काठमाडौं । अमेरिकाले ७५ भन्दा बढी देशहरूमाथि लगाएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उक्त घोषणा गरेका हुन् ।
ट्रम्पले बुधवार दिउँसो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै भने, ‘७५ भन्दा बढी देशहरूले व्यापार वार्ताका लागि अमेरिकासँग सम्पर्क गरेका छन् । ती देशहरूले कुनै ठूला प्रतिकार गरेका छैनन्, त्यसैले मैले ९० दिनको लागि उक्त भन्सार दरलाई स्थगन स्वीकृत गरेको छु । यस अवधिमा १० प्रतिशतको न्यून पारस्परिक ट्यारिफ लागू गरेको छु।’
तर, अमेरिकाले चीनमाथि लगाएको भन्सार शुल्क भने बढाएको छ । अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएको छ ।
‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदैछु, जुन तुरुन्तै लागू हुनेछ,’ ट्रम्पले लेखेका छन्, ‘चीनले अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानी पुर्याउने दिन सकिएको छ भन्ने चाडै बुझ्ने आशा छ । र, यो अब स्वीकार्य छैन।’
ट्रम्पले एक साताअघि विश्वभरका देशहरूमाथि पारस्परिक भन्सार दर लागू गर्ने निर्णय गरेका थिए । उक्त निर्णयपछि विश्वभरबाट ट्रम्पको आलोचना भएको थियो ।