न्युयोर्क - अमेरिकी राष्ट्रपति चुनावको मिति नजिकिंदै गर्दा डेमोक्र्याटिक उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चुनावी प्रतिस्पर्धा जारी छ। नोभेम्बर ५ मा हुने चुनावका लागि प्रचारको अन्तिम चरणमा रहेका यी दुवै उम्मेदवार मतदाताहरूको ध्यान आकर्षित गर्न प्रयासरत छन्।
चुनावी प्रचारको अन्तिम ३६ घण्टा बाँकी रहँदा ह्यारिसले गाजाको युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आक्रोशित मतदाताहरूलाई आश्वस्त गर्न खोजेकी छन् । ट्रम्पले भने आफ्नो र्यालीहरूमा विवादास्पद बयानबाजी गर्दै पत्रकारहरूलाई गोली हानेका कुरा गरेका छन्, जसले चुनावी माहोललाई थप तनावपूर्ण बनाएको छ।
यो चुनाव अमेरिकाको इतिहासकै प्रतिस्पर्धात्मक हुने मानिएको छ । जहाँ विभिन्न स्विङ राज्यहरू ( प्रभावित पार्न सकिने राज्यहरू) मा मत विभाजन समान अवस्थामा छ । न्युयोर्क टाइम्स/सिएनाको सर्वेक्षण अनुसार, स्विङ राज्यहरूमा प्रतिस्पर्धा कडा देखिएको छ र अन्तिम समयसम्म परिणामको भविष्यवाणी गर्न कठिन देखिन्छ।
प्रारम्भिक मतदानमा सात करोड ७६ लाखभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । ६० वर्षीया ह्यारिसले मिशिगनको भ्रमण गर्दै, अमेरिकी सरकारको इजरायल-हमास युद्धमा लिएको दृष्टिकोणप्रति असन्तुष्ट अमेरिकी समुदायको समर्थन कायम राख्ने प्रयास गरेकी छन् । मिशिगन स्टेट युनिभर्सिटीमा उनले गाजाको शान्ति प्रक्रियामा आफ्नो प्रतिबद्धता जनाउँदै भनेकी छिन्, "राष्ट्रपतिको हैसियतले म गाजामा युद्ध अन्त्य गर्न सक्दो प्रयास गर्नेछु।"
ट्रम्पले भने पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जियामा भ्रमण गर्दै डेमोक्र्याटहरूलाई “राक्षसी” भन्दै चुनावमा धाँधलीको आरोप लगाएका छन्। पेन्सिलभेनियाको लिटिट्जमा समर्थकलाई सम्बोधन गर्दै हार भएमा चुनावी परिणाम नस्वीकार्ने आशय व्यक्त गरेका छन् । अर्को विवादास्पद टिप्पणीमा ट्रम्पले खोपका शंकालु रोबर्ट एफ. केनेडी जुनियरलाई "महिला स्वास्थ्य" र "कीटनाशक" सम्बन्धी काममा संलग्न गराउने योजना रहेको बताए।
ह्यारिसको पक्षमा अश्वेत मतदाताको समर्थनमा केही कमी देखिए तापनि गर्भपतन अधिकारजस्ता मुद्दाहरूले महिलाहरूको ठूलो समर्थन पाइरहेकी छन्। एएफपी/रासस