काठमाडौं । बैंक, वित्तीय संस्थासँग करीब साढे ६ खर्ब लगानीयोग्य पूँजी थुप्रिएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिवारसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब नाघेको छ । यो हालसम्मकै उच्च निक्षेप हो । त्यसमध्ये वाणिज्य बैंकहरूमा ५४ खर्ब ८७ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीमा ७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।
यसैगरी शनिवारसम्म बैंकहरूको कर्जा प्रवाह पनि ५० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूले ४४ खर्ब ९८ अर्ब रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीले ५ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले बताएको छ ।
चालू आर्थिक वर्ष (आव) मा बैंकहरूको निक्षेप ४ खर्ब २० अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने २ खर्ब ४ अर्बले मात्र बढेको छ । बैंकहरूमा तरलता उच्च भएपछि शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ६१ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधानअनुसार उनीहरूसँग अझै ६ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढी कर्जा दिनसक्ने क्षमता रहेको छ ।
चालू आवमा बैंकहरूमा निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह नहुँदा अधिक तरलताको अवस्था रहेको नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले बताए । ‘रेमिट्यान्स आप्रवाह राम्रो रहेकाले बैंकहरूमा निक्षेप वृद्धि भइरहेको छ,’ उनले भने, ‘आर्थिक गतिविधिमा देखिएको शिथिलताका कारण कर्जाको माग नहुँदा अधिक तरलता भएको हो ।’ राष्ट्र बैंकले निक्षेप संकलन उपकरणलगायत सुविधाबाट यसलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेको उनले बताए ।
बैंकहरूमा तरलता वृद्धिसँगै राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो बनाउनुका साथै ब्याजदरसमेत घटाएको छ । सोहीअनुसार बैंकहरूले पनि पुसयता ब्याजदर घटाएका छन् । तर, कर्जा प्रवाह वृद्धि हुन सकेको छैन । एकातर्फ बैंकहरूको पूँजीकोषमा दबाब रहेको र अर्कोतर्फ कर्जाको माग कमजोर रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी बताउँछन् । आर्थिक गतिविधि चलायमान नभएसम्म तत्काल कर्जा प्रवाह हुने अवस्था नरहेको उनले बताए ।
बैंकहरूमा अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर पनि लक्षित सीमाभन्दा तल झरेको छ । शनिवार अन्तरबैंक कारोबारको दैनिक औसत ब्याजदर २ दशमलव ६३ प्रतिशत कायम भएको छ । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि व्यवस्थापनमा राष्ट्र बैंकलाई पनि धौधौ परिरहेको छ । केन्द्रीय बैंकले नियमित रूपमा स्थायी निक्षेप सुविधाका साथै निक्षेप संकलन उपकरणबाट समेत बजारबाट रकम खिच्दै आएको छ ।राष्ट्र बैंकले फागुनयता हरेक आइतवार र बुधवार नियमित रूपमा स्थायी निक्षेप उपकरण जारी गर्दै आएको छ । आइतवारसम्ममा बैंकहरूले ८ खर्ब २५ अर्ब १० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा लिइसकेका छन् । आइतवार मात्रै उनीहरूले ६५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका थिए । स्थायी निक्षेप सुविधाअन्तर्गत बैंकहरूले ३ प्रतिशत ब्याज पाउँछन् ।
यसैगरी चालू आवमा बैंकहरूले निक्षेप संकलन उपकरणमा पनि ६ खर्ब ९३ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन् । यसमध्ये पछिल्लोपटक जारी भएको १४ र २१ दिन अवधिको गरी १ खर्ब रुपैयाँको निक्षेप परिपक्व हुन बाँकी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।