काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।
बाढीपहिरोका कारण राजमार्ग अवरूद्ध भएपछि गन्तव्यतर्फ लागेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौंको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताए । उनका अनुसार आज काठमाडौंको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
उनले सरकारले रात्रिकालीन सवारीसाधन नचलाउन आग्रह गरेका कारण कतिपय सवारीसाधन दुर्घटना हुनबाट जोगिएको बताए । साथै उनले देशभरका यातायात व्यवसायी, चालक तथा सहचालकलाई जोखिम मोलेर सार्वजनिक सवारीसाधन नचलाउनसमेत आग्रह गरेका छन् ।
अहिले काठमाडौं उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए ।
कहाँ के भयो ?
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौंडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए ।
त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ ।
पुष्पलाल (मध्यपहाडि राजमार्ग)अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ भने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।
सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ । यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमूना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ ।
मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ । त्यस्तै माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ । मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन् ।
सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ । यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ । अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ ।
त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ ।
तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्णरूपमा अवरुद्ध छ । डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।
कान्ती राजपथअन्तर्गत हेटौंडा–बागमती–टिकाभैरव–भैंसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, किर्तीपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेको छ । गोदावरी नगरपालिका–६ को लेले टीकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।
नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरूमा कम्तीमा दुई घण्टाभित्र अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए । सडक सञ्चालन गर्न शवभिन्न सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेको उनले बताए ।
‘बाटो र पुल बगाएको स्थानमा बाहेक ठूलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी अवस्थामा बसेका छौं । निरन्तर पानी परिरहेको छ । अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको छ,’ अर्यालले भने । रासस
विपद् प्रतिकार्य योजनामा जुट्न आग्रह लुम्बिनीका मुख्यमन्त्रीको आग्रह
लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न आग्रह गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाका कारण सम्भावित विपद्को प्रतिकार्यमा जुट्न अपिल गरेका हुन् । तीनओटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएका छन् ।
‘जो जहाँ छौं, सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौंं । कहीँकतै विपद् आइपरेको खण्डमा आफू सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु,’ मुख्यमन्त्री आचार्यले भने, ‘यो विपद्को बेलामा एकले अर्कालाई सहयोग गर्न जरुरी छ । सहयोग र हातेमालोबाट विपद्बाट हुने क्षतिलाई कम गर्न सकिन्छ ।’
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म बाढीका २८ घटना घटेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार परेर नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते र आठ जना बेपत्ता छन् ।
पहिरोका २१ वटा घटना घटेका छन्, जसमा परेर आठ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । मानव सिर्जित विपद्का घटनाले मानवीय क्षति बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए ।
नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक
स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले आज एक सूचना जारी गर्दै आइतवार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा सो सडकखण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । सूचनामा भनिएको छ, ‘सवारी धनी एवं यात्रु महानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।’
शुक्रवार काठमाडौंतर्फ जान हिँडेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतवारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको भन्दै सिञ्जालीद्वारा जारी सूचनामा यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।
अत्यावश्यक कामबाहेक नदी तटीय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रवार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो । विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ । रासस