काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्सका निर्देशक उमेश रघुवंशीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुका साथै स्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्य पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
इन्फोडेभलपर्सका निर्देशक रघुवंशीले यस सफ्टवेयरले बैंकको वित्तीय योजनाको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्याउने समेत जानकारी दिए । ‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली रहेको बताइएको छ । यो सफ्टवेयर स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्र्याकिङ लगायतको सुविधा जडित प्रणाली भएको बताइएको छ ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्रराज शर्मा र इन्फोडेभलपर्सका कर्पोरेट म्यानेजर सुवास पौडेलको उपस्थिति थियो ।