यो अवार्ड कार्यक्रमले महिला उद्यमीलाई थप प्रेरणा मिलेको छ
भवानी राणा
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
न्यू बिजनेश एज प्रालिले विगत चार वर्षदेखि गर्दै आएको यो कार्यक्रमले महिलाको क्षमता उजागर गरी प्रोत्साहन गर्ने काम गरेको छ । यो कार्यक्रम शुरुआतदेखि हालसम्म आइपुग्दा परिस्कृत बन्दै आएको छ ।
भोलिका दिनमा यसको निरन्तरताका साथै अझ प्रभावकारी रूपमा यो कार्यक्रम अघि बढ्ने विश्वास छ । मलाई लाग्छ, यो अवार्ड कार्यक्रमबाट महिला उद्यमी दिदीबहिनीलाई आगामी दिनमा अझ राम्रो काम गर्न हौसला मिलेको छ । अवार्ड पाउने दिदीबहिनीलाई देखेर भोलिका दिनमा अरू उद्यमी महिला दिदीबहिनीमा पनि राम्रो काम गर्ने प्रेरणा समेत मिलेको छ ।
महिलालाई अघिनबढाई देश विकास सम्भव छैन
रमेशकुमार हमाल
पूर्वअध्यक्ष,नेपाल धितोपत्र बोर्ड
यो कार्यक्रमको म पहिलादेखि नै शुभचिन्तक हुँ । महिला उद्यमीलाई राष्ट्रिय स्तरबाट प्रोत्साहन गर्ने काम न्यू बिजनेश एजले गर्दै आएको छ । यो एकदमै महत्त्वपूर्ण कार्यक्रम हो । हाम्रो देशको विकासको अनुभव हेर्दा महिलालाई अघि नबढाई विकास सम्भव देखिँदैन । देशका कुनाकन्दरामा निकै मेहनतका साथ व्यवसाय गरिरहेका महिलालाई आफू सफल भएको अनुभूति दिलाउन यो कार्यक्रम निकै महत्त्वपूर्ण छ । यसमा कुनै कमजोरी म देख्दिनँ । कुनै कमजोरी नभएकाले पनि होला न्यू बिजनेश एजले चार वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । कार्यक्रमको मर्यादालाई ध्यानमा राखेर विगतदेखि आजसम्म अवार्ड कार्यक्रमको व्यवस्थापन गरेकाले कहीँ कतैबाट यो अवार्ड कार्यक्रमको आलोचना सुनिएको छैन ।
महिला उद्यमशीलताबारे सोचमा परिवर्तन ल्याउन यस्ता कार्यक्रमले सहयोग पुग्छ
सुदर्शन गिरी
कम्पनी सचिव, एलआईसी नेपाल लि.
महिला उद्यमशीलताबारे पहिले सोचाइ कस्तो थियो, अहिले कस्तो छ भन्नेबारे सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पनि कार्यक्रममा बताए ।
सोचाइमा परिवर्तन ल्याउन र महिलालाई उद्यमशील बनाउन यस किसिमको कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यस्तो कार्यक्रमले सबैभन्दा धेरै त सकारात्मक हौसला प्रदान गर्छ । आगामी दिनमा समेत यस्ता सकारात्मक कार्यक्रम हुन जरुरी छ । यसले समाजमा ठूलो प्रभाव पार्नेछ ।
महिला उद्यमीलाई प्रोत्साहन गर्न सकुँ भनेर सहयोग गरेकी हुँ
प्रेमा राज्यलक्ष्मी सिंह
अध्यक्ष, नेशनल लाईफ इन्स्योरेन्स
सात प्रदेशका सात जना सफल महिला उद्यमीलाई पुरस्कारको रूपमा आर्थिक सहयोग गर्न पाउँदा निकै भाग्यमानी ठानेको छु । सर्वप्रथम महिला उद्यमीका लागि निकै महत्त्वपूर्ण यो कार्यक्रम गरेकोमा न्यू बिजनेश एजलाई आभार व्यक्त गर्दछु । यो कार्यक्रमको शुरुआतदेखि नै मेरो संस्था जोडिएको थियो । सातओटै प्रदेशबाट चुनिएर यसरी महिला उद्यमी सम्मानित भएर अवार्ड पाएको देख्दा गौरव महसूस भयो । सात प्रदेशबाट चुनिएर आउने महिला उद्यमीका लागि म व्यक्तिगत रूपमा सहयोग गर्न चाहन्छु । हाम्रो समाजसँगै देशको विकासका लागि महिला नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । सात प्रदेशका विकट ठाउँमा पनि स्थानीय उत्पादन प्रयोग गरेर सफल उद्यमी बनेका महिलालाई सहयोग गर्न पाउँदा म एकदमै खुशी छु । यस्तो अवार्ड कार्यक्रमले महिला उद्यमीलाई अझ सफल बन्न प्रोत्साहन मिल्ने विश्वास गरेकी छु । यो कार्यक्रम हरेक वर्ष सफल हुँदै गइरहेको छ । हरेक वर्ष झन् झन् सफल महिला उद्यमी छनोटमा पर्नुभएको छ । मैले पनि सात प्रदेशका सात जना सफल महिला उद्यमीलाई प्रोत्साहनस्वरूप सहयोग गरेकी छु । यो सहयोगले पुरस्कृत महिला उद्यमीलाई थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरेकी छु ।
महिला उद्यम बैंकका लागि महत्त्वपूर्ण बजार
अनिर्वाण घोष दस्तिदार
प्रमुख कार्यकारी अधिकृत
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
न्यू बिजनेश एजले समिटबाट महिला उद्यमीलाई अझ राम्रो काम गर्न प्रोत्साहन प्रदान गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चार वर्षदेखि यो कार्यक्रममा सहकार्य गरिरहेको छ । यो हाम्रो लागि पनि गौरवको विषय हो । महिलाले नेतृत्व गरेको उद्योग हाम्रा लागि पनि महत्त्वपूर्ण बजार हो । आर्थिक समावेशिता बढाउन समेत महिला उद्यमीलाई लगानी गर्नुपर्ने आवश्यकता छ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को एक प्रतिवेदनले विश्वव्यापी रूपमा वित्तीय स्रोत साधनको उपयोगमा ठूलो लैंगिक असमानता देखिएको छ । यसलाई हटाउन बैंकहरूले काम गर्नुपर्ने आवश्यकता छ । हालै मात्र अन्तरराष्ट्रिय मिडियाहरूमा जापानी बैंकमा नोट उत्पादनका लागि प्रयोग हुने कागज नेपालबाट निर्यात हुने र यसमा धेरै नेपाली महिला सहभागी भएको समाचार सार्वजनिक भएका छन् । उद्यमशील महिलालाई साथ, सहयोग र हौसला तथा सहकार्य गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्राथमिकता पनि रहेको छ ।
रैथाने कच्चापदार्थबाट उत्पादित वस्तुले व्यावसायिक सफलता प्राप्त हुन्छ
दिपा दाहाल
उपकार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्ड
महिला उद्यमीलाई प्रोत्साहन गर्न तथा उनीहरूले दिएको योगदानको कदरस्वरूप न्यू बिजनेश एजले आयोजना गरेको ‘वुमन समिट अवार्डस्’मा विजेता एवं सम्मानित हुनुभएका महिला उद्यमीलाई हार्दिक बधाई व्यक्त गर्दछु । महिलाले घरपरिवारको मात्र हेरविचार गर्नुपर्छ वा गर्छन् भन्ने परम्परागत सोच रहेको हाम्रो समाजमा हाल महिलाहरूले घरपरिवारलाई सँगसँगै उद्यम, व्यवसायका क्षेत्र कुशलतापूर्वक सञ्चालन गरी समाजमा प्रेरणादायी बन्न सक्छन् भन्ने महत्त्वपूर्ण सन्देश यस कार्यक्रमले दिएको छ ।
विभिन्न क्षेत्रमा रही उद्यम व्यवसाय गरिरहनुभएका महिलालाई देशका सातै प्रदेशको कुनाकाप्चाबाट खोजी, यर्थाथपरक एवं पारदर्शी रूपमा मूल्यांकन गरी यस मञ्चबाट सम्मान एवं पुरस्कृत गर्नु साँच्चै प्रशंसनीय कार्य हो । न्यू बिजनेश एजले वार्षिक रूपमा यस प्रकारको कार्यक्रम गर्दै आएकोमा हार्दिक आभार व्यक्त गर्दछु । अवार्ड पाएका उद्यमी एवं उद्योगले विदेश पलायन भइरहेका युवालाई आफ्नै देशका कच्चा पदार्थबाट विभिन्न वस्तुहरूको उत्पादन गरी उद्यमशीलताको शुरुआत गर्न सकिन्छ र यसबाट व्यावसायिक सफलता पाउन सकिन्छ भन्ने महत्त्वपूर्ण सन्देश प्रवाहित भएको छ । भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै हरित उद्यमतर्फका एवं नवप्रवद्र्घक उद्यमतर्फका विधा समेत थप गर्न सुझाव दिन्छु ।
लघुवित्तको क्षेत्रमा पनि यस्तो कार्यक्रम गर्न आवश्यक ठानेको छु
प्रशंसा सिलवाल
जोखिम व्यवस्थापन प्रमुख
लक्ष्मी लघुवित्त वित्तीय संस्था
म यो कार्यक्रममा सहभागी हुन पाउँदा छुट्टै अनुभव भयो । धेरै महिला दिदीबहिनी उद्यम गरेर सफल हुनुभएको कुरा यहाँ आएर पहिलो पटक महसूस भएको छ । अहिलेको प्राविधिक युगसँग महिला दिदीबहिनी पनि सँगसँगै अघि बढेको देख्न पाउँदा निकै हर्ष महसूस भयो । हामी पनि लघुवित्त क्षेत्रमा केही त गरिरहेका छौं । अझै धेरै गर्न सक्छौं भन्ने महसूस भयो । नेपालका धेरै महिला दिदीबहिनीलाई उद्यमी बनाउन लघुवित्त कम्पनीले प्रयास गरिरहेका छौं । न्यू बिजनेश एजले जसरी महिला उद्यमीलाई थप प्रेरणा दिने गरी अवार्ड कार्यक्रमको आयोजना गरेको छ । यो कार्यक्रममा सहभागी भएपछि लघुवित्त क्षेत्रमा सहभागी महिला दिदीबहिनीलाई कसरी उद्यममा सफल बनाउन सकिन्छ भन्ने विषयमा हामीलाई पनि काम गर्न उत्साह मिलेको छ । यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई स्वयम् आफू पनि उत्साहित हुने अवसर प्रदान गरेकोमा न्यू बिजनेश एजलाई धेरै धन्यवाद दिन चाहन्छु ।
महिला उद्यमीलाई पहिचान दिएको छ
पोषकराज पौडेल
अध्यक्ष, जीवन बीमक संघ नेपाल
प्रमुख कार्यकारी अधिकृत, सिटिजन लाइफ इन्स्योरेन्स कं लि.
महिला उद्यमीलाई प्रोत्साहन गर्न अवार्ड महत्त्वपूर्ण छ । अवार्डले देशका विभिन्न भागमा तथा विभिन्न क्षेत्रमा काम गरिरहेका महिला उद्यमीलाई पहिचान दिएको छ । उहाँहरूलाई थप काम गर्न उत्साह दिएको छ । समिट तथा अवार्ड कार्यक्रम भव्य र व्यवस्थित थियो । कार्यक्रमको साझेदारका रूपमा सहभागी हुने पाएकोमा आयोजकलाई धन्यवाद दिन्छौं । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाओस् भन्ने शुभकामना दिन चाहन्छु ।
महिला उद्यमीका समस्याको नीतिगत सम्बोधन गर्ने अवसर
प्रद्युमन पोखरेल
प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेका बेला न्यू बिजनेश एजले महिला उद्यमीहरूको समिट तथा अवार्ड कार्यक्रम गरेको छ । यसैगरी महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तालीम दिनुका साथै अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । महिला उद्यमीहरूको सल्लाह सुझावलाई मौद्रिक नीतिमा समेट्न यो उपयुक्त अवसर पनि हो । यस्तै कार्यक्रममा महिला उद्यमीलाई सम्मान गरिएको छ । यसबाट महिला उद्यमीले पहिचान पाएका छन् । कार्यक्रमले महिला उद्यमीलाई विभिन्न क्षेत्रका व्यक्तिहरूसँग आफ्नो नेटवर्क विस्तार गर्ने अवसर पनि दिएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ । अहिले उद्योगी व्यवसायीले उत्पादनबाहेक त्यसको बजार व्यवस्थापनमा पनि सहयोग हुनेगरी यस्ता कार्यक्रमको डिजाइन गर्ने हो भने उद्यमीका लागि अझ ठूलो अवसर बन्नेछ ।
महिला उद्यमशीलता बढाउन सबैको सहयोग आवश्यक
अम्बिका श्रेष्ठ
सञ्चालक, महालक्ष्मी विकास बैंक लि.
उद्योग, व्यवसायमा महिलाको योगदान उल्लेखनीय भए पनि उनीहरूको कामले पहिचान पाउन सकेको छैन । आफूले गरेका कामको प्रचारप्रसारमा महिला उद्यमीहरू पछि छन् । यस्ता अवार्ड कार्यक्रमले महिला उद्यमीलाई पहिचान दिन्छ । उनीहरूको हौसला बढाउनका लागि समेत अवार्ड महत्त्वपूर्ण हुन्छ । न्यू बिजनेश एजले ४ वर्षदेखि यस्तो अवार्ड कार्यक्रम गर्दै आएको छ । यसले विभिन्न क्षेत्रमा काम गरिरहेका महिला उद्यमीको कामको पहिचान भएको छ । उहाँहरूलाई थप काम गर्न उत्साह बढेको मैले महसूस गरेको छु । महालक्ष्मी विकास बैंकले पनि महिला उद्यमीहरूलाई हौसला प्रदान गर्नुपर्छ भनेर हालै इलेक्ट्रोनिक्स रिक्सा खरीदका लागि कर्जा दिने योजना अघि सारेका छौं । महिला उद्यमशीलता बढाउन सबै क्षेत्रबाट सहयोग आवश्यक छ ।
महिला उद्यमीलाई हौसला
प्रताप सुवेदी
वरिष्ठ उपमहाप्रबन्धक, कृषि विकास बैंक लि.
न्यू बिजनेश एज प्रालिद्वारा आयोजित महिला उद्यमीहरूको सम्मेलन तथा अवार्ड कार्यक्रम गत वर्षभन्दा व्यवस्थित देखियो । समिटअन्तर्गत भएको प्यानल छलफलबाट कार्यक्रममा नयाँ स्वाद दिइएको छ । यस्तै कार्यक्रममा मुख्य अतिथिका रूपमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको उपस्थिति र उनको मन्तव्यले सहभागीहरूलाई उत्प्रेरणा प्रदान गरेको छ । सबै क्षेत्रका व्यक्तिहरूको सहभागिता भएकाले पनि कार्यक्रम भव्य भयो । सातओटै प्रदेशबाट विभिन्न क्षेत्रका महिला उद्यमी पुरस्कृत भएकाले उहाँहरूलाई हौसला मिलेको छ । महिलाहरूलाई उद्यमशील बनाउन अवार्ड कार्यक्रमले उत्प्रेरणा प्रदान गर्छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छुु ।
महिला उद्यमशीलताको सन्दर्भमा ‘प्यानल डिस्कसन’
निकै महत्त्वपूर्ण रह्यो
प्रिजा कोइराला
प्रमुख मार्केटिङ कम्युनिकेशन, ओमोडा
समग्रमा न्यू बिजनेश एजले गरेको बिजनेश वुमन अवार्ड राम्रो थियो । नीतिगत तहमा बसेकादेखि भुइँमान्छेहरू जो उद्यम गरेर सफल भएकाहरू आएका थियो । यसले हामीलाई प्रभावित पार्यो । सरकार, निजीक्षेत्रबाट महिला उद्यमीहरूको सवालमा के भइरहेको छ भन्नेबारे ‘प्यानल डिस्कसन’बाट धेरै कुरा बुझ्न पाएँ । ओमोडाले समेत कार्यक्रममा सहकार्य गरेको थियो । त्यसको कारण एउटै थियो– महिला उद्यमशीलता प्रवर्द्धन गर्ने । यो हाम्रा लागि अवसर पनि हुनेछ । यस्ता कार्यक्रमबाट प्रभावित भएर धेरै उद्यमी अघि बढ्नुहुनेछ भन्नेमा हामी विश्वस्त समेत छौं । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न ओमोडाले सहयोग गर्नेछ ।
सरकारले गर्नुपर्ने यस्तो कार्यक्रम निजीक्षेत्रबाट हुनु सराहनीय छ
उज्जोला दली
ब्राण्ड डिपार्टमेन्ट प्रमुख, हिमालय एयरलाइन्स
मैले न्यू बिजनेश एजले महिला उद्यमी अवार्ड गर्छ भन्ने सुनेकी थिएँ । कार्यक्रममा भाग लिन भने पाएकी थिइनँ । यसपटक सहभागी हुन पाइयो । साथै यो कार्यक्रममा जोडिन पाइएकोमा खुशी लागेको छ । सातै प्रदेशमा पुगेर सफल उद्यमीहरू खोज्ने यो कार्यक्रम निकै प्रभावकारी छ । निर्णायक मण्डलले तयार गरेका मापदण्ड राम्रा रहेछन् । मापदण्डअनुसार योग्य उद्यमीहरूले नै पाएको महसुस भएको छ । सरकारले गर्ने कार्यक्रम निजीक्षेत्रबाट यो स्तरसम्म हुनु सराहनीय छ । आगामी दिनमा समेत यस्ता कार्यक्रम भएर महिला उद्यमीलाई अघि बढाउन सघाउ पुग्नेमा म विश्वस्त छु ।
उद्यमशील महिलाका लागि ऊर्जा
माया गुरुङ
प्रोप्राइटर, चन्दन फाइबर उद्योग
ताप्लेजुङ, कोशी प्रदेश
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’
महिला उद्यमीलाई सम्मान ऊर्जा हो । यसले उद्यमशीलतामा लागेका महिलामा ऊर्जा थपेको छ । २०६८ देखि विभिन्न प्राकृतिक रेसाबाट सामान बनाउने काम गर्दै आएकी छु । अलैंचीका रेसाका विभिन्न सामान उत्पादन गर्दै आएकी छु । उद्योगले महिलालाई रोजगारी दिने काम गर्दै आएको छ भने लगानी पनि बढाउँदै छौं । कर्म गर्नुपर्छ, कामलाई निरन्तरता दिँदै जानुपर्छ । असफल भइयो भन्दैमा हरेस खानु हुँदैन, पक्कै सफल भइन्छ । गाउँघरतिरकै कच्चा पदार्थ उपयोग गरेर उद्यमी बन्न सकिन्छ । खेर गएका कच्चा पदार्थलाई उपयोग गर्ने हो भने पनि व्यवसाय अघि बढाउन सकिने भएकाले र धेरै लगानी नभए पनि थोरै लगानीमा उद्यमी बन्न सकिन्छ ।
अनुभव साटासाट र सिक्ने मौका
सुनैना ठाकुर
प्रोप्राइटर, सुनैना आटर््स, धनुषा, मधेश प्रदेश
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’
उद्यमीका लागि यो समिट र अवार्डस् कार्यक्रम धेरै फाइदाजनक कुरा हो । किनभने एकअर्काे ठाउँ, प्रदेशमा त काम गरिरहेका हुन्छौं नै, तर यसरी ठूलो कार्यक्रम हुँदा विभिन्न प्रदेशका महिला उद्यमीहरू आएका हुन्छन् र एकअर्काको काम देखाइएको हुन्छ । कस्तो काम गर्दा सम्मान तथा अवार्ड प्राप्त हुन्छ भन्ने कुरा देखाइँदा त्यसले हौसला बढ्दो रहेछ । ७ ओटै प्रदेश समेटिएको छ, कार्यक्रम राम्रो छ । यस्ता मञ्च उपलब्ध गराउँदा महिला उद्यमीले थप सिक्ने र अनुभव साटासाट गर्ने मौका पनि मिल्छ । महिलाहरूका लागि शीपमूलक तालीममा ध्यान दिनुपर्छ । म पेशाले मिथिला आर्टिस्ट हुँ । मैले आर्ट ग्यालरी सञ्चालन गरिरहेकी छु । साथसाथै अरू महिलालाई पनि रोजगारी दिइरहेकी छु । २० जना महिलालाई आर्ट सिकाएर रोजगारी दिएकी छु । १५० भन्दा बढी प्रडक्टमा काम गरेर स्वदेश र विदेशमा सामान विक्री गरिरहेका छौं ।
स–साना उद्योगलाई प्रवर्द्धन गर्नु निकै सराहनीय
सपना सापकोटा
निर्देशक, बेलाकासा इन्टरनेसनल
काठमाडौं, बागमती प्रदेश
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’
न्यू बिजनेश एज प्रालिले गरेको महिला उद्यमी कार्यक्रम राम्रो हो । म निकै उत्साहित छु । अर्काे महत्त्वपूर्ण कुरा जुन स–साना उद्योगलाई हाम्रो आँखाले देखेकै थिएन, ती हाम्रो विश्लेषणमै थिएनन्, त्यसलाई कार्यक्रमले प्रवर्द्धन गरिदिएको छ । यो निकै सराहनीय कार्य हो । यो कार्यक्रमले सबैलाई ऊर्जा दिएको छ । कुनै महिला उद्यमीले यो कार्यक्रम हेर्नुभयो भने कुनै व्यवसाय सानो–ठूलो हुँदैन भन्ने महसूस हुन्छ । यस्ता कार्यक्रमले थप निरन्तरता पाउँछ ।
हामी महिलाहरूले काम गरिरहेका छौं । त्यसबाट केही सहयोग गरेर अझ तल्लो तहमा रहेका र भर्खर व्यवसाय गरिरहेका महिला उद्यमीलाई सघाउनुपर्छ । अहिले चौथो संस्करण भएको छ । सम्मेलनमा बैंकका कुरा, कर्जाका कुराहरू पनि सुनियो । महिलाहरूमा ऊर्जा र विश्वास गर्ने क्षमता छ, त्यो कोहीभन्दा कम छैन । गर्ने इच्छाशक्ति भएमा सकिन्छ पनि । सबैको सहयोग र साथ पनि पाइन्छ । महिलाले व्यवसाय र उद्यमशीलतामा लाग्छु भनेर आँट्नुमात्रै पर्छ ।
धेरैभन्दा धेरै महिला उद्यमी अगाडि आउनुपर्छ
श्याम खड्का
मार्केटिङ, कजेरिया रमेश टायल्स लिमिटेड (कजेरिया)
न्यू बिजनेश एज प्रालिको आयोजनामा भएको महिला उद्यमी अवार्डमा कजेरिया रमेश टायल्स लिमिटेड (कजेरिया)ले समेत सहयोग गर्न पायो । यसमा एकदमै खुशी छौं । नेपालको दुर्गम क्षेत्रहरूमा रहेका महिला उद्यमीको समेत प्रतिनिधित्व हुनेगरी जुन प्रकारले सम्मान गरियो, त्यो स्वागतयोग्य छ । आगामी दिनमा पनि यस्ताखाले कार्यक्रम गरेर धेरै उद्यमी बढाउन ध्यान दिनुपर्छ । नेपालमा महिला उद्यमशीलता बढ्न जरुरी छ । मुलुकभित्र उद्यमीहरूको संख्या धेरै बढाउन यस्ता कार्यक्रमले सघाउ पुग्ने नै छ ।
नयाँ उत्साह र जिम्मेवारी थपेको महसूस भएको छ
गीता नाथ
प्रोप्राइटर, कर्णाली गार्मेन्ट उद्योग
कास्की, गण्डकी प्रदेश
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’
यो पुरस्कार कार्यक्रमले मलाई एकदमै खुशी दिएको छ । शुरुआती दिनहरूमा शून्यबाट काम गर्दै जाँदा म के गर्न सक्छु होला र भन्ने कता कता मनमा शंका थियो । तर, अहिले आएर आफू पुरस्कृत हुँदा निकैै खुशी छु । कर्णाली प्रदेशको मान्छे गण्डकी प्रदेशमा आएर काम गरिरहँदा पनि म सफल भएको महसूस भएको छ । हामीलाई देखेर उद्यम क्षेत्रमा लागिरहेका र लाग्ने सोच बनाइरहेका महिलालाई पनि प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु । आगामी दिनमा धेरैभन्दा धेरै उद्यमी महिला दिदीबहिनी आफ्नो कामका कारण सम्मानित र पुरस्कृत होऊन् भन्न चाहन्छु । पछाडि नफर्केर हरेक दु:ख र संघर्षलाई आत्मसात् गर्दै आफ्नो व्यवसायमा लागिरहँदा लक्ष्य प्राप्त गर्न सकिन्छ । यस्ता कार्यक्रमले काम गर्न चाहनेहरूलाई नयाँ जोश र ऊर्जा थप्ने गर्छ । मलाई पनि यो पुरस्कारले नयाँ उत्साह र जिम्मेवारी थपेको महसूस भएको छ ।
सबैले समाजमा ससाना पेशालाई पनि सम्मान गर्नेछन्
गीताकुमारी कोइरी मौर्य
बाँके पोल्ट्री फार्म, बाँके, लुम्बिनी प्रदेश
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’
आफ्नो जीविका धान्न गरेको कामबाट पनि पुरस्कृत भइन्छ भन्ने थाहा नै थिएन । तर, आज आफू पुरस्कृत हुँदा धेरै खुशी लागेको छ । यो पुरस्कारले अझ राम्रो काम गर्ने उत्साह जगाएको छ । साथै जिम्मेवारी पनि थपेकोे छ । पछिल्लो समय संकटमा पर्दै गएको पोल्ट्री क्षेत्रलाई आफ्नो मुख्य पेशा बनाइरहँदा महिलाले पनि यस्तो काम गर्न सक्छन् र ? भन्ने प्रश्न गर्ने मानिस थुप्रै थिए । तर, आज ती सबै प्रश्नको जवाफ यही पुरस्कारले दिएको छ । अब सबैले समाजमा ससाना पेशालाई पनि सम्मान गर्नेछन् भन्ने विश्वास ममा पलाएको छ ।
महिलाले चाहे समाज र राष्ट्रको आर्थिकस्तर माथि उठाउन सक्छन्
भूमिसरा टमटा
श्रमजीवी मसला उद्योग, सुर्खेत, कर्णाली प्रदेश
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’
उद्योग स्थापना गरेपश्चात् धेरै ठूलो आरोह अवरोहका बीच आज पुरस्कृत हुने स्थानसम्म आइपुगेँ । यो पुरस्कारले अब आफ्नो पेशामा झन लगनशील भएर काम गर्नुपर्छ भन्ने उत्साह मिलेको छ । यो पुरस्कारलाई अन्य ठाउँमा खर्च नगरेर नयाँ मेशिन र कच्चा पदार्थ किन्नमा खर्च गर्छुु भन्ने सोचेकी छु ।
घरमा यत्तिकै बस्न हुँदैन, केही न केही आफ्नै उद्यम गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो । शुरूमा मैले पाँच कट्टा जमीनमा बेसारखेती गरेकी थिएँ । त्यसलाई आफैले धूलो बनाएर विक्री गर्दै आएकी थिएँ र पछि त्यसैलाई उद्योगमा दर्ता गरेर काम शुरू गरेकी हुँ । आज म सफल हुनुमा मेरो परिवारको सबैभन्दा ठूलो योगदान छ । महिलाले पनि समाज र राष्ट्रको आर्थिकस्तर माथि उठाउन केही गर्न चाहन्छन्् भने उनीहरूलाई परिवारले साथ दिनुहोला भन्न चाहन्छु ।
परिश्रमीलाई सम्भावनाका अनेक ढोका खुला हुन्छन्
सावित्री ओझा
ग्रीन माउन्टेन कृषि विकास फार्म, डडेलधुरा, सुदूरपश्चिम प्रदेश
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’
मैले यो व्यवसाय परिवारको जीविकोपार्जनका लागि मात्रै शुरू गरेकी थिएँ । तर, त्यही व्यवसायले आज यो ठाउँमा पुर्याउला भन्ने लागेको थिएन । तर, पछि मैले यसै व्यवसायमा अन्य थुप्रै महिला दिदीबहिनीलाई पनि रोजगारी दिन सफल भएँ । यही व्यवसायबाट आज पुरस्कृत हुन पाउँदा आफ्ना कामको पनि ठूलो मूल्यांकन भएको महसूस गरेकी छु । महिलाले पनि कुनै काम गर्दा समाजले त्यसको मूल्यांकन गर्ने रहेछ भन्ने सन्देश यो पुरस्कारले दिएको मलाई अनुभव भएको छ । यसले मलाई अझ राम्रो काम गर्ने हौसला प्रदान गरेको छ । डँडेलधुराबाटै समाजशास्त्र र जनसंख्या विषयमा स्नातकोत्तरसम्म गरेँ । त्यसपछि मैले आलु सुपरजोनसम्बन्धी तालीम लिएँ । त्यसबाटै प्रभावित भएर उद्यमी बन्ने बाटो तय गरेकी थिएँ । अनि मलाई जागीर खानेतर्फभन्दा आफ्नै व्यवसाय शुरू गर्नुपर्छ भन्ने लाग्यो । करीब २०७० सालतिर यो काम शुरू गरेकी थिएँ । उद्यमी बन्न चाहने नयाँ पुस्तालाई विदेशतर्फ जाने मात्र सोच बनाउनुभन्दा पनि देशमै केही गर्न सकिन्छ । यहाँ पनि सम्भावनाका अनेक ढोका खुला छन् । मेहनत गरेर काम गर्नुहोस् भन्न चाहन्छु ।
थप राम्रो काम गर्ने प्रेरणा पाएको छु
मौसुमी श्रेष्ठ
निर्देशक, श्री किसान इन्नोभेशन हब
(द बेस्ट वुमन आन्ट्रप्रेनरअफ द इयर अवार्ड)
पहिलो कुरा त मैले अवार्ड प्राप्त गरेकोमा न्यू बिजनेश एज परिवारलाई धन्यवाद व्यक्त गर्दछु । अवार्ड पाउँछु भन्ने सोचेकी पनि थिइनँ । तर, मैले गरेको कामको उच्च मूल्यांकन गर्दै मलाई अवार्ड प्रदान गर्नुभएकोमा धेरै खुशी लागेको छ । यसले मलाई अझ बढी मेहनत गर्ने हौसला प्रदान गरेको छ । मैले प्राप्त गरेको यो अवार्ड सम्पूर्ण कृषिक्षेत्रका महिला उद्यमी दिदीबहिनीप्रति समर्पित गर्न चाहन्छु । पछिल्लो ३/४ वर्षको अन्तरालमा मैले करीब ७ हजार महिला किसानलाई तालीम प्रदान गरेकी छु । क्षमता विकास तालीम, आधुनिक कृषि अभ्यास सिकाउनेसम्बन्धी विभिन्न तालीम हामीले प्रदान गर्ने गरेका छौं । साथै उद्यमशीलता गर्न उनीहरूलाई वित्तीय स्रोत र बीमाका लागि पनि समन्वय गरिदिने गरेका छौं ।
म जस्तै महिला उद्यमी बन्न चाहने र काम गर्न खोजिरहेका नयाँ पुस्तालाई पनि राम्रो काम र मेहनत गर्दै जानुहोस्, एक दिन तपाईंको कामलाई अवश्य पनि समाजले चिन्नेछ । साथै सही ठाउँमा मूल्यांकन हुनेछ भन्ने सल्लाह दिन चाहन्छु । बिजनेशमा सफल हुन सधैंभरि आफ्नो काममा लागिरहनुुपर्छ । जस्तोसुकै कठिन अवस्था आए पनि नआत्तीकन काम गर्नुपर्छ । नेपाली किसानको अवस्था उकास्न उत्पादनलाई बजारसम्म जोड्ने एउटा पुलको काम गर्न जरुरी छ । कृषि उत्पादनले बजार नपाएसम्म कृषिक्षेत्रमा लागेका उद्यमीहरू सफल हुँदैनन् ।
सम्मानले कामको मूल्यांकन भएको छ वेदिका मुरारका
सहसंस्थापक, इडुकेश
(पायोनीयरिङ सोसल आन्ट्रप्रेनर अवार्ड)
यस्तो खालको अवार्ड कार्यक्रमले मलाई एकदमै ठूलो हौसला प्रदान गरेको छ । काम गर्दै जाँदा जब आफ्नो कामको मूल्यांकन हुन्छ, तब धेरै खुशी मिल्ने रहेछ । आज मेरो कामको ठूलो मूल्यांकन भएको छ । भोलिका दिनमा पनि यस्ता अवार्ड कार्यक्रम भइरहनुपर्छ । महिला दिदीबहिनीलाई पनि व्यापार व्यवसायको क्षेत्रमा सफल हुन, काम गर्ने जोशजाँगर र हौसला प्रदान गर्न यस्ता कार्यक्रमले सहयोग गरेको हुन्छ । हामीले पाएको सम्मान र पुरस्कारले भोलिका दिनमा अरू महिलालाई पनि उद्यम क्षेत्रमा लाग्न हौसला प्रदान गर्छ । हामीले अहिले शिक्षाको क्षेत्रमा काम गर्दै आएका छौं । अनेक किसिमका स्कूल ब्यागहरू बनाउँछौं । यसलाई फोल्ड गर्न पनि मिल्छ । गाउँका बच्चालाई यस्तो ब्यागले धेरै सहयोग गरेको छ । घरमा वा विद्यालयमा पनि यस्तो ब्यागले बच्चाहरूलाई पढ्न सहयोग गरेको छ ।
सातै प्रदेशका महिला उद्यमी समेट्नु खुशीको विषय
सोनिका मानन्धर
सह–संस्थापक, अलोई
(वुमन आन्ट्रप्रेनर इन टेक अवार्ड)
सम्मान पाउँदा निकै खुशी छु । खासगरी सातै प्रदेशका अरू महिला उद्यमीलाई सम्मान गरेको देख्दा मलाई एकदमै खुशी लागेको छ । किनभने यसरी सबै क्षेत्र समेटेर सम्मान गरेको देखिँदैन । धेरैजसो कार्यक्रम काठमाडौं केन्द्रित भएका हुन्छन् । महिला उद्यमीलाई सम्मानित गरेर उनीहरूको अनुहारमा खुशी देख्न पाउँदा मलाई निकै खुशी लागेको छ । यसकारण म यो कार्यक्रमको निकै सराहना गर्छु । मलाई हौसला त मिलेको छ, अरू महिलाले पनि हौसला पाउँदा निकै उत्साहित छु । यस्तो सम्मानबाट अरूलाई पनि प्रेरणा पक्कै मिल्नेछ । केही कुराको थालनी गरेपछि त्यसलाई कसरी अघि बढाउने भन्नेमा लागिरहनु पर्छ नै । केही असफलता पायो भन्दैमा आत्तिनु हुँदैन । अलोइ असंगठित क्षेत्र तथा हरित व्यवसाय गर्ने महिलाहरूलाई वित्तीय स्रोत जुटाउन सहयोग गर्ने फिनटेक कम्पनी हो ।
अवार्डले उद्यमशीलता बढाउन उत्प्रेरित गरेको छ
रीता पोखरेल
निर्देशक, इनड्राइभ नेपाल (प्रोफेशनल वुमन अफ एक्सिलेन्स अवार्ड)
यो सम्मान तथा अवार्डले म जस्तै धेरै महिलाहरूलाई व्यवसाय र उद्यमशीलता अघि बढाउन उत्प्रेरित गर्छ । न्यू बिजनेश एज प्रालिको कार्यक्रममा सहभागी हुने अवसरका लागि पनि हार्दिक आभार व्यक्त गर्दछु । कार्यक्रम साँच्चै नै प्रेरणादायी छ । सम्मेलनमा धारणा राख्ने वक्ताहरूको दक्षता, उपस्थित महिला उद्यमीहरूको विभिन्न दायराबाट म विशेष रूपमा प्रभावित छु । यस्ता प्रेरणादायी, कुशल महिला उद्यमीहरूसँग परिचित हुन र सम्मानित हुन पाउँदा निकै उत्साहित छु । यो सम्मानले काममा उत्कृष्टताका लागि प्रयास जारी राख्न ठूलो हौसला प्रदान गरेको छ । अन्य व्यवसायमा महत्त्वाकांक्षी महिला उद्यमीको लागि मार्ग प्रशस्त गर्न पनि प्रेरणा मिल्नेछ । व्यवसायमा लागेका महिला उद्यमीहरूका लागि यस्तो मञ्च (प्लाटफर्म) सृजना गर्नु निकै सराहनीय काम हो ।
कार्यक्रममा कसलेकुन अवार्ड पाए ?
१. लाइफटाइम अचिभमेन्ट अवार्ड इन वुमन आन्ट्रपे्रनरशिप
श्यामवदन श्रेष्ठ
अध्यक्ष, नेपाल नटक्राफ्ट प्रालि
२. प्रोफेशनल वुमन अफ एक्सिलेन्स
रीता पोखरेल
निर्देशक, इनड्राइभ नेपाल
३. पायोनीयरिङ सोसल आन्ट्रप्रेनर अफ द इयर
वेदिका मुरारका
सहसंस्थापक, इडुकेश
४. वुमन आन्ट्रप्रेनर इन टेक
सोनिका मानन्धर
सहसंस्थापक, अलोई
५. द बेस्ट वुमन आन्ट्रप्रेनर अफ द इयर
मौसुमी श्रेष्ठ
संस्थापक, श्री किसान इन्नोभेशन हब
६. इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर (सात प्रदेश)
कोशी : माया गुरुङ
प्रोप्राइटर, चन्दन फाइबर उद्योग (ताप्लेजुङ)
मधेश : सुनैना ठाकुर
प्रोप्राइटर, सुनैना आर्टस् (धनुषा)
बागमती : सपना सापकोटा
निर्देशक, बेलाकासा इन्टरनेशनल (काठमाडौं)
गण्डकी : गीता नाथ
प्रोप्राइटर, कर्णाली गार्मेन्ट उद्योग (कास्की)
लुम्बिनी : गीताकुमारी कोइरी मौर्य
प्रोप्राइटर, बाँके पोल्ट्री फार्म (बाँके)
कर्णाली : भूमिसरा टमटा
प्रोप्राइटर, श्रमजीवी मसला उद्योग (सुर्खेत)
सुदूरपश्चिम : सावित्री ओझा
प्रोप्राइटर, ग्रीन माउन्टेन कृषि विकास फार्म (डडेलधुरा)