काठमाडौं । विभिन्न ११ ओटा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यको उडानमा लिँदै आएको हवाई भाडा दरसहितको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले २४ घण्टाभित्र विक्री गरेको टिकटको मूल्यसहितको हवाई भाडादर बुझाउन निर्देशन दिएसँगै अन्तरराष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनीले बिहीवार हवाई भाडादरको विवरण बुझाएका हुन् ।
काठमाडौंबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएका स्वदेशी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्शहरूले हवाई भाडादरको मूल्यसहितको विवरण मन्त्रालयका पेश गरेका हुन् । मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले विभिन्न प्रमुख ११ ओटा अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीले भाडादर विवरण पेश गरेको जानकारी दिए । उनले सम्बद्ध कम्पनीले बुझाएको भाडादरका सम्बन्धमा विश्लेषण गर्न अर्काे र्यापिड टीम गठन गर्नेसमेत जानकारी दिए । ‘वास्तविक रूपमा यात्रुले कति मूल्य तिरेर टिकट किनेका छन्, एयरलाइन्स कम्पनीले कति मूल्यमा टिकट जारी गरेका छन्, बीचमा गैरकानूनी तथा कालोबजारीबाट मूल्य बढाइएको छ कि छैन भन्ने कुराको यकीन यो टीमले गर्नेछ,’ लामिछानेले भने, ‘अहिले एयरलाइन्सले टिकट तथा हवाई भाडा विवरण बुझाएको तर यसमा के–कति बढी/घटी भन्ने विषयमा विश्लेषण गरिनेछ ।’
नेपाल एयरलाइन्स, कतार एयरवेज, थाई एयरलाइन्स, सिचुवान, एयर इन्डिया, कोरियन एयरलाइन्स, सिंगापुर एयरलाइन्स, एयर अरेबिया, थाई एयर एशिया, जजिरा, हिमालय एयरलाइन्सले हवाई भाडा विवरण बुझाएका छन् । सरकारको उक्त निर्देशनपछि नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय भाडादरमा छूट दिएको घोषणा गरेको छ ।
निगमले आफ्ना जहाजबाट उडान भर्दै आएका विभिन्न १० गन्तव्यका लागि साविकको भाडा घटाएको हो । निगमले बिहीवार प्रेस विज्ञप्ति जारी गरेर दिल्ली, मुम्बई र बैंगलोर सेक्टरका लागि बजार भाडादरमा २ हजार ५०० रुपैयाँसम्म छूट दिने जानकारी गराएको हो । यस्तै निगमले दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरका लागि बजार भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने घोषणा गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलबाट प्राप्त विशेष निर्देशनअनुसार अन्तरराष्ट्रिय उडान हुँदै आएका गन्तव्यको भाडा घटाइएको बताए ।
- पेश गरेको भाडाको विश्लेषण गर्न ‘र्यापिड टीम’ गठन गरिने
- नेपाल एयरलाइन्सले गर्यो ५ हजार रुपैयाँसम्म भाडा छूट
उनका अनुसार हवाई भाडा बढाइएको भनिए पनि निगमको भाडादर गतवर्षको सोही अवधिको दायराभित्रै छ । निगमले हवाई भाडादर बजार माग तथा आपूर्तिको सिद्धान्तबमोजिम नै जहाज र सिट संख्याको उपलब्धताको आधारमा तय गरेको दाबी गरेको छ ।
निगमले नियमअनुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा नियमअनुसार कडा कारबाही गर्ने पनि उल्लेख गरेको छ । यसका लागि सप्रमाण जानकारी गराउन सम्बद्ध सबैमा निगमले अनुरोध गरेको छ । हिमालय एयरलाइन्सले पनि भाडादरको विवरण मन्त्रालयमा बुझाएको छ ।
फ्लाई दुबईको जनरल सेल्स एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्सका महाप्रबन्धक नवराज शाही सामान्यतया दशैं, तिहारपछि नेपाली र पर्यटक फर्किने हुँदा उडानमा यात्रु चाप बढेका कारण भाडा पनि बढेको बताउँछन् ।
हवाई भाडादर बढाउने कुरा बजारमा माग र आपूर्तिका आधारमा हुने भएकाले व्यक्ति तथा कम्पनीले घटाउने बढाउने भन्ने कुरा नहुने उनको भनाइ छ । ‘सरकारले हवाई भाडा बढेको विषयमा चासो लिनु सकारात्मक हो,’ उनले भने, ‘अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूले संसारभर नै टिकट बेच्ने भएकाले अहिलेको मूल्य स्वचालित रूपमै तय भएको हो । यद्यपि साविकको भन्दा अवश्य भाडा बढेको छ, तर कालोबजारी गर्ने नियत होइन ।’
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १० घण्टाका लागि बन्द गरिएसँगै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूले हवाई भाडा अत्यधिक वृद्धि गरेपछि सरकारले पटकपटक भाडा घटाउन आग्रह गर्दै आएको छ ।
सोही क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बुधवार मन्त्रालयका सचिव, विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीका पदाधिकारीसहितको बैठकमा हवाई कम्पनीलाई भाडा विवरण बुझाउन निर्देशन दिएका थिए ।
नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिए पनि त्यसको उपहास भएको मन्त्री पाण्डेले बताएका थिए । यसअघि कात्तिक १४ गते हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा हवाई भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरेका थिए । त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले बुधवार बैठक डाकेर विवरण बुझाउन भनेका थिए । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराएका थिए ।