अटोमेटिक ट्रान्समिशन भएको फिएष्टा आउँदै
फागुन २९, काठमाडौं । अटोमेटिक ट्रान्समिशनसहितको ‘अल न्यू फिएष्टा’ नेपाली बजारमा भित्रिने भएको छ । नेपालका लागि फोर्ड कम्पनीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले फोर्ड कम्पनीको उत्पादन फिएष्टा ब्राण्डको उक्त नयाँ गाडी ल्याउने जानकारी दिएको हो । ‘अल न्यू फिएष्टा विशेषगरी विदेशमा बसेर आएका नेपालीका लागि लक्षित गरी ल्याउन लागेका हौं,’ कम्पनीका सेल्स म्यानेजर दिपेश शाक्यले बताए । विदेशमा सवारी चलाउने बानी भएकाहरूलाई गियर परिवर्तन गरिरहने बानी नहुने हुँदा यस्तो गाडी ल्याइएको उनले बताए । मार्चभित्र यो गाडी नेपाल भियभयाइसक्ने उनले जानकारी दिए । ‘उपभोक्ताहरूको मागअनुसार नै हामीले यो नयाँ फिएष्टा ल्याउन खोजेका हौं ,’ शाक्यले भने । यसको मूल्य ४३ लाख रुपैयाँसम्म हुने उनले बताए । हाल बजारमा उपलब्ध अन्य फिएष्टाभन्दा यसको मूल्य झण्डै ४ लाखले बढी भएको उनले जानकारी दिए ।
हाल बजारमा फिएष्टाका टाइटानियम प्लस, टाइटानियम तथा ट्रेण्ड गरी तीन मोडलका गाडी उपलब्ध छन् । फिएष्टाका यी गाडी पेट्रोलबाट चल्ने कम्पनीले जानकारी दिएको छ । ड्युराटेक इञ्जिन भएको ‘अल न्यू फिएष्टा’ रातो, सेतो, खैरोलगायत सात रङमा उपलब्ध छ । ग्राउण्ड क्लियरेन्स १ सय ६८ मिलिमिटर भएको यस कारको पेट्रोल र डिजेल दुवैबाट चल्ने गाडीहरू छन् । यस कारको लम्बाइ ४ हजार २ सय ९१ मिलिमिटर, चौडाइ १ हजार ७ सय २२ र उचाइ १ हजार ४ सय ९६ मिलिमिटर रहेको छ । ४३ लिटरसम्म पेट्रोल अट्ने ट्याङ्की रहेको अल न्यू फिएष्टामा पाँच जना अट्ने सिट क्षमता रहेको छ । ‘यसमा २ वर्षको वा १ लाख किलोमिटरसम्मको वारेण्टी दिइनेछ,’ शाक्यले भने । कम इन्धन खपत गर्ने यो गाडी १० वर्ष वा २ लाख ४० हजार किमीसम्म मर्मत तथा गियर आयल पनि परिवर्तन गर्न नपर्ने कम्पनीको दाबी छ । यसमा भ्वाइस कण्ट्रोल, रेडियो, सीडी, यूएसबीलगायत सुविधा छ ।