मंगलवार अन्तरराष्ट्रिय मुद्राकोषले नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको प्रतिक्रिया दियो भने बुधवार एशियाली विकास बैंकले गत आर्थिक वर्षमा ४ दशमलव ९ प्रतिशतले अर्थतन्त्र विस्तार हुने बतायो । तर, अर्थतन्त्रमा सुधार आएको अनुभूति भने उद्योगीव्यवसायीले गर्न सकेका छैनन् । पर्यटन तथा विद्युत् क्षेत्रमा सुधार आए पनि अधिकांश क्षेत्रमा सुधार नहुँदा अर्थतन्त्रमा अनिश्चय नै रहेको संकेत गरेको छ । अर्थतन्त्रको वास्तविक विस्तार हुन उत्पादन नै बढ्नुपर्छ । तर, औद्योगिक वस्तुको उत्पादन बढेको वा बढ्ने लक्षण देखिएको छैन । यसपालि मौसम राम्रो भएकाले कृषि उत्पादन खासगरी धानको उत्पादन बढ्ने देखिएको छ । बाली भित्र्याउने बेलासम्म कुनै समस्या भएन भने धान उत्पादन बढेर आर्थिक वृद्धिदर बढ्ने सम्भावना छ । सरकारले आर्थिक वृद्धिदर ६ प्रतिशत प्राप्त हुने लक्ष्य लिए पनि त्यो लक्ष्य प्राप्त गर्न सक्ने अवस्था भने देखिँदैन । अर्थतन्त्रमा सुधार आउने हो भने बजारमा माग बढ्नुपर्छ । उपभोग्य वस्तुको माग बढेपछि तिनको आपूर्तिका लागि उत्पादन बढाउनुपर्छ । त्यसले बैंकहरूमा कर्जाको माग बढ्छ । तर, अहिले अधिक तरलताको संकट रहेको छ । त्यस्तै निर्माण क्षेत्रले पनि गति लिन सकेको छैन । निर्माण व्यवसायीहरूले अझै आफूहरूले सम्पन्न ठेक्काको भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । यस्तोमा अर्थतन्त्रमा सुधार आएको अनुभूति नहुनु स्वाभाविक हो ।
बाह्य क्षेत्रमा सुधार आएको धेरै नै भइसक्यो । पछिल्लो तथ्यांकअनुसार आयात १ प्रतिशतले मात्र बढेको छ भने निर्यात घटेको छ । मुद्रास्फीति पनि लक्षित सीमाभित्रै रहेको छ । त्यस्तै शेयरबजार बढेर अहिले केही सुधार आएको अवस्था छ । यद्यपि शेयरबजार समग्र अर्थतन्त्रको सूचक हुन सक्दैन । सरकारले शेयरबजार बढ्नु भनेके अर्थतन्त्रमा सुधार आउनु हो भन्ने भाष्य निर्माण गर्न खोजेको स्पष्ट छ । वित्तीय अवस्था एकदमै कमजोर रहेका कम्पनीको शेयर मूल्य पनि आकाशिएकाले त्यस्ता शेयरमा लगानी गर्नेहरू डुब्ने सम्भावना नै बढी हुन्छ । अर्थतन्त्रको आधारभूत पक्षमा सुधार नआई शेयरबजार उचालिएको हुनाले नै अहिले फेरि शेयरबजार ओरालो यात्रामा देखिएको छ ।सरकारले चालू आर्थिक वर्षको बजेटमा दोस्रो चरणको सुधारको कार्यक्रम राखेको थियो । सरकार परिवर्तन भयो तर नयाँ सरकारले बजेटको जिम्मेवारी लिए पनि सरकार गठन भएको २ महीना नाघ्दासमेत न्यूनतम साझा कार्यक्रम बनाउन सकेको छैन । यस्तोमा बजेटमा उल्लेख गरिएको दोस्रो चरणको सुधारबारे सत्तासाझेदारहरूले आफ्नो धारणा सार्वजनिक गरेको देखिँदैन । अर्थमन्त्री शेयरबजारमा देखिएको सुधार हेरेर दंग छन् । तर, अर्थतन्त्रको सुधारका लागि ठोस कार्यक्रम भने अझै बनाउन सकेका छैनन् ।
नयाँ सत्ता साझेदारी गर्दा सुशासनको विषय राखिए पनि त्यसतर्फ कुनै ठोस काम भएको छैन । मुलुक भ्रष्टाचार हुने मुलुकको सूचीमा यथावत् नै छ र सुधारका लागि पत्यार लाग्दो कामको थालनी भएको छैन । त्यस्तै नीतिगत स्थिरतामा पनि विश्वास गर्नेगरी सरकारले कुनै कार्यक्रम वा नीति ल्याएको छैन । आईएमएफ र एडीबीजस्ता संस्थाले अर्थतन्त्रमा केही सकारात्मक पक्ष देखेकै हुन् । तिनले गर्ने भविष्यवाणी वा प्रतिवेदनका लागि तथ्यांकहरू सरकारी कार्यालयबाट लिनै हुन् । त्यसैले ती तथ्यांकले बिलकुल नै नयाँ कुरा सार्वजनिक गरेका होइनन् । कोरोनाका कारण थलिएको अर्थतन्त्र यू सेपमा सुध्रन्छ भन्ने विश्लेषण भए पनि त्यस्तो भएन । त्यसैले अहिले यी संस्थाले प्रक्षेपण गरेजस्तै अर्थतन्त्रमा सुधार हुने अपेक्षा गर्न सकिए पनि ढुक्क हुने ठाउँ भने छैन । मध्यपूर्वमा देखिएको भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्ने जोखिम नेपालको अर्थतन्त्रलाई रहेको एडीबीको विश्लेषण छ । नेपालको विप्रेषणमा रहेका अत्यधिक निर्भरता अर्थतन्त्रका लागि सधैँ जोखिमयुक्त रहँदै आएको छ । त्यसैले सरकारले जोखिम न्यूनीकरण गर्नु जरुरी छ ।