काठमाडौं। परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।
मन्त्रालयले शनिवार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ । समस्यामा परेका विद्यार्थी, अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले तोकेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरिएको छ ।
सहयोगका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न भनिएको छ । त्यसका अतिरिक्त भविष्यमा पुन: सहयोग आवश्यक पर्न सक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराई दिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ । सरकारी जागिरमा कोटा प्रणालीविरुद्ध बंगलादेशी विश्वविद्यालयका हजारौं विद्यार्थीले हप्तौंदेखि आन्दोलन गरिरहेका छन् ।
त्यहाँको सरकारले सरकारी नियुक्तिमा एक तिहाई कोटा सन् १९७१ को स्वतन्त्रता संग्राममा ज्यान गुमाएका भेट्रानका आफन्तलाई छुट्ट्याएपछि विद्यार्थी आन्दोलनमा उत्रेका हुन् । विद्यार्थीले कोटा प्रणालीलाई विभेदकारी भन्दै मेरिटको आधारमा नियुक्ति दिनुपर्ने तर्क गरिरहेका छन् । विद्यार्थी आन्दोलनसँग सम्बन्धित हिंसामा १०० भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ । शुक्रवार मात्रै ५० जनाभन्दा बढी मारिएको बीबीसीलेजनाएको छ ।
आन्दोलन चर्किएपछि सरकारले इन्टरनेट, फोन जस्ता सञ्चार साधनहरू अनिश्चितकालका लागि बन्द गरिदिएको छ । विद्यार्थीले विश्वविद्यालय क्याम्पशहरूमा शुरू गरेको शान्तिपूर्ण विरोध अहिले देशव्यापी द्वन्द्वमा परिणत भएको छ ।
सरकारविरोधी प्रदर्शनकारीको भनाइमा प्रहरी र सत्तारुढ अवामी लिगको विद्यार्थी संगठनले शान्तिपूर्ण प्रदर्शनविरुद्ध क्रुरतापूर्वक बल प्रयोग गर्दा आक्रोश व्यापक बढेको छ । सरकारले भने उक्त आरोप अस्वीकार गरेको छ । पछिल्लो साताको प्रदर्शनलाई बंगलादेशको इतिहासकै सबैभन्दा खराब भनिएको छ ।