्यको आनन्द’ हो । वास्तवमा आलस्य भनेकै आत्मनिर्भरताको अर्को नाम हो । सरकारले रोजगार सृजना नगरी जनतालाई आराम गर्ने अवसर दिएको छ, जुन भोटको सच्चा सम्मान हो । आलस्यको आनन्द मेहनतको दु:खभन्दा ठूलो हुन्छ । कुनै अल्छी सन्तले भनेजस्तै– ‘आज गर्ने काम भोलि, भोलि गर्ने काम पर्सि गर ! हतार नै के छ र ?’ यो नीतिमा सरकार पूर्ण सफल छ ।
डिजिटल युगले जीवनलाई अझ सहज बनाउँदै छ । टिभी, पंखा, एसी रिमोटले चल्ने जमानापछि अब इसाराले काम हुने भविष्य आउँदैछ । यूट्युबले किताब पढेर सुनाउने सुविधा ल्याइसकेकै छ, अब ड्रोनले खाना ल्याउने र रोबोटले मुखमा हालिदिने समय टाढाछैन ।
भाग्यवश भगवान्ले हामीलाई जिब्रो र त्यसमा स्वादको क्षमता दिए । नत्र वैज्ञानिकहरूले हाम्रा पेटमा पनि पाइप फिट गरेर पेट्रोल स्टेसनमा तेल भरेजस्तै फुड स्टेशनमा गएर खाने कुराहरू भर्ने बनाउँथे होला । धनी मानिशहरूले प्रिमियम गुणस्तरका खाना फुल ट्यांक भर्थे भने गरीबले औकात अनुसार जंकफुडले भर्थे होला । न चपाउनुपर्ने दु:ख, न दाँत सफा गर्ने झन्झट ।
यसरी आलस्य र आत्मनिर्भरता आपसमा गाँसिएका कुरा हुन् । अल्छी मानिस अद्भुत रूपमा आत्मनिर्भर हुन्छन्, जहाँ बस्छन्, त्यहीँ पत्थरजस्तो स्थिर भएर बस्छन् । पाँच वर्षमा एकपटक मतदान गर्न उठे भने, त्यो पनि ठूलो उपलब्धि हो । त्यसैले त भनेको अल्छी मानिस नै लोकतन्त्रको बलिया आधारशिला हुन् । लोकतन्त्र भनेको अल्छीहरूको स्थायित्वमा आधारित शासन प्रणाली हो । यसरी जबसम्म हामी अल्छी रहन्छौं, लोकतन्त्र बलियो रहने कुरा पक्का छ !