काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा द ब्रिटिश कलेज लगायतका शिक्षण संस्थाहरू सञ्चालन गर्ने ब्रिटिश एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्ये म्यारिटाइम बिजनेश कलेज (एमबीसी) अधिग्रहण गरेको हो ।
सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरूमा शिक्षा प्रदान गर्दै आएको छ । शुरूमा स्थानीय व्यवसायीको आवश्यकता पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिस्ट्रेसन, भेटेरिनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टूडी/थ्रीडी एनिमेशन एण्ड डिजिटल आटर््स विषय अध्यापन गराउँदै आएको छ ।
‘स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै एमबीसीले रोजगारीको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ । अब ब्रिटिश एजुकेशन ग्रुपले सो कलेज खरीद गरेसँगै लण्डनस्थित द उलबीच कलेजमा रहेका केही पाठ्यक्रम थप गर्ने योजना बनाएको छ,’ ब्रिटिश एजुकेशन ग्रूपद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शैक्षिक सञ्जाल विस्तार गर्दै लगिएको ब्रिटिश एजुकेशन ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले बताए । उनले भने, ‘हामी आफ्ना विद्यार्थीलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभव प्रदान गर्न प्रतिबद्ध छौं । यस अधिग्रहणपछि नेपाल, दुबई र क्यानडाका हाम्रा क्याम्पशहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गरिनेछ, जसले हाम्रो ग्लोबल सिटिजन निर्माणको दृष्टिकोण थप प्रवर्द्धन गर्नेछ ।’
ब्रिटिश एजुकेशन ग्रुपले नेपाल, दुबई र लण्डनमा शैक्षिक संस्थाहरू सञ्चालन गरी विद्यार्थी तथा कर्मचारीलाई विश्वव्यापी ‘एक्सपोजर’ प्रदान गरिरहेकोे उनले बताए । पछिल्लो समय अधिग्रहण गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताका लागि महत्त्वपूर्ण उपलब्धि भएको संस्थाले बताएको छ ।