काठमाडौं । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रतिनिधिसभामा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए । उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो ।
सभामुख देवराज घिमिरले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिन तोकेका छन् ।
उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बधित संसदीय दलका पदाधिकारीले आ–आफ्ना दलका वक्ता सदस्यको नाम बैठक बस्नु एक घण्टाअघि नै सङ्घीय संसद सचिवालयमा टिपाउन बैठकमा जानकारी गराए ।
बैठकमा सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पति भएको ‘विधायनसमबन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते ११ बजे बस्नेछ । रासस