काठमाडौं । पत्रकार भोजराज थापाले आफूले नचिनेको एक जना मान्छेले आफ्नो नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर त्यसमार्फत बच्चा गम्भीर बिरामी भएको र उपचारका लागि रकम आवश्यक रहेको बहानामा चन्दा मागेको भन्दै प्रहरीमा निवेदन दिए । थापाको नक्कली अकाउन्ट बनाएर चन्दा बटुल्ने अर्जुन साउदले थापाको नाम र फोटो राखी रकम असुलेको कबुल गरे । उनले मोबाइल भुक्तानी सेवाजस्तै ई–सेवा र एनआईसी एशिया बैंकमार्फत रकम असुलेको बताए । उनले २ लाख ८३ हजार २६ रुपैयाँ संकलन गरेका थिए । अदालतले साउदले विद्युतीय कारोबार ऐन २०६३ र मुलुकी अपराध संहिता २०७४ विपरीत काम गरेको भन्दै जेल सजाय र जरीवाना तोक्यो ।
काठमाडौंस्थित कम्प्युटर र यसका पार्टपुर्जाको आयातकर्ता एक कम्पनीेले सिंगापुरस्थित कम्पनीसँग ती सामग्री आयात गर्दै आएको थियो । उसले नेपालको एउटा बैंकबाट त्यसको भुक्तानी गर्दै आएको थियो । एक दिन नेपालको उक्त कम्पनीले नियमित सामान पठाइरहकै सिंगापुरस्थित कम्पनीको नामबाट प्रोफर्मा इन्भ्वाइस (सामान बेचिएको शुरुआती बिल) इमेल मार्फत प्राप्त गर्यो । तर, त्यसमा विक्रेताको बैंक खाताको विवरण सिटी बैंक सिंगापुरको सट्टा लोयडस् बैंक, बेलायत राखिएको थियो । आफ्नो ग्राहक रहेको नेपाली कम्पनीको अनुरोधको आधारमा नेपालको बैंकले १७ हजार ५२० डलर लोयडस् बैंक, बेलायतमा पठायो जुन वास्तविक सिंगापुरस्थित विक्रेताले पाएन । अनुसन्धानपछि उक्त इमेल फिसिङ इमेल रहेको र कुनै एक व्यक्तिको बैंक अकाउन्ट रहेको पत्ता लाग्यो । जब नेपाली कम्पनीले लोयडस् बैंकलाई यस विषयमा खबर गर्यो त्यस बेलासम्म सबै पैसा निकालिइसकेको थियो ।
राना थरका एक जना ४० वर्षे पोखराका व्यक्तिले ह्वाट्सएपमा एउटा सूचना पायो–एलेक्स क्लर्क राना नाम गरेको मान्छेको केही वर्षअघि क्यानडामा मृत्यु भयो तर क्यानडाको रोयल बैंक अफ क्यानडामा उनको ७ करोड ८० लाख डलर रकम दाबी गर्ने कोही भएन । उक्त पैसा दाबी गर्न र त्यसका लागि आफूले सहयोग गर्ने वचन सूचकले दियो । रानालाई विश्वासमा लिएर उनले वकिललाई पैसा दिन शुरूमा १५ सय डलर पठाउन भन्यो । विभिन्न बहानामा थप पैसा पठाउन भन्दा र नेपाल प्रहरीको साइबर ब्युरोमा पोखराका रानाले उजुरी दिँदा उनले ७८ हजार डलर पठाइसकेका थिए ।
यी घटना नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी एकाइले आइतवार सार्वजनिक गरेको साइबरजन्य ठगी बारेमा तयार स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४ मा उल्लेख छ ।
प्रतिवेदनका अनुसार सन् २०२४ को मे ३१ सम्म वित्तीय जानकारी एकाइमा पठाइएका शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी विवरणमध्ये ६३ प्रतिशतभन्दा बढी साइबरजन्य ठगीसम्बन्धी थिए । अनलाइनमार्फत हुने वित्तीय ठगीमा ‘विद्यार्थी’ पेशा उल्लेख गरेका व्यक्तिहरू बढी संलग्न रहेको पनि प्रतिवेदनले औंल्याएको छ । एकाइका अनुसार वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूबाट गत आर्थिक वर्षसम्म प्राप्त सीमा कारोबार सूचनामध्ये १५ प्रतिशत ठगी अपराधसँग सम्बद्ध प्राप्त भएको थियो । ती सूचनामध्ये ६३ प्रतिशत साइबरमार्फत हुने ठगीसँग सम्बद्ध रहेको पाइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
साइबरमार्फत ठगी गर्ने व्यक्तिले उपहार/चिट्ठा परेको, पार्सल आएको जस्ता बहाना बनाउने गरेका छन् । यस्तै नक्कली सामाजिक सञ्जालको खाता बनाएर र अनलाइन प्लेटफर्म प्रयोग गरेर ठगी भएको छ । एकपटकको कारोबारका लागि मात्रै काम गर्ने पासवर्ड (ओटीपी) तथा विभिन्न डिजिटल प्रविधि प्रयोग गरेर सर्वसाधारणको बैंक खातामा पहुँच पुर्याई ठगी गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार वित्तीय सेवा प्रदायक (मोबाइल वालेट) मार्फत साइबर ठगीको अपराध बढी हुने गरे पनि यी कम्पनीको रिपोर्टिङ कम हुने
एकाइमा प्राप्त सूचनामध्ये वाणिज्य र विकास बैंकबाट धेरै सूचना प्राप्त भएको छ । साइबर ठगीमा सबैभन्दा बढी युवाहरू संलग्न भएको भेटिएको छ । एकाइमा प्राप्त सूचनाका आधारमा साइबर अपराधमा शंकास्पद व्यक्तिमध्ये ७० प्रतिशत १९ देखि ३० वर्षमुनिमा युवा रहेको पाइएको छ ।
‘शंकास्पद कारोबारमा १९–२४ वर्ष उमेरसमूहका व्यक्ति र पेशामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ,’ केन्द्रीय बैंकको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यसैगरी साइबर ठगीको अपराधका लागि अधिकांश नयाँ बैंक खाताको दुरुपयोग भएको पाइएको छ । साइबर अपराधसँग सम्बद्ध सूचनामध्ये आधा खाता खोलिएको ३ महीनाभित्र शंकास्पद कारोबारको रिपोर्टिङमा परेका थिए ।
अध्ययन प्रतिवेदनले साइबर ठगीलाई नियन्त्रण गर्न बैंक, वित्तीय संस्थामा ग्राहक पहिचानलाई कसिलो बनाउन पनि सुझाव दिएको छ । यसैगरी डिजिटल बैंकिङ सेवाका लागि प्रयोग हुने मोबाइल नम्बर ग्राहक वा तिनको परिवारका सदस्यको नाममा दर्ता भएको भन्ने सुनिश्चित गर्न समेत सुझाव दिएको छ । नयाँ खाता खोलेर गरिने अपराध रोक्न खातामा कुलिङ पिरियड तोक्न र निश्चित अवधिका लागि कारोबारमा सीमा लगाउन सकिने समेत प्रतिवेदनमा औंल्याइएको छ । सामाजिक सञ्जाल वा इमेलबाट सामान्य जानकारी मात्र आदानप्रदान गर्न र ग्राहक पहिचान विवरण, व्यक्तिगत तथ्यांक खाता विवरण नबाँड्न समेत प्रतिवेदनमा सुझाव दिइएको छ । यसैगरी साइबर ठगी नियन्त्रणका लागि सरकारी निकाय, कानून कार्यान्वयन गर्ने निकाय र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता पनि औंल्याइएको छ । यस क्षेत्रमा काम गर्ने कर्मचारी र सर्वसाधारणलाई यसबारेमा चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ । साइबर ठगीका अपराध नियन्त्रण गर्न कारोबारको ‘रियल टाइम’मा निगरानी प्रणाली बनाउन, बैंकमा खोलिएका नयाँ खातालाई पेशाको आधारमा कडा निगरानी गर्न, लापरबाही गर्ने वित्तीय संस्थालाई जिम्मेवार बनाउनुपर्ने प्रतिवेदनले औंल्याएको छ । साइबर ठगीमा पर्ने सर्वसाधारणलाई जोगाउन वालेट र कार्ड बीमा लागू गर्न पनि सुझाव दिइएको छ ।
‘जसरी अनलाइन कारोबार बढ्दै गएको छ, त्यसैगरी साइबरजन्य अपराध बढ्दो छ,’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘यस्ता ठगीबारे सचेत हुनुपर्ने प्रतिवेदनले स्पष्ट पारेको छ ।’
प्रतिवेदनअनुसार विगतमा जस्तो ढोका लगाउन बिर्सिएको अवस्थामा दराज फोरेर लैजानेभन्दा मोबाइल र इन्टरनेटको माध्यमबाट ठगी बढेको छ । यस्ता ठगीबाट बच्न/बचाउन बढी सचेत
हुनुपर्ने देखिन्छ ।
गरेको छ ।