काठमाडौं । भारतमा इथानोल उत्पादनमा मकैको बढ्दो प्रयोगले यसको भाउ बढ्ने र भारतीय मकैमा निर्भर नेपालका पशुदाना उद्योगले दानाको भाउ वृद्धि गर्ने सम्भावना बढेको छ । यसबाट पशुपालन, खासगरी कुखुरापालनको लागत बढ्न गई कुखुरा मासुको मूल्य बढ्न सक्ने देखिएको छ ।
एशियाका ठूला मकै निर्यातकमध्ये एक भारतले मकैमा आधारित इथानोल बनाउन थालेपछि ऊ पहिलोपटक खुद मकै आयातकर्ता मुलुक बनेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले प्रेषित गरेको समाचारमा उल्लेख छ । यसले भारतको कुखुरापालन क्षेत्र र अन्तरराष्ट्रिय आपूर्ति प्रणालीमा असर गरेको पनि समाचारमा उल्लेख छ ।
रोयटर्सका अनुसार लामो समयदेखि मकै निर्यातकर्ताका रूपमा रहिआएको भारत आफैले पछिल्लो समय यसको आयात गर्न थालेपछि भियतनाम, बंगलादेश, नेपाल र मलेशियाजस्ता मुलुकले मकै आयात गर्न दक्षिण अमेरिकी राष्ट्रहरू र संयुक्त राज्य अमेरिकालाई विकल्पका रूपमा लिन थालेको समाचारमा उल्लेख छ ।
भारतले गत जनवरीमा उखुमा आधारित इथानोलको भाउ बढाएको थियो । इथानोलमा मकैको प्रयोगका कारण भारत स्थायी रूपमै मकै आयातकर्ता भई संसारभर यसको भाउ बढ्न सक्ने रोयटर्सले जनाएको छ ।
स्वदेशी दाना उत्पादकहरूका अनुसार भारतमा बढ्ने मकैको भाउले नेपालका दाना उत्पादकको लागतमा प्रत्यक्ष प्रभाव पर्नेछ । त्यसको भार कुखुरापालक किसानले बेहोर्नुपर्ने हुन्छ ।
‘अन्य प्रयोजनका लागि भारतबाहेक तेस्रो मुलुकबाट मकै आयात गर्ने गरे पनि दाना उत्पादनमा प्रयोग हुने करीब ७० प्रतिशत मकै भारतबाटै आयात हुन्छ,’ नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले आर्थिक अभियानसँग भने, ‘यदि भारतले चामल र चिनी जस्तै नेपालमा मकै निर्यात गर्न प्रतिबन्ध लगाइदियो भने भोलिको दिनमा नेपालले विकल्प खोज्नुपर्छ ।’
व्यवसायीका अनुसार पछिल्लो १ वर्षमा मकैको मूल्य ३६ रुपैयाँ प्रतिकिलोबाट बढेर ४३ देखि ४५ रुपैयाँ पुगेको छ ।
भारतले समेत मकैको मूल्य वृद्धि गर्ने भएपछि व्यवसायीले यसको आयात नै कम गर्न सक्ने सम्भावना भएकाले अबको केही महीनामै मकैको मूल्य बढेर ५० देखि ५२ रुपैयाँ किलोसम्म पुग्न सक्ने अध्यक्ष पुरीले बताए ।कुखुराले खाने दाना बनाउन कच्चा पदार्थका रूपमा सबैभन्दा बढी मकै प्रयोग हुने हुँदा समग्र पोल्ट्री क्षेत्रमै प्रभाव पर्न सक्ने दाना उत्पादकहरूको भनाइ छ ।
- नेपालको पोल्ट्री क्षेत्र सबैभन्दा बढी प्रभावित हुने
- दाना बनाउने मकै ल्याउन तेस्रो मुलुक विकल्प
- भारतबाट आयात हुन्छ दाना बनाउने ७० प्रतिशत मकै
भारतमा भने स्थानीय मकैको मूल्य विश्वव्यापी बेन्चमार्कको तुलनामा धेरै माथि पुग्दा दानाको मूल्य बढेकाले भारतका कुखुरा उत्पादक किसानले आयातमा लाग्ने शुल्क हटाउन र आनुवंशिक रूपमा परिमार्जित (जीएम) मकैमा लगाइएको प्रतिबन्ध हटाउन सरकारसँग माग गरिरहेका छन् । उत्पादनको सीमितताले मूल्य वृद्धि हुने भयो भने भारतले निर्यात अवरोध गर्ने नीति लिँदै आएको छ । यसको उदाहरण वासमतीबाहेक अन्य चामल र चिनी निर्यातमा नयाँ दिल्लीले लगाएको प्रतिबन्ध हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तर्कराज भट्टले तत्कालका लागि भारतले नेपालमा मकै निर्यातमा प्रतिबन्ध लगाउने कुनै संकेत नगरेको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वर्षेनि करीब साढे ९ लाख हेक्टर जमीनमा गरिएको खेतीबाट साढे २९ लाख मेट्रिक टन मकै उत्पादन हुन्छ । खाद्यान्न र औद्योगिक प्रयोजनका लागि यो परिमाण निकै कम हुने भएकाले नेपालले भारत, ब्राजिल, अर्जेन्टिना, युक्रेनलगायत देशबाट ठूलो परिमाणमा मकै आयात गरिरहेको छ । कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले भारतमा मकैको भाउ बढ्दा नेपालमा पनि बढ्न सक्ने बताए । ‘आयातमा बढी भर पर्ने प्रवृत्तिले विश्व बजारमा मूल्यमा आउने उतारचढावको असर नेपालमा पनि पर्ने गरेको छ,’ उनले भने, ‘त्यसबाट बच्न नेपाललाई मकैमा आत्मनिर्भर बनाउने प्रयासमा सरकार छ ।’
उनका अनुसार सरकारले वर्णसंकर जातका मकैको बीउ विकासको रणनीति अवलम्बन गरेको छ । उक्त रणनीतिअनुरूप रामपुर–१०, ११, १२ लगायत जातका बीउ उत्पादन गरिएको छ । किसानलाई यी जातका बीउ रोप्न मन्त्रालयले अहिले प्रोत्साहन गरिरहेको उनले बताए । दाना उद्योग संघका अध्यक्ष पुरीका अनुसार नेपालका ११३ ओटा दाना उद्योगले अहिले आफ्नो क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । कोरोना महामारीअघि ती उद्योगले दैनिक ४ हजार ५०० मेट्रिक टन दाना उत्पादन गर्ने गरेकोमा अहिले ३ हजार मेट्रिक टनमा सीमित भएको पुरीले बताए ।
इथानोलको आवश्यकतामा प्रश्न
काठमाडौं। दुई दशकअघि नै पेट्रोलमा अनिवार्य रूपमा १० प्रतिशत इथानोल मिसाएर विक्रीवितरण गर्नुपर्ने निर्णय गरेको सरकारले बल्ल त्यसको कार्यान्वयन गर्ने भएको छ । देशमा जलविद्युत्, हाइड्रोजन र सौर्यऊर्जा पेट्रोलियम पदार्थको बलियो विकल्पको रूपमा उभिएको बेला इथानोल उत्पादन गर्नु उपयुक्त हो कि होइन भन्नेमा सरोकारवाला एक मत छैनन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो ‘सुधार कार्ययोजना’मार्फत पेट्रोलमा इथानोल मिसाउनेसम्बन्धी कार्यविधि आगामी तीन महीनाभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले इथानोल पहिलेदेखि नै सरकारको प्राथमिकतामा रहेको बताए । इथानोलसम्बन्धी कार्यविधि र विनियमावली यसअघि नै बनिसकेको तर सरकारले कार्यान्वयन गर्न नसकेको भन्दै उनले अबको एक महीनाभित्र यसको मूल्य तोकेर कार्यान्वयनतर्फ अघि बढ्ने बताए । ‘छिमेकी मुलुकहरूमा भएको मूल्यलाई आधार बनाई सरकारले यसको मूल्य तोक्ने र त्यसपछि अभ्यासमा जाने तयारी छ ।
इथानोल उत्पादनले दैनिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकामा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको छ,’ उनले भने । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको समस्यालाई सम्बोधन गर्न सरकारले करीब दुई दशकअघि २०६० माघ १ गतेदेखिनै पेट्रोलमा अनिवार्य रूपमा १० प्रतिशत इथानोल मिसाएर विक्रीवितरण गर्ने निर्णय गरेको थियो ।
उक्त घोषणा कार्यान्वयन गर्न २०७१ सालमा नेपाल आयल निगमले अमलेखगञ्ज डिपोमा इथानोल मिसाउने मेशिन जडान गर्दै आवश्यक पूर्वाधार तयार गरेको थियो । तर, इथानोल उत्पादन नहुँदा ती मेशिनमा खिया लागिसकेको निगमले जनाएको छ । अहिले आएर इथानोल फेरि सरकारको प्राथमिकतामा परेपछि कतिपय सरोकारवालाले यसको उपादेयतामाथि प्रश्न उठाएका छन् । खासगरी, इथानोल उत्पादनका लागि चाहिने मकै र उखुको लागि तत्काल विदेशी उखु तथा मकैमा भर पर्नुपर्ने भएकोले उनीहरूले प्रश्न उठाएका हुन् । अर्कोतर्फ अन्य हरितऊर्जाका स्रोत पनि देशभित्र उपलब्ध रहेको सन्दर्भमा मकै र उखु आयात गरेर इथानोल उत्पादन गर्नु कति उपयुक्त हो, भन्ने प्रश्न पनि उनीहरूले गरेका छन् ।
चिनी उद्योगले पेल्ने उखुबाट ४ प्रतिशत खुदो (मोलासेस) निस्कन्छ । त्यही खुदोबाट इथानोल उत्पादन हुन्छ । मकैबाट पनि इथानोल उत्पादन गर्न सकिन्छ । पेट्रोलियम डिलर एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले विद्युतीय गाडीको बढ्दो प्रयोगसँगै दैनिक रूपमा पेट्रोलियम पदार्थको आयात घट्दो क्रममा रहेको बेला इथानोल मिश्रण किन र कति आवश्यक हो भनी प्रश्न गरे । ‘केही वर्ष अघिसम्म नेपालले दैनिक ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गथ्र्यो । उक्त परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा सीमित छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थको आयात आधा घटिसकेको अवस्थामा इथानोल मिसाउनु आवश्यक छैन ।’
नेपालमा अहिले उखु उत्पादन घट्दै गएको छ । मकै समेत वर्षेनि अर्बौं रुपैयाँको आयात भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो ४ आर्थिक वर्षमा नेपालमा उखु उत्पादन २ लाख ७० हजार मेट्रिक टनले घटेको छ ।
‘पेट्रोल महँगो भयो भनेर विकल्पको रूपमा इथानोल मिसाउन त खोजियो तर त्यसको कच्चा पदार्थ हामीकहाँ पर्याप्त छैन । वर्षेनि अर्बौंको खुदो र मकै आयात गरेर इथानोल उत्पादन गर्नुपर्ने हो भने किन चाहियो त्यो ?’ नाडा अटोमोबाइलस एशोसिएशन अफ नेपालका कार्यसमिति सदस्य कपिल शिवाकोटीले प्रश्न गरे ।
उनले नेपालमा विद्युतीय गाडीको माग बढेको र हाइड्रोजन भरेर पनि गाडी चलाउने विकल्प रहेकोले इथानोल प्रयोगको आवश्यकता कम हुने उनले बताए । ‘बरु हाइड्रोजन ऊर्जालाई प्राथमिकता दिनु उपयुक्त हुन्छ,’ उनले भने । सरकारले भने आवश्यक तयारीविनै एक महीनाभित्र इथानोलको मूल्य तोक्ने तयारी गरेको छ । इथानोलको मूल्य निर्धारणदेखि यसको कच्चा पदार्थ उत्पादन र देशमा यो कति मात्रामा आवश्यक पर्छ भन्ने विषयमा पर्याप्त अध्ययन भएको छैन ।