काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लगानी विविधीकरणका लागि पानी उत्पादन र अपार्टमेन्ट निर्माण गर्ने तयारी पनि थालेको बताएको छ ।
अपि पावरले १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ नामको पानी बजारमा ल्याउने तयारी गरेको हो । दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१÷८२ बाट पानी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल मिनरल वाटर र प्रोसेस्ड वाटर गरि दुई प्रकारको पानी उत्पादन गर्ने कम्पनीको तयारी छ ।
यसका अलावा कम्पनीले ललितपुरको झम्सिखेलमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नको लागि ३ रोपनी जग्गा पनि खरीद गरिसकेको छ ।
अपार्टमेन्ट १० तले हुने, त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र २ वर्षमा लगानी सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
अपार्टमेन्ट निर्माण गर्नको लागि कम्पनीको रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाइ छ । निर्माण सम्पन्नपश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको प्रक्षेपण छ ।
यस कम्पनीले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा शुरु गरेको थियो । ८ दशमलव ५ मेगावाटबाट विद्युत् उत्पादन शुरु गरेको अपिले अहिले ६२ दशमलव ५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।
कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ, जुन सुदूरपश्चिमको हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो ।
कम्पनीले तीन वटा सोलार आयोजना पनि निर्माण सम्पन्न गरि विद्युत् उत्पादन गरिरहेको छ ।
कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।
नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणको लागि गरेको टेण्डरमा पनि अपि पावरले सहभागिता जनाएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने तयारी रहेको कम्पनीले जनाएको छ ।
आगामी दिनमा बिजुलीको व्यापार गर्ने योजना पनि रहेको कम्पनीले जनाएको छ ।