काठमाडौं। भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान पुन: शुरू भएको छ । उद्घाटनपछि केही समय कुवेतको जजिरा एयरलाइन्सले नियमित उडान गरेको उक्त विमानस्थलबाट पछिल्लो समय अन्तरराष्ट्रिय उडान भइरहेको थिएन । जजिराले शनिवारबाट पुन: भैरहवामा उडान शुरू गरेको छ । शनिवार कुवेतबाट १७१ यात्रु बोकेर आएको जजिराको जहाज एक बालकसहित १६८ यात्रु लिएर फर्केको छ । जजिराको जहाजमा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल पनि आएका थिए ।
जजिराले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सातामा ३ दिन उडान भर्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । जजिराको जहाज मंगलवार, बिहीवार र शनिवार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे कुवेत प्रस्थान गर्ने उडान तालिका छ । अर्को अन्तरराष्ट्रिय वायुसेवा फ्लाई दुबईको जहाज शनिवार पौने २ बजे भैरहवा आएर त्यसको १ घण्टापछि दुबई फिर्ता
गएको छ ।
नेपाल एयरलाइन्सले सातामा तीनपटक काठमाडौं–भैरहवा–दुबई उडान गर्ने तालिका छ । तिवारीका अनुसार आइतवार, सोमवार र बुधवार नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट बिहान १० बजे उडेको जहाज भैरहवामा अवतरण गरी त्यहाँबाट दुबई जानेछ ।
तिवारीका अनुसार कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तरराष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ । उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र १ घण्टामा दुई अन्तरराष्ट्रिय उडान अवतरण गर्न सक्ने बताए । ‘हामी दैनिक ३६ ओटासम्म विमान भैरहवाबाट सञ्चालन गर्न सक्ने अवस्थामा छौं,’ तिवारीले भने ।