काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी (क्रश बोर्डर पेमेन्ट) कारोबार ‘रिटेल पेमेन्ट स्वीच’मार्फत गर्न सकिने व्यवस्था गरेको छ ।
बिहीवार एकीकृत परिपत्र २०८० संशोधन गर्दै केन्द्रीय बैंकले नेपालबाट भारतमा र भारतबाट नेपालमा अनलाइन प्रयोग गरी विप्रेषण (रेमिट्यान्स) पठाउन र पर्यटकले क्युआर कोडमार्फत नेपालमा वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।
गत चैतमा राष्ट्र बैंकले निर्देशन जारी गर्दै अन्तरदेशीय भुक्तानीका लागि नेशनल पेमेन्ट स्वीचको प्रयोग अनिवार्य गरेको थियो । उक्त निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले नेशनल पेमेन्ट स्वीच सञ्चालनमा नआएसम्मका लागि त्यसअन्तर्गतको रिटेल पेमेन्ट स्वीच प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । नेशनल पेमेन्ट स्विचमार्फत कार्ड र विनाकार्ड दुवै कारोबार हुन्छ भने रिटेल पमेन्ट स्वीचबाट कार्डविनाको कारोबार मात्र हुन्छ । सरकारको नेशनल पेमेन्ट स्वीच २०७८ मङ्सिरबाट शुरू भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
यसमार्फत हाल वालेट कम्पनीहरूको कारोबार मात्र भइरहेको छ । निर्देशनअनुसार नेपालमा कार्यरत भारतीय नागरिकले ई–बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको खातामा रकम जम्मा गर्न सक्नेछन् । यस्तो कारोबारका लागि प्रतिदिन १५ हजार र प्रतिमहीना १ लाख रुपैयाँको सीमा तोकिएको छ । यसैगरी भारतबाट पनि क्युआरकोडमार्फत नेपाली बैंक वित्तीय संस्थामा खोलिएको खातामा जम्मा हुने गरी विप्रेषण पठाउन सकिने व्यवस्था छ ।
नेशनल पेमेन्ट स्वीचमार्फत कार्ड र विनाकार्ड दुवै कारोबार हुन्छ भने रिटेल पेमेन्ट स्वीचबाट कार्डविनाको कारोबार मात्र हुन्छ ।
गतवर्ष जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा नेपाल र भारतबीच क्रशबोर्डर भुक्तानी सेवा शुरू गर्ने सम्झौता भएको थियो । उक्त भ्रमणमा राष्ट्र बैंकको समेत लगानी रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तरराष्ट्रिय शाखा एनआईपीएलबीच सम्झौता भएको थियो ।
त्यसपछि गत भदौमा एनआईपीएलले नेपालको निजी भुक्तानी सेवाप्रदायक कम्पनी फोनपेसँग पनि क्रशबोर्डर भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता गरेको थियो । ग्लोबल फिनटेक फेस्ट–२०२३ मा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समेत उपस्थितिमा निजी कम्पनीसँग समेत सम्झौता भएको थियो । गत फागुनमा सेवा सञ्चालनका लागि भारतमा पेमेन्ट स्वीचको काम गरिरहेको युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालमा पेमेन्ट स्वीचको काम गरिरहेको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआईबीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको थियो । हालसम्म नेपालमा अन्तरदेशीय भुक्तानी सेवा शुरू भए पनि भारतमा नेपालीहरूले भुक्तानी गर्न पाउने सेवा शुरू भइसकेको छैन । राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनी एनसीएचएल र फोन पेलाई सेवा सञ्चालनका लागि स्वीकृति दिएको छ ।