मौसम विस्तारै तात्दै छ । तर बजारमा भने चिसो कायमै छ । त्यसैले होला अफरहरूको आगो भने बलिरहेको छ । दिनभर फोन आउँछन् । एउटाले भन्छ, लौ हजुर, फ्रिज लिनुहोस् । अर्कोले भन्छ, कार लिनुहोस् । फेरि अर्कोले भन्छ, मूल्यमा भारी छूट दिन्छौं उपहार पनि लिनुहोस् । अझ अर्को फोन आउँछ, शोरुम आउनुस्, सित्तैमा तातो कफी वा चिया फिक्का दिन्छौं, सुनको असली सिक्का पनि दिन्छौं, एसेसरिज नि:शुल्क दिन्छौं, नगद छैन भने उधारो दिन्छौं, छिटोछरितो लोन दिन्छौं, ईएमआई सबैभन्दा कम याने तल्लो तहभन्दा पनि तल राखिदिन्छौं ।
एउटा फोन राख्न भ्याएको छैन, अर्को आउँछ । फोनै उठाउँदिन भन्यो, म्यासेज आउँछ, बैंकको पहिलो किस्तासमेत तपाईंले दिनुपर्दैन, हामी नै दिन्छौं । पाँच वर्षलाई सित्तैमा पेट्रोल भरिदिन्छौं । वर्षदिनसम्म चार्ज गरेको पैसा लाग्दैन । पुरानो गाडी, मोटर साइकल जे चढेर आएपनि हुन्छ, नयाँ हामी दिन्छौं ।
सरकारले करोडौं खर्च गरेर सिमेन्ट प्रयोग गरेर कालोपत्र सडकहरू बनाएको छ, त्यसमाथि ठाँटसँग गुड्नुस् । अनि तपाईंलाई अरू के चाहिन्छ भन्नुस् । अरूकेही नसोच्नुस्, तपाईंका लागि हामीले सोचिसक्यौं । तपाईं नागरिकता वा नेशनल आईडी लिएर आउनुस् र हातहातै ईभी कार लिएर जानुहोस् । चाइनिज लाने कि भारतीय ईभी, त्यो त तपाईंकै मर्जी । यसमा छैन फर्जी ।
आजकल किराना पसलेले समेत कसैलाई उधारो दिँदैनन्, तर तपाईंका लागि हाम्रोतर्फबाट नयाँ कार उधारो छ । बजारमा अरूका लागि मन्दी हुनसक्छ, तर हजुरका लागि छ है उपहार खामबन्दी । आउनुस् छिट्टो गर्नुस्, स्टक सीमित छ ।
मुलुक त रामराज्य नै भएछ कि क्या हो ? जताततै सस्तो र अफरै अफरको बहार चल्याछ । यस्तै भइरहे कुन दिन च्याप्प समातेर यो घरमा बस्नुस्, त्यो गाडी पनि चढ्नुस् भन्लान् भन्ने पो डर हुन थाल्यो ।
चारैतिर चर्चा छ कि मन्डीमा ठन्डी छ अर्थात् बजार ठण्डाराम छ । जब बजार चिसो हुन्छ, व्यापारीहरूभित्र गर्मी बढ्न थाल्छ । उनीहरू असिन–पसिन भइरहेका छन् । सोध्दा उनीहरू निराश भएर भन्छन्,‘दु:खद अवस्था छ । के गर्ने ! पूरै बजार चिसो भइसकेको छ । म भन्छु, बजार चिसो छ भने स्वेटर लगाउनु नि त । तर कसैलाई टोपी चाहिँ नलगाइदिनुस् । अचेल शेयर बजारमा टोपी लगाइदिन्छन् रे नयाँ लगानीकर्तालाई ।
तर व्यवसायीहरू भन्छन्, मन्दीको घाउमा नुनचुक नदल्नुस् न । बजारको चिसो त स्वेटरले हट्दैन नि । न त एसीको चिसोले हामीहरूको पसिना नै सुक्छ । तर जे जस्तोे भएपनि कुनै गुनासो गर्यो भने सरकारले देशद्रोही करार गर्न बेर लाउन्न । भन्छन् कि दूध दिने गाईको लात पनि सहनुपर्छ । तर यहाँ दूधमात्रहोइन, नौनी र घ्यु समेत दिने बजारको कसैले सुन्दै सुन्दैन । सरकारले त केही गुन्दै गुन्दैन । के गर्ने? देशभक्त नेताहरूको बोलवाला चलिरहेका बेला बजार र व्यापारीहरूको के औकात ! उद्योगी व्यापारीका कुरा कसले सुन्ने ? दाइ, भाउजु र बालाई बजारलाई चलायमान बनाइदेऊ भनेर कति भन्ने ? चिच्याउँदा चिच्याउँदा घाँटी जो सुकिसकेको छ ।
बजार त बजार हो ।त्यसमा हजार उपाय हुन्छन् । बजार तातिएपछि सिंगो सिंहदरबार पनि तात्नैपर्छ । तर केवल सिंहदरबारभित्रको गर्मीले बजारको चिसोपन नहट्ने रहेछ । मन्दी होस् या ठण्डी, सिंहदरबारभित्र बस्नेलाई त यी सबै विपक्षको नाटक मात्र लाग्ने रहेछ ।
जहाँसम्म विकास किन भएन भन्ने प्रश्न छ, यो त हेर्ने हो भने मात्रै देखिन्छ । हवाई चप्पल लगाउन नपाउनेहरू अब हवाईजहाजमा यात्रा गर्न थालेका छन्, डेढ केबी डेटा भए पुग्नेहरूलाई अहिले त ५ जीबीले पनि पुग्दैन । विगतमा वर्षभरिमा बल्ल एक दुई चलचित्र मात्र चल्ने चलचित्रघरहरूमा अहिले हरेक हप्ता दुई नयाँ फिल्म लाग्ने गरेका छन् र हाउसफुल पनि हुन्छन् । अनि बजारमा ठण्डी कहाँ छ ? यही बजारमा विनोद दाइ, मीन दाइ र चन्द्र भाइ छैनन् र? उनीहरूको व्यापार त रामै्र चलिरहेको छ त । उनीहरूको चल्ने तिमीहरूको नचल्ने हुन्छ र ?
सुतेको मानिसलाई पो बिउँझाउन सकिन्छ । बिउँझेका बेला पनि सुतेको नाटक गर्नेलाई के गर्न सकिन्छ र ? बजारमा ठण्डी छ अर्थात् बजारमा मन्दी छ भन्दा भन्दै पनि मान्दै नमान्नेलाई के नै गर्न सकिन्छ र ? यो ठन्डीको रोग नेपाललाई मात्रै लागेको हो र ? युरोप जानुस् कि अमेरिका हेर्नुस्, चीनतर्फ फर्किनुस् कि भारततिर भन्किनुस्, सबैतिरको बजारमा ठण्डीकै चिन्ता छ । विश्व तातेको छ भनेर के गर्नु ? व्यापार व्यवसाय सबै सेलाएर छोइनसक्नु हुँदैछ । त्यही भएर होला शायद विश्व तताउन अमेरिका तापमान वृद्धि नियन्त्रणको अभियानबाट पछि हटेको छ ।
त्यसैले अब यो नभन्नुस् कि बजारमा मन्दी छ, जनता समस्यामा छन् र जनताका दु:खका ग्राफ तीव्र गतिमा बढ्दैछन् भनेर । ग्राफ बढिरहेको छ भने बढ्न दिनुस् न त । त्यसमा के नराम्रो भयो र ? बरु हामी दु:खको नाम बदलौं र त्यसलाई सुख राखिदिम न । ... त्यसपछि सुखको ग्राफ बढ्यो भने कसैलाई समस्या हुन्छ र ?