काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । संयुक्त अधिराज्य (युके)मा अवस्थित द फाइनान्सियल टाइम्सले ४ डिसेम्बरमा आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई सो अवार्ड प्रदान गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द इयर २०२४ को सम्मान ग्रहण गरेका थिए ।
समारोहमा १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायत करीब ३०० जनाको उपस्थिति थियो ।
सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डले बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्ड प्राप्त गर्न सफल भएकोमा गौरवान्वित महसुस गरेको बताए । यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवा ग्राहकमाझ ल्याउन हौसला मिलेको उनको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको मेहनतबाट सम्भव भएको बताए ।