काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) २०७३ फागुनमा उद्घाटन भएको केही वर्षमै घरेलु चर्चित जुत्ता ब्रान्ड ‘गोल्डस्टार’ उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चर्स प्रालिले आवेदन दियो । भैरहवा सेजमा प्लट बुक गर्यो । तर, पछि उद्योगले पुराना मेशिनसहित फ्याक्ट्री सेजभित्र लैजान नपाउने भएपछि गोल्डस्टार सेजमा जान सकेन ।
छिमेकी देश भारतमा जुत्ता निर्यातको लक्ष्य राखेर भैरहवा सेजमा जान चाहेको किरण सुजले अहिले सेजमा जान फेरि आवेदन दिएको छ । उक्त उद्योग छिट्टै सेजमा उत्पादन थाल्ने गरी काम गर्ने तयारी गरेको कम्पनीका कार्यकारी निर्देशक विदुषी राणा बताउँछिन् । सरकारले विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ७ संशोधन गरेसँगै अहिले गोल्डस्टारजस्तै अन्य निर्यातमूलक उद्योगलाई पुराना मेशिन लगेर सेजमा लगाउन बाटो खुलेको हो । ऐन संशोधनले गर्दा नै चर्चित गोल्डस्टार जुत्ता उत्पादक कम्पनी भैरहवा सेजमा जान पाएको हो ।
उक्त ऐनको दफा ७ संशोधन गरी विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । संशोधित दफामा भनिएको छ, ‘प्रचलित कानूनबमोजिम दर्ता भई वा अनुमतिपत्र लिई विशेष आर्थिक क्षेत्रबाहिर सञ्चालनमा रहेका उद्योगको लगानीकर्ताले प्रयोगमा ल्याइसकेको मेशिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्न सक्नेछन् ।’
- खाली प्लटमा पूर्ण आवेदन पर्दा पहिलोपटक सबै प्लट बुक
- आवेदक सबैले सेज प्राधिकरणसँग सम्झौता गरे दुवै विशेष आर्थिक क्षेत्र उद्योगले भरिने
- गोल्डस्टार जुत्ता उत्पादक किरण सुजबाट ५४ करोड रुपैयाँ लगानी प्रस्ताव
- सिमरा सेजमा चिनियाँ लगानीकर्ताले शुरू गर्न थाले काम
- कानूनी सुधारले गर्दा अन्य क्षेत्रमा स्थापित उद्योग सेजमा जाने बाटो खुल्यो
‘भैरहवा सेज खोलेको केही वर्षमै त्यहाँ जाने तयारी थियो,’ राणाले भनिन्, ‘त्यो बेला हामीले फ्याक्ट्री लैजान पाएनौं किनभने सेजमा पुराना मेशिन लैजान नपाउने नीति थियो । तर, अहिले सरकारले पुराना मेशिन पनि सेजमा लैजान पाउने नीति ल्याएको हुँदा भैरहवा सेजमै जाने गरी आवेदन दिएका छौं ।’
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार किरण सुजले ६ महीनाभित्र जुत्ता उत्पादन थाल्ने भन्दै आवेदन दिएको छ । भैरहवा सेजमा ५४ करोड रुपैयाँ लगानीको गर्ने प्रस्ताव गरेको कम्पनीको वार्षिक ९६ लाख जोडी जुत्ता/चप्पल उत्पादन गर्ने लक्ष्य छ । सरकारले उक्त व्यवस्था संशोधन गरेपछि चौधरी ग्रूपले पनि सिमरामा ६ महीनामा फ्याक्ट्री खोल्ने भन्दै आवेदन दिएको छ ।
प्राधिकरणले २०८१ वैशाख ३० गते भैरहवासहित सिमरा सेजको ब्लक ‘ए’मा खाली रहेका प्लटमा उद्योग सञ्चालन तथा स्थापनाका लागि उद्योगी/व्यवसायीलाई आह्वान गर्दै सूचना जारी गरेको थियो । त्यसपछि अन्य स्थानमा स्थापित यी उद्योगले पनि आवेदन दिएका हुन् । प्राधिकरणले सेजमा पटकपटक खाली प्लटमा उद्योग लगाउन सूचनामार्फत आह्वान गर्ने, उद्योगीले आवेदन दिने तर सम्झौता नहुने परिपाटी चल्दै आएको थियो । प्राधिकरणका अनुसार आवेदकले सम्झौता नगरे आवेदन खारेज हुन्छ । त्यसपछि पुन: खाली रहेका प्लटमा उद्योग लगाउन सूचना जारी हुँदै आएको छ ।
यसपटक भने खाली प्लट सबै बुक हुुने गरी आवेदन परेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुल्सीराम मरासिनीले जानकारी गराए । औद्योगिक पूर्वाधार तयार भइसकेको भैरहवा र सिमरा सेज वर्षाैंसम्म पनि पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा बाँकी खाली प्लटमा पूर्ण आवेदन परेपछि अब भने सेज पूर्ण क्षमतामा चल्ने प्राधिकरणको अपेक्षा छ । नेपालमा सेज अवधारणा नै असफल हुन लागेको चर्चाबीच अहिले भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्रका सबै प्लट बुक भएका हुन् । उद्योग लगाउन आवश्यक सबै पूर्वाधार तयार भइसकेका यी दुई सेजमा उद्योगका लागि १३६ ओटा प्लट छन् । भैरहवा सेजमा ६८ र सिमरामा ६९ ओटा प्लट छन् । सिमराका प्लटमध्ये एउटा प्रशासनिक काममा प्रयोग हुनेछ ।
भैरहवा सेजमा १५ ओटा प्लट खाली थिए । तर, अघिल्लोपटकको सूचनाअनुसार आवेदन परे पनि उद्योग स्थापना तथा सञ्चालनका लागि सम्झौता नभएपछि प्रस्ताव खारेज गरिएको थियो । त्यसरी खारेज हुने प्लट थपेर २३ ओटाका लागि आवेदन माग गरिएको हो । यस्तै सिमरा सेजमा अहिले चारओटा उद्योगले ३४ ओटा प्लट प्रयोग गरेका छन् । कतिपय निर्माणाधीन छन् भने कतिपय सञ्चालनमा छन् ।
वैशाख ३० गते सूचना निकालेर प्राधिकरणले सिमरा सेजमा खाली रहेका ३४ ओटा प्लटमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव माग गरेको हो । सिमरा सेजका लागि १४ ओटा उद्योगले ती प्लट प्रयोग गर्न आवेदन दिएका हुन् । प्राधिकरणका सब–इन्जिनीयर सागर सिलवालका अनुसार सिमरा सेजमा चिनियाँ लगानीकर्ता पनि आइसकेका छन् । चिनियाँले विद्युतीय सवारीको एसेम्बल प्लान्ट बनाउने काम गरिरहेको छन् । सिमरा सेजमा चिनियाँ लगानीकर्ताले मेटल रिसाइकल, टायल, जडीबुटी प्रशोधन, जुत्ता उत्पादनका लागि करीब ६ ओटा उद्योगमा डेढ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको सिलवालको भनाइ छ । त्यसमध्ये चिनियाँ दुईओटा उद्योगले सम्झौता गरेर उत्पादन पनि शुरू गरेका छन् ।
सेजमा पहिलाभन्दा यसपटक उद्योगी व्यवसायीको आवागमन पनि बढेको मरासिनी बताउँछन् । सेजमा प्लट बुक भइसकेपछि पनि जग्गा चाहियो भनेर आवेदन नदिएका उद्योगीले जग्गा पाए आउने प्रस्ताव गरेको उनले सुनाए । पछिल्लो समय सेजमा आकर्षण बढ्दो क्रममा रहेको भन्दै उनले थपे, ‘पहिलो सिमरा सेजको ब्लक ‘ए’मा अहिले सबै पूर्वाधार तयार भए अनि उद्योगी आउन सहज भयो, दोस्रो निर्यात गर्नैपर्ने अंश घट्यो । त्यसपछि पुराना बाहिर रहेका उद्योग पनि सेजभित्र आउने कानून बन्यो ।’
पहिला सेजबाहिर रहेका उद्योगलाई सेजमा लैजान पाइँदैनथ्यो । अहिले बाहिर सञ्चालनमा रहेका उद्योग पनि सेजभित्र लगेर चलाउन पाइन्छ । यसले पनि आकर्षण बढेको र अब सेज पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने उनले अपेक्षा छ । प्राधिकरणका अनुसार भैरहवामा १० ओटा उद्योगले ५ अर्ब रुपैयाँ र सिमरामा १२ ओटा उद्योगले ६ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०८१ वैशाख ३० गते भैरहवा र सिमरा ब्लक ‘ए’ विशेष आर्थिक क्षेत्र (सेज)का खाली रहेका प्लटमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्न उद्योग व्यवसायीलाई आह्वान गरेको थियो ।
ती सेजमा खाली रहेका सबै प्लटमा उद्योग चलाउन आवेदन परेअनुसार सम्झौता भए पहिलोपटक दुवै सेज पूर्ण क्षमतामा चल्ने सम्भावना देखिएको छ । ‘वैशाख ३० गतेको सूचनापछि परेका आवेदन स्वीकृत भएबमोजिम उद्योगीसँग सम्झौता भएमा अब सेजका कुनै पनि प्लट खाली हुने छैनन्,’ मरासिनीले भने, ‘यसका लागि आवेदन दिएको ४ महीना (१२० दिन)भित्र प्रस्तावित उद्योग स्थापना तथा सञ्चालन गर्न प्राधिकरण र उद्योगीबीच सम्झौता हुनुपर्छ । त्यसपछि मात्रै सेज पूर्ण क्षमतामा चल्ने निश्चित हुन्छ ।’
सेजमा उद्योग लगाउन आवेदन दिने तर सम्झौता नगर्ने प्रचलन यसपटक नदोहोरिने मरासिनीको विश्वास छ । ‘अहिले ठूला उद्योग पनि सेजमा आएको हुँदा पहिला जस्तै आवेदन दिने तर सम्झौता नगरी छोड्ने अवस्था हुँदैन होला । यद्यपि एकाध खारेजीमा पनि जान सक्छन्,’ उनले भने, ‘असोजभर हेरौं । चौधरी ग्रूप, गोल्डस्टार जुत्ताहरू आएका छन् । चिनियाँ लगानीका उद्योग पनि आएका छन् ।’
भैरहवा सेजमा उद्योग लगाउन आवेदन दिएका माउन्टेन मोरिङ्गा एन्ड हब्र्स नेपाल प्रालिका कार्यकारी निर्देशक सन्तोष सापकोटाले सेज पायक पर्ने स्थानमा भएको र सरकारले दिने छुटका कारण त्यहाँ जान लागिएको बताए । रूपन्देहीमा सन् २०१५ देखि जडीबुटीजन्य वस्तु उत्पादन गर्दै आएका उनले भने, ‘हाम्रो फोकस निर्यात नै हो । सेजमा आयकर छूट भए पनि भाडा महँगो छ । मेशिन आयातमा छूट, एकद्वार प्रणालीलगायत सुविधाका कारण निर्यातमा सहज हुने आशमा त्यहाँ जान लागेका हौं ।’ करीब २५ करोड रुपैयाँ लगानी गर्ने भन्दै उनले मोरिङ्गा पाउडर, टी ब्याग, अश्वगन्धाजस्ता जडीबुटीजन्य वस्तु उत्पादन गर्ने जानकारी दिए ।