काठमाडौं । भारतको इथानोल (पेट्रोलियम पदार्थको मिसावट) बनाउने योजनाले देश सबैभन्दा ठूलो मकै निर्यातकर्ताबाट शुद्ध आयातकर्ता बनेको छ । यो योजनाले स्थानीय पोल्ट्री व्यवसायसमेत संकटमा पर्ने देखिएको छ भने यसले विश्वव्यापी आपूर्ति शृङ्खलालाई समेत प्रभाव पारेको बताइएको छ ।
कार्बन उत्सर्जनलाई नियन्त्रण गर्न भारतले सन् २०२५–२६ सम्ममा पेट्रोलमा इथानोलको हिस्सा १३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । गत जनवरीमा भारतले मकैमा आधारित इथानोल सट्टा उखुमा आधारित इथानोल प्रयोग गर्ने योजना बनाएको थियो । भारतले विश्वको सबैभन्दा ठूलो बजारमा सस्तो चिनीको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने प्रयाससमेत गरिरहेको छ । जसको लागि उखुको उत्पादन बढाउने भन्दै मकैको इथानोलको मूल्यसमेत बढाएको थियो ।
तर, गत वर्षको खडेरीका कारण उखुबाट बन्ने इथोनलको उत्पादन कम भएपछि इथानोल डिस्टिलरीहरू मकैको इथानोल बनाउन लागेकाले भारतमा मकैको माग र मूल्य बढेको छ । यसरी मकैको माग र मूल्य बढेपछि पोल्ट्री व्यवसाय धरापमा परेको व्यवसायीको भनाइ छ ।
आफ्नो २० प्रतिशत सम्मिश्रण लक्ष्य हासिल गर्न भारतलाई १० अर्ब लिटरभन्दा बढी इथानोलको आवश्यकता पर्ने सरकारी अनुमानले देखाएको छ । यो परिणाम गत वर्ष अक्टोबरमा भएको उत्पादनको दोब्बर हो ।
- इथानोलको मागले भारतीय मकैको मूल्य उच्च
- भारतीय मकैको निर्यात घट्यो, आयात १० लाख टन पुग्यो
- पोल्ट्री उद्योगले माग्यो भन्सार मुक्त आयात
- प्रतिबन्धित जीएम मकै पनि आयात गर्न माग
- म्यान्मार र युक्रेनलाई गैर–जीएम मकैको पूर्तिकर्ता
यस वर्ष करीब ३५ लाख टन मकैबाट १ अर्ब ३५ करोड लिटर इथानोल उत्पादन भएको सरकारी तथ्यांकले देखाएको छ । सोही मात्रामा इथालोन उत्पादन गर्ने हो भने भारत मकैको स्थायी शुद्ध आयातकर्ता बन्ने निश्चित देखिन्छ । ‘अर्को सिजनबाट उखुले बढी योगदान दिन सक्छ । तर, यसले पाँच अर्ब लिटरभन्दा बढी योगदान दिन सक्दैन । यो सरकारको प्राथमिकता आन्तरिक चिनीको खपत पूरा गर्नु हो,’ एक सरकारी अधिकारीले भने, ‘यसको अर्थ मकैमा आधारित इथानोल उत्पादन ३ अर्ब लिटरसम्म बढ्ने छ, जसका लागि करीब ८० लाख टन मकै आवश्यक पर्छ ।’
भारतमा पोल्ट्री र स्टार्च उद्योगहरूले त्यहाँ उत्पादिन मकै (लगभग ३ करोड ६० लाख टन)को अधिकांश मात्रा खपत गर्दै आएका छन् । गत वर्षबाट इथानोल डिस्टिलरीले मकैको प्रयोग गर्न थालेका थिए । खडेरीका कारण सरकारले इन्धनका लागि उखुको प्रयोगमा रोक लगाएपछि यस वर्ष इथानोल उद्योगहरूमा मकैको माग बढेको छ । यसले गर्दा ५० लाख टनको अभाव भएको अल इन्डिया पोल्ट्री ब्रीडर्स एसोसिएसनका एक अधिकारीले बताए ।
मकैको बढ्दो मूल्यका कारण पोल्ट्री फर्म बन्द हुने खतरातर्फ धकेलिरहेको छ । दानाकै कारण उत्पादन लागत तीनचौथाइसम्म बढेको छ । एक पोल्ट्री व्यवसायीका अनुसार ब्रोइलरको फार्म गेटको मूल्य प्रतिकेजी करीब ७५ रुपैयाँ छ, तर उत्पादन लागत बढेर ९० रुपैयाँ पुगेको छ । ‘पोल्ट्री उद्योगले लामो समयसम्म यस्तो घाटा बेहोर्न सक्दैन,’ उनले भने ।
अखिल भारतीय पोल्ट्री ब्रीडर्स एशोसिएशन र कम्पाउण्ड लाइभस्टक फिड म्यानुफ्याक्चरर्स एशोसिएशनले ५० लाख टन मकै भन्सार छूटमा आयातको माग गरेका छन् । सरकारी निकायका अधिकारीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
स्थानीय मकैको मूल्य विश्वव्यापी मूल्य दरभन्दा निकै माथि उक्लँदै गर्दा दानाको मूल्य बढेकाले भारतका पोल्ट्री उत्पादकहरू सरकारले आयातमा लगाइएको कर हटाउनुपर्ने र आनुवंशिक रूपले परिमार्जित जीएम (जीएम मकै भारतमा प्रतिबन्धित छ) मकैमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गरिरहेका छन् ।
मकैको अभाव भएकाले शून्य शुल्कमा बढी मकै आयात गर्न दिनुपर्ने उनीहरूको माग छ । उनीहरूले सरकारले जीएम मकैलाई दाना प्रयोजनका लागि अनुमति दिनुपर्ने माग गरेका छन् । भारतमा मकै आयातमा ५० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । भारतले भने १५ प्रतिशत सहुलियत दरमा करीब ५ लाख टन मकै आयात गर्न अनुमति दिएको जनाइएको छ ।
उच्च मूल्यको लोभमा किसानहरूले गर्मीमा रोपेको मकैको क्षेत्रफल विस्तार गर्न सोयाबिन रोपाइँ घटाएका छन् । जुन एक वर्षअघिको तुलनामा ७ प्रतिशतले बढेर ८७ लाख हेक्टर पुगेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
मकैको मूल्य बढी भएका कारण किसानलाई राम्रो प्रतिफल दिइरहेको छ । तर, नयाँ सिजनको उत्पादनले मूल्यमा गिरावट नआएसम्म साना पोल्ट्री किसानहरूसँग उत्पादन घटाउने र दानामा मकैको अनुपात घटाउने जस्ता विकल्पहरू मात्रै बाँकी छन् ।
भारतले सामान्यतया २० लाखदेखि ४० लाख मेट्रिक टन मकै निर्यात गर्छ । तर, सन् २०२४ मा निर्यात घटेर ४ लाख ५० हजार टनमा झर्ने अनुमान गरिएको छ । भारतले मुख्यतया म्यानमार र युक्रेनबाट १० लाख टन मकै आयात गर्ने अनुमान गरिएको छ । ओलाम एग्री इन्डियाका वरिष्ठ उपाध्यक्ष नितिन गुप्ताले भने, ‘अहिले पोल्ट्री र स्टार्च उद्योगहरू (औषधि, खाना र पेय उद्योगहरू) आफ्नो हिस्साको आपूर्ति प्राप्त गर्न डिस्टिलरीहरूसँग लडिरहेका छन् र यो लडाइँले मूल्यलाई उच्च राखेको छ ।’
ओलामका अनुसार इथानोल डिस्टिलरीलाई वार्षिक ६० देखि ७० लाख टन मकै आवश्यक पर्छ । उक्त माग केवल आयातबाट मात्र पूरा गर्न सकिने गुप्ता बताउँछन् । भियतनाम, बङ्गलादेश, नेपाल र मलेसियाजस्ता परम्परागत निर्यात बजारहरूले भारतबाट मकै किनेर ल्याउँदा अहिले दक्षिण अमेरिका र संयुक्त राज्य अमेरिकाबाट मकै आयात गर्न बाध्य भएको उनको भनाइ छ । भियतनामले हालै भारतबाट मकैको आयातमा कटौती गरेको छ । किनभने अन्य आपूर्तिकर्ता मुलुकको भन्दा भारतमा मकैको मूल्य धेरै छ ।
विश्वव्यापी आपूर्ति शृङ्खलालाई प्रभाव
बढ्दो भारतीय मागका कारण म्यानमारमा मकैको मूल्य प्रतिमेट्रिक टन २२० अमेरिकी डलरबाट बढेर २७० अमेरिकी डलर पुगेको छ । सिंगापुरस्थित ट्रेडिङ कम्पनी एग्रोकर्पका कन्ट्री हेड मुरली चक्रवर्तीले भने, ‘निर्यातकर्ता, किसान र आपूर्तिकर्ताहरूले मूल्यमा भएको वृद्धिबाट फाइदा उठाएका छन् ।’
उनका अनुसार म्यान्मारबाट भारतमा हुने आयातमा कर लाग्दैन । किनभने भारतले यसलाई अति कम विकसित देशको रूपमा वर्गीकृत गरेको छ । यतिमात्रै नभइ उद्योगहरूले भारतको एडभान्स लाइसेन्स स्किममार्फत युक्रेनबाट भन्सार मुक्त मकै ल्याइरहेका छन्, जसअन्तर्गत तयारी वस्तुहरूको बराबर रकम निर्यात गर्नुपर्नेछ ।
एएसएपी कृषि परामर्शदाताको अनुमानअनुसार भारतमा युक्रेनबाट मकै निर्यात जनवरीदेखि बढ्न थालेको हो । अगस्ट अन्त्यसम्ममा करीब चार लाख टन मकै निर्यात भएको छ ।
सन् २०२४ को पहिलो ६ महीनामा भारतको मकै आयात ४ हजार ९८१ टनबाट बढेर ५ लाख ३१ ह्जार ७०३ टन पुगेको छ भने निर्यात १८ लाख टनबाट ८७ प्रतिशतले घटेर २ लाख ४१ हजार ८८९ टनमा झरेको भारतको व्यापार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।