काठमाडौं । भारतले कच्चा र प्रशोधित तेलमा भन्सार शुल्क बढाएको छ । भारतको अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार कच्चा पाम, सोयाबिन र सनफ्लावर तेलमा लाग्दै आएको आधारभूत भन्सार शुल्क शून्यबाट बढाएर २० प्रतिशत पुर्याइएको छ । कच्चा पाम र प्रशोधित सनफ्लावर तेलमा क्रमशः २० प्रतिशत र ३२.५ प्रतिशत भन्सार शुल्क बढाउने सरकारको निर्णयले किसानहरूलाई फाइदा पुग्ने सरकारी दाबी छ ।
प्रशोधित पाम, सोयाबिन र सनफ्लावर तेलमा आधारभूत भन्सार शुल्क १२.५ प्रतिशतबाट बढाएर ३२.५ प्रतिशत पुर्याइएको छ । भने, कच्चा तेलमा लाग्दै आएको शुल्क क्रमशः ५.५% बाट २७.५% र १३.७५% बाट ३५.७५% सम्म बढ्नेछ।
यो सोया र तेलहन किसानहरूको लागि ठूलो राहत हो । यी तेलको कच्चापदार्थहरू उत्पादन गर्दै आएका महाराष्ट्र र मध्य प्रदेशका किसानहरूले ठूलो फाइदा लिनसक्ने छन् । यसबाहेक गुजरात, राजस्थान, कर्नाटक, आन्ध्र प्रदेश, उत्तर प्रदेश, तेलङ्गना र तमिलनाडु तेल उत्पादन गर्ने अन्य प्रमुख राज्यहरू हुन्।
यस्तै भारतले प्याजमा तोकेको न्यूनतम निर्यात मूल्य (एमईपी) हटाउने र निर्यातमा लाग्दै आएको शुल्क पनि घटाउने निर्णय गरेको छ । सरकारले प्याज निर्यातमा लाग्ने भन्सार दर ४० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको छ । 'बैङ्ग्लोर गुलाब प्याजमा भने कुनैपनि निर्यात शुल्क नलाग्ने बताइएको छ ।
सरकारले एमईपी प्रतिटन ५५० अमेरिकी डलर तोकेको थियो । जसको अर्थ किसानले आफ्नो उत्पादन यो दरभन्दा कम मूल्यमा विदेशमा बेच्न सक्दैनन् । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले शुक्रवार जारी गरेको सूचनामा एमईपी पनि तत्कालको लागि हटाइएको जनाएको छ ।
वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले एमईपी हटाएर निर्यात शुल्क ४० प्रतिशतबाट २० प्रतिशतमा झारेपछि प्याज ठूलो परिमाणमा निर्यात गर्न सकिने बताएका छन् । 'यो निर्णयले किसान र निर्यातकर्ताहरूको आय बढाउनेछ, यसले कृषि क्षेत्रमा व्यवसायलाई धेरै प्रोत्साहित गर्नेछ,' उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
गत हप्ता उपभोक्ता मामिला सचिव निधि खरेले आगामी महिनाहरूमा प्याजको उपलब्धता र मूल्यको दृष्टिकोण सकारात्मक रहेको बताएका थिए । भारतमा यसवर्षको अगस्टसम्ममा २.९ लाख हेक्टरमा प्याज खेती विस्तार भएको थियो । जुन अघिल्लो वर्ष १.९४ लाख हेक्टर मात्रै थियो । भने करिब ३८ लाख टन प्याज अझै पनि किसान र व्यापारीसँग भण्डारणमा रहेको त्यहाँका एक अधिकारीले बताएका छन् । एजेन्सीको सहयोगमा